भावनामा बगेर होइन, यथार्थमा रहेर मूल्यांकन गरौं : मुख्यमन्त्री आचार्य

फाल्गुन ८, २०८१ |अमर क्षितिज भण्डारी
भावनामा बगेर होइन, यथार्थमा रहेर मूल्यांकन गरौं : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थापनाको केही वर्षमै प्रदेशबारे नकारात्मक टिप्पणी गर्ने बेला भइनसकेको बताउनुभएको छ । उहाँले बामे सर्दै गरेको प्रदेश सरकारका बारेमा भावनामा बगेर नभई, यथार्थमा रहेर मूल्यांकन गर्न आग्रह गर्नुभयो । 

कान्तिपुर टेलिभिजनको मुख्यमन्त्रीसँग कान्तिपुर कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकार स्थापना भइसकेपछि भौतिक र मानवीय विकासको कामले गति लिएको, नागरिकले अपनत्व गर्दै गएका कारण प्रदेश सरकार जनताकै पक्षमा रहेको पुष्टि गरेको दाबी गर्नुभयो ।

“प्रदेशबारे नकारात्मक टिप्पणी गर्ने बेला अझै भइसकेको छैन । भावनामा बगेर होइन, यथार्थमा रहेर प्रदेश सरकारको मूल्यांकन गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकार स्थापना हुनुभन्दा अघि र प्रदेश सरकार स्थापनापछिको अवधिमा भएका विकासलाई तुलना गरेर मात्रै मूल्यांकन गर्दा न्याय हुन्छ भन्ने लाग्छ ।” 

प्रदेश स्थापनापछिका ७ वर्षमा गाउँबस्तीको मुहार फेरिएको, बाटोघाटो पक्की भएको, खानेपानीको धारा घरघरमा पुगेको, आधारभूत स्वास्थ्य उपचारमा नागरिकको पहुँच बढेको, गाउँ तहमा शिक्षालयहरू खुलेको, प्राविधिक विषयको अध्ययनको अवसर समुदाय तहमै प्राप्त भएको जस्ता उपलब्धिलाई पनि हेर्न जरुरी रहेको उहाँको भनाइ छ ।

नागरिकको दैलोको सरकार भएकाले गाउँमा विकास पुर्‍याउने काम प्रदेश सरकारले गरिरहेको र जनजीवनमा सकारात्मक परिवर्तन देखापरेको मुख्यमन्त्री आचार्यको दाबी छ । प्रदेश गौरवका आयोजनालाई तीव्रता दिएको र चाँडै सम्पन्न गर्नेगरी रणनीति बनाएको पनि उहाँले बताउनुभयो । पाल्पाको रामपुरदेखि रोल्पाको जिनावाङ सडक, बुटवलमा बन्दै थरेको १२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पताल निर्माण, लुम्बिनी प्रदेश प्रशासनिक केन्द्र भवन निर्माण, लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालगन्जको कामलाई सरकारले गति प्रदान गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा नागरिकले उठाएका सवालको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले नागरिकका समस्या सुन्न, पीरमर्का बुझ्न प्रदेश सरकार जति बेला पनि तयार रहेको बताउनुभयो । “जनताको पीरमर्का बुझ्नकै लागि सरकार बनेको हो । नीति, नियम, कानुन बनाएर समस्यालाई समाधान गर्ने गरी कामहरू भइरहेका छन”, उहाँले भन्नुभयो, “केही कामहरू अझै गर्न बाँकी छन् त्यसमा सरकारले ध्यान दिएको छ ।”

संघीय सरकारले प्रदेशलाई अझ पनि पूर्णरूपमा अधिकार प्रत्यायोजन गर्न नसकेको, संघकै कारण प्रदेश सरकारले केही कानुनहरू निर्माण गर्न नसकेको, प्रदेश सरकारले कर्मचारीको समस्या अहिले पनि झेलिरहेको, समानीकरण अनुदान कटौती गर्ने गरेको, प्रदेश सरकारले चाहे अनुसारको आन्तरिक ऋण उठाउन नसकेको लगायतका समस्या प्रदेश सरकारका मुख्य चुनौतीका रूपमा रहेको भन्दै मुख्यमन्त्री आचार्यले संघ र स्थानीय सरकारलाई साथमा लिएर प्रदेश सरकारसामु देखिएका चुनौतीको सामना गर्दै भौतिक तथा मानवीय विकासको गतिमा अगाडि बढिरहेको पनि बताउनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारको स्रोत साधनले भ्याउने गरी प्रदेशको विकासमा आफूहरू लागि परेको बताउनुभयो । सरकारले विनियोजन गरेको पूँजीगत खर्च हुन नसक्ने विगतको अवस्थामा सुधार ल्याउने गरी आफूहरूले काम गरिरहेको दाबी पनि मन्त्री ढकालको छ । लुम्बिनी प्रदेशमा मातृ स्वास्थ्य तथा बालमृत्यु दरमा सुधार आउन नसकेको भन्दै स्वास्थ्यमन्त्री खेमराज सारुले यसमा आफूहरू गम्भीर ढंगले लागेकाले आगामी दिनमा सुधार आउने बताउनुभयो ।

पुण्यभूमि, देवभूमिका रूपमा स्थापित लुम्बिनी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना बोकेको भन्दै उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले नेपाल आउने भारत र अन्य देशका पर्यटकलाई लुम्बिनी प्रदेशमा भित्र्याउने योजनाका साथ आफूले काम गरिरहेको दाबी गर्नुभयो ।

सडकको दुरावस्था, सवारीसाधनको यान्त्रिक गडबडी र सरकारवाला निकायको फितलो अनुगमनका कारण सवारी दुर्घटनामा लुम्बिनी प्रदेशको डरलाग्दो तथ्याङ्क देखापरेको भन्दै त्यसको सुधारका लागि पनि प्रदेश सरकार लागेको मन्त्री न्यौपानेको भनाइ छ ।

विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई भएको तर स्थानीय तहले शैक्षिक गुणस्तर सुधारमा भन्दा राजनीतिक भागवण्डाका आधारमा विद्यालय चलाउँदा लुम्बिनी प्रदेशका ५ हजारभन्दा बढी सामुदायिक विद्यालयहरूले भौतिक पूर्वाधार तथा दक्ष जनशक्ति अभाव बेहोर्नु परेकाले शैक्षिक गुणस्तर खस्किँदै गएको सहभागीहरूले बताए ।

कार्यक्रममा सहभागीहरूले मुक्तकमैया, कम्लहरीहरू मालिकका घरबाट मुक्त भए पनि उनीहरूको अवस्थामा सुधार आउन नसकेको, कृषिउपजले बजार पाउन नसकेको, प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउन नसकेका कारण व्यवसायीहरू पलायन हुने अवस्था आएको लगायतका गुनासा प्रदेश सरकारसँग गरेका थिए । 


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement