समृद्ध नेपाल, सुखी नेपालीको सरकारी नारालाई आडभरोसा दिइरहेको सबैभन्दा ठूलो क्षेत्र हो- वैदेशिक रोजगार । वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या हरेक वर्ष बढिरहँदा तिनै युवाले पठाइरहेको रेमिट्यान्सले नेपालीहरूको घर परिवारको आयस्तर र जीवनस्तरमा मात्रै सहयोग पुगिरहेको छैन, सरकारले समेत अर्थतन्त्र सुधारको सूचकको रूपमा रेमिटेन्स आप्रवाहको बढ्दो आँकडालाई देखाउन पाएको छ ।
तर श्रमका लागि नेपालीहरू जहाँसम्म पुगिरहेका छन्, त्यहाँसम्म सरकारको उपस्थिति छैन । दुईपक्षीय श्रम समझदारी भएकै देशमा समेत सुरक्षित र मर्यादित रोजगारी सुनिश्चित हुन सकेको छैन- जिउज्यान नै जोखिममा राखेर, अवैध बाटोबाट सुखद् भविष्यको सपना बोकेर विश्वका विभिन्न मुलुक पुगिरहेकाहरूको सुरक्षा त निकै परको कुरा छ ।
अर्कोतर्फ मुलुकभित्रै रोजगारी सिर्जना गर्ने लक्ष्यमा हरेक वर्ष सरकार असफल भइरहेको छ । नेपालीका लागि श्रम र रोजगारी सिर्जनामा सरकार किन असफल ? रोजगारी र अवसरका लागि विदेश नै जानुपर्ने बाध्यता कहिले अन्त्य हुन्छ ? देशभित्रै रोजगारी सिर्जनामा सरकारका कार्यक्रमहरू किन सफल छैनन् ? फायरसाइडको आजको अंकमा हामी यिनै प्रश्नको जवाफ खोज्ने छौं ।
आज हामीसँग हुनुहुन्छ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ।