त्रिवि मैदानमा प्यारापिट र फ्लडलाइट बनाउन कम्पनीको नाम सहित सूचना जारी

फाल्गुन १, २०८१ |खेल ब्युरो
त्रिवि मैदानमा प्यारापिट र फ्लडलाइट बनाउन कम्पनीको नाम सहित सूचना जारी

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट बनाउनका लागि सम्झौता गर्न संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले कम्पनीको नाम सहित सूचना जारी गरेको छ । तीन वर्षदेखि बजेटमा समावेश हुँदै आएको भए पनि फ्लडलाइटका लागि सरकारले निर्माण कम्पनी भेट्न सकेको थिएन ।

निर्माण तथा व्यवस्थापन कार्यालयले आज बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गरेर त्रिवि रंगशालामा पूर्वाधार निर्माणका लागि संयुक्त लगानीमा काम गर्न दिने जानकारी दिएको हो । प्यारापिट निर्माणका लागि बीकेओआई बिल्डर्स र बीजी कन्स्ट्रक्सनले केसीडीसी कम्पनीसँग संयुक्त रूपमा पेश गरेको बोलपत्रलाई सरकारले सम्झौताका लागि चयन गर्ने प्रक्रिया सुरू गरेको हो । 

प्यारापिटका लागि पौने ४४ करोड रुपैयाँको बोलपत्र अन्तिम छनोटमा पुगेको हो । त्यसैगरी फ्लडलाइट जडानको जिम्मा विसन र ईश्वरी कन्स्ट्रक्सनले पाउने सूचनामा उल्लेख छ । अब सात दिनभित्र कुनै उजुरी नपरे कार्यालयले सम्झौताका लागि पत्र लेख्ने र सबै कुरा सही भए फागुन २२ गतेभित्र सम्झौता हुने सुपरिटेन्डेन्ट मेम्बर चक्रवर्ती कन्थले बताएका छन् । 

निर्माण तथा व्यवस्थापन कार्यालयले गत पुस ५ गते बोलपत्र आह्वान गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको पहिलो निर्णयमा तीन सय दिनमा क्रिकेट मैदानको निर्माण गर्ने भनिएको थियो । सोअनुसार आगामी वैशाख २० गतेसम्म निर्माण सम्पन्न गर्नु पर्नेछ । प्यारापिटका लागि ७ र फ्लड लाइटका लागि १० कम्पनी टेन्डर प्रक्रियामा सहभागी भएका थिए ।



Enter Kantipur TV HD
Advertisement