श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले २५ वटा मुलकसँग श्रम समझदारी र सम्झौताको तयारी गरिरहेको बताउनुभएको छ । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा बोल्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा अनधिकृत व्यक्ति तथा संस्थाको संलग्नता रोक्नका लागि नेपाली जाने प्रमुख गन्तव्य मुलुक र केही युरोपेली मुलुकसँग श्रम सम्झौताको तयारी भइरहेको जानकारी दिनुभएको हो ।
मन्त्री भण्डारीले आठ वर्षअघिको फ्री भिसा फ्री टिकटको व्यवस्थामा पुनरावलोकन गर्न आन्तरिक तयारी भएको पनि जानकारी दिनुभयो । म्यानपावर कम्पनीहरूलाई करको दायरमा ल्याउन र वैदेशिक रोजगारीमा जाने युवालाई बिनाधितो ऋण उपलब्ध गराउनका लागि पुनरावलोकनको तयारी गरिएको हो ।
यसअघि श्रममन्त्री रहेका डीपी अर्यालको नेतृत्वमा सातै प्रदेशमा भएको श्रमाधान मेलाले कुनै परिणाम दिएको रेकर्ड मन्त्रालयसँग नभएको पनि मन्त्री भण्डारीले बताउनुभयो । देशमै रोजगारी सिर्जना कसरी गर्ने, रोजगारी खोजिरहेका युवाका लागि सीप विकास तालिम लगायतका सरकारका योजना लगायतका विषयमा पनि कार्यक्रममा मन्त्री भण्डारीलाई सोधिएको छ ।
साथै, २० पटकसम्म मन्त्री भएको विषयमा भण्डारीसँग गरिएको रोचक संवाद सहितको कार्यक्रम फायरसाइड अहिले राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । कार्यक्रम कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ ।