तनहुँ । बालबालिकालाई यातना दिनु अपराध हो । अझ स्कुल पढ्ने कलिला नानीहरूलाई सस्नेह सिकाउनु शिक्षकको दायित्व हो । शिक्षाको उज्यालो बाँडने शिक्षकले विवेक गुमाउँदा बेलाबेला बालबालिकामाथि भएका यातनाका घट्नाहरू बाहिरिन्छन् ।
पछिल्लो समय तनहुँको भीमाद नगरपालिकास्थित एक निजी विद्यालयकी शिक्षिकाले हल्ला गरेको भन्दै चार कक्षामा अध्ययनरत चार विद्यार्थीर्को गालामा तातो पन्युले डामिदिएकी छिन् । प्रहरीले शिक्षिकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
विद्यार्थीहरू शिक्षिकासँग मुख मुखै लागेको भन्दै तनहुँ भीमादको प्रभात एकेडेमी बोर्डिङ स्कुलका लेखापाल सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्ययनर चार जना विद्यार्थीलाई तातो डाडुले डामेको घटना बाहिरिएको हो । विद्यार्थीले हल्ला गर्न थालेपछि शिक्षक सुष्मा श्रेष्ठले सुरूमा विधार्थीहरूलाई पिटेकी थिइन् । सोही क्रममा एक विद्यार्थीले आफूलाई जिस्क्याएको भन्दै शिक्षकले चार विद्यार्थीको गालामा तातो पन्युले डामिदिएकी हुन् ।
४ विद्यार्थीमध्ये २ विद्यार्थीको गालामा पन्युले डामेको नीलडाम प्रस्टै देखिन्छ । शिक्षकले पीडित विद्यार्थीसामु माफी माग्नुपर्ने र विद्यालयबाट निकाल्नुपर्ने पीडित विद्यार्थीका अभिभावकहरूको माग छ ।
विद्यार्थी कुटपिट गर्ने ३२ वर्षीया शिक्षक विद्यालयको लेखा शाखामा कार्यरत छिन् । उनी विद्यालयका प्रधानाध्यापक कृष्णदेव श्रेष्ठकी छोरी हुन् । शिक्षकलाई बुधबार बिहानै इलाका प्रहरी कार्यालय भीमादले पक्राउ गरेको छ ।
घटनामा संलग्नको आरोपमा शिक्षिका श्रेष्ठलाई नियन्त्रण लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । विद्यार्थीलाई अनुशासनमा राख्न सम्झाउनु पर्नेमा यस्ता तातो पन्युले डाम्नु जस्ता जघन्य सजाय दिनु जति निन्दा र भर्त्सना गरे पनि कम नै हुन्छ ।