परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता

फाल्गुन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएकी मन्त्री राणाले बुधबार साइडलाइन भेटवार्ता गर्नुभएको हो ।

भेटका अवसरमा परराष्ट्रमन्त्री राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रही आएको बताउनुभयो । 

उहाँले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको जानकारी गराउँदै नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गर्नुभएको थियो ।

मन्त्री राणाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न संक्रमणकालीन न्याय सम्बन्धी कानुनको निर्माण गरेर नेपाल सरकार तदारुकताका साथ अघि बढेको जानकारी दिँदै संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।

उक्त भेटमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखा प्रमुख राजेन्द्र थापा लगायत हुनुहुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement