काठमाडौं । हमासले इजरायलसँगको गाजा युद्धविराम सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको र सहमति भएको समयसीमाभित्रै बन्धकहरूलाई रिहा गर्ने बताएको छ । इजरायल र हमासबीचको आरोप प्रत्यारोप र चेतावनीका कारण गाजा युद्धविराम भंग हुने खतरा बढेपछि क्षेत्रीय मध्यस्थकर्ता देशहरू इजिप्ट र कतारका वार्ताकारहरू सम्झौता जोगाउने कसरतमा जुटेका थिए ।
इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि प्यालेस्टिनी लडाकु समूह हमासले इजिप्ट र कतारी मध्यस्थकर्ताले सम्झौतामा देखापरेको ‘अवरोध हटाउने’ पुष्टि गरेको बताएको छ । मध्यस्थकर्ताले आश्वासन दिएपछि हमासले युद्धविराम सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको र सहमति भएको समयसीमाभित्र बन्धकहरूलाई रिहा गर्ने बताएको बीबीसीले जनाएको छ ।
उक्त विषयमा भने इजरायलबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । तर, इजिप्ट र कतारी रिपोर्टका अनुसार मध्यस्थकर्ताले दुई पक्षबीचको खाडललाई कम गरेको र दुवै पक्ष युद्धविराम कार्यान्वयन जारी राख्न प्रतिबद्ध रहेको बताएको छ ।
इजरायलले मध्यस्थकर्ता देशहरू मार्फत शनिबार दिउँसो सम्ममा थप तीन जना बन्धक रिहा गरे युद्धविराम सम्झौता कायम रहने सन्देश पठाएको थियो । यसअघि गत मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार दिउँसोसम्ममा बन्धक रिहा नगरे युद्धविराम भंग हुने चेतावनी दिनुभएको थियो ।
जनवरी १९ देखि गाजा युद्धविराम सुरू भएयता हमासले आफ्नो नियन्त्रणमा रहेका १६ इजरायली र ५ थाई गरी २१ जना बन्धकलाई रिहा गरिसकेको छ भने प्रत्युत्तरमा इजरायलले ५६६ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।