चार देशीय महिला च्याम्पियनसिपको अन्तिम तयारीमा नेपाली टोली

फाल्गुन १, २०८१ |प्रदीप लेखी
चार देशीय महिला च्याम्पियनसिपको अन्तिम तयारीमा नेपाली टोली

काठमाडौं । नेपालले पहिला पटक चार देश सम्मिलित महिलाको अन्तर्राष्ट्रिय फुटबल च्याम्पियन्सिप आयोजना गर्दैछ । पछिल्लो समय वाफ र साफ च्याम्पियनसिपको उपविजेता बनेको महिला फुटबल टिमको प्रतियोगिताको उपाधि जित्ने नेपाली महिला टिमको लक्ष्य छ । प्रतियोगिताको लागि नेपाली टिमले दुई हप्तादेखि अभ्यास गरिरहेको छ ।

नेपाली महिला फुटबल टिम घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय महिला सिरिजको लागि अन्तिम तयारीमा छ । दशरथ रंगशालामा हुने सिरिजको लागि नेपालले दुई हप्ताको तयारी गर्‍यो । एन्फा महिला लिग भर्खरै सकिएको कारण सबै खेलाडी फिट छन् । ९० खेलको लामो लिगबाट नेपाली टिममा उत्कृष्ट खेलाडी छनोट भएका छन् भने लिगमा कमजोरी सुधार गरेर च्याम्पियन्सिपको उपाधि जित्ने लक्ष्य नेपाली टिमको छ ।

सिरिजमा नेपालसँगै म्यानमार, कीर्गिस्तान र लेबनान सहभागी छन । विश्व वरीयतामा नेपाल १०३ स्थानमा छ भने म्यानमार नेपालभन्दा अघि अर्थात् ५५ औं स्थानमा छ । नेपालभन्दा पछि रहेको लेबनान १३४ र कीर्गिस्तान १२८ औं स्थानमा छन् । यी टोली विरुद्धको च्याम्पियनसिप जितेर एसियन कप र विश्वकप छनोटको लागि मनोबल उच्च बनाउने लक्ष्य नेपालको छ ।

फरवार्ड सावित्रा भण्डारी फ्रान्समा, एन्जिला तुम्बापो सुब्बा ग्रीसमा र रेखा पौडेल यूएईमा खेलिरहेका छन् । यी खेलाडीले ठूला लिगमा धेरै अनुभव बटुलेका छन् । युरोपेली लिगमा सिकेको नयाँ कौशल र अनुभव चार देश सम्मिलित च्याम्पियनसिपमा प्रदर्शन गरेर खेल्ने खेलाडीको लक्ष्य छ।

वाफ च्याम्यिनसिप र साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीले अहिलेसम्म ठूलो उपाधि जितेको छैन । साफको उपाधि जित्न नसकेको नेपालाई अहिले उपाधि जितेर त्यो पीडा भुलाउने राम्रो अवसर छ । यता साफ आयोजनाको समयमा गरेका गल्तीलाई सुधार गर्दै फुटबल समर्थकमाझ आफ्नो साख जोगाउने अवसर एन्फालाई समेत रहेको छ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement