काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकाका बासिन्दाले पूर्वाधार निर्माणसँगै शिक्षा र स्वास्थ्यमा स्थानीय सरकारले प्राथमिकता दिएर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
कान्तिपुर टेलिभिजनले सञ्चालन गरेको कार्यक्रम ‘महानगर महाबहस’ मा सहभागी उपमहानगरबासीले निर्वाचनका बेला गरेका प्रतिवद्धता पूरा हुन नसकेको भन्दै कार्यान्वयन गर्न जनप्रतिनिधिलाई आग्रह गरेका हुन् ।
निर्वाचनका बेला घरघरमा पुगेर मुख्य गरी शैक्षिक मुद्दामा गरेका प्रतिवद्धतामा नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि बेखबर भएको आरोप स्थानीयले लगाएका छन् । ‘शिक्षाको कुरा गर्नुपर्दा राज्यले दिएको ठुलो बजेट छ । त्यो बजेट अनुसारको काम भयो वा भनेन भनेर स्थानीय सरकारले निगरानी गर्नु पर्दैन ?’ कार्यक्रममा सहभागी एक स्थानीले प्रश्न गर्नुभयो ।
मधेसी समुदायका महिलालाई शैक्षिकरुपमा अघि बढाउन नेपालगञ्ज उपमहानगरले कस्तो कार्यक्रम ल्याउँदैछ भनेर समेत उनीहरूले चासो राखेका छन् ।
उपमहानगर प्रमुख प्रशान्त बिष्टले भने आफू निर्वाचित भएर आएयता शैक्षिकरुपमा गर्नुपर्ने जति काम नभएको स्वीकार गर्नुभयो । उहाँले यस वर्ष सकेजति र अर्को वर्ष वडा तहबाट नै व्यापकरुपमा घरघरमा भर्ना अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफ्नो पाँच वर्षे कार्यकालभित्र सामाजिक क्षेत्रमा देशले नै प्रशंसा गर्ने कामहरू गरेर देखाउने दाबीसमेत गर्नुभयो । ‘म २०८४ साल भन्दा अगाडि जाँदाजाँदै देखिने गरेर सामाजिक क्षेत्रमा काम राम्रो काम छाप छोडेरै जान्छु,’ नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले भन्नुभयो ।
सीमित स्रोतबाट अपेक्षित काम पूरा गर्न नसकिने भन्दै उपमहानगरपालिकाले क्रमिकरुपमा काम गर्दै जाने बताएको छ । उपमहानगरभित्र समस्याको रुपमा रहेको ईरिक्साको व्यवस्थापनमा नगरबासीले राखेको चाँसोको पनि सम्बोधन गर्ने दिशामा रहेको उपमहानगरपालिकाले जनाएको छ । त्यस्तै स्वास्थ्य, शिक्षा तथा आधारभूत आवश्यकतासँगै विपन्न नागरिकलाई प्राथमिकतामा राखेर योजनाहरू बनाइनेमा उपमहानर प्रमुख बिष्टले प्रतिवद्धता जनाउनुभएको छ ।
कार्यक्रम ‘महानगर महाबहस’ अहिले कान्तिपुर टेलिभिजनमा प्रसारण भइरहेको छ । साथै कार्यक्रम कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र Kantipur TV App मा पनि हेर्न सकिनेछ।