नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ग्लोबल आईएमई ग्रुपका पनि अध्यक्ष हुन् । यो ग्रुप अन्तर्गत बैंक तथा वित्तीय कम्पनी, रेमिट कम्पनी लगायत केबलकार र जलविद्युत आयोजनाहरूसम्म सञ्चालित छन् । करिब २१ महिनाअघि महासंघको अध्यक्षको कार्यभार सम्हालेका ढकाल व्यावसायिक रूपमा सफल छन् । उनको व्यावसायिक समूहले सञ्चालन गरेका बैंक र केबलकार कम्पनीहरू सफल मात्रै छैनन्, कतिपय नयाँ योजनाहरू महत्त्वाकांक्षी पनि छन् । सोमबार राति प्रसारित कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा ढकालसँग महासंघको नेतृत्वमा रहेर निजी क्षेत्रको समस्या समाधानमा उहाँका भूमिकाका बारेमा त कुराकानी गरिएको छ नै, उहाँकै व्यवसायमाथि उठेका प्रश्नमा पनि उहाँले उत्तर दिनुभएको छ । कार्यक्रममा उहाँसँग गरिएका केही सवालजवाफको सम्पादित अंश :
प्रश्न : तपाईं कुनै समय बैंकले १२/१३ लाख ऋण नपत्याएको मान्छे । आफैं कार्यरत बैंकमा ऋण माग्दा कर्मचारीले पाउँदैन भनियो । त्यही झोंकमा राजीनामा दिनुभयो । अनि ‘होलटाइमर’ व्यवसायी हुनुभयो । परिणामतः यत्रो व्यवसायिक साम्राज्य स्थापना गर्नुभएको छ । अब तपाईंकै बैंकका कर्मचारीले तपाईंले जस्तै ऋण खोज्दै आए भने पत्याउनुहुन्छ ?
उत्तर : त्यस्तो इनोभेशन, व्यावसायिक गतिविधि बढाउने हिसाबले बैंककै कर्मचारी आए भने अवश्य पनि । शायद बैंकमै बसेर उसले व्यवसाय गर्न मिल्दैन होला, तर त्यस्तो इनोभेटर, त्यसो इनिशिएशन लिने उद्यमी कोही छ भने शतप्रतिशत सहयोग गर्छु ।
प्रश्न : नेप्से हुँदाहुँदै नयाँ स्टक एक्सचेन्ज चाहियो भन्दै लबिइङ गर्दै हुनुहुन्थ्यो । सही हो ?
उत्तर : एक जना साथी दुर्घटनामा बित्नुभयो । धेरै वर्ष पहिला उहाँले चाहिँ पहल गर्नुभएको थियो । हामी चाहिँ लागेको छैन ।
प्रश्न : न्याशनल स्टक एक्सचेन्जमा तपाईं लगानीकर्ताको रूपमा जोडिनुभएको होइन ?
उत्तर : यही कार्यक्रम मार्फत यहाँलाई के जानकारी गराउँछु भने हामी नयाँ स्टक एक्सचेन्जको रेसमा थिएनौं, छैनौं र त्यो हाम्रो इन्ट्रेस्टको कुरा पनि होइन ।
प्रश्न : अहिले कुनै पनि प्रस्तावित स्टक एक्सचेन्जमा लगानीकर्ताको रूपमा हुनुहुन्न ?
उत्तर : छैनौं । यदि साँच्चै हामी त्यो व्यवसाय गर्न खोज्ने हो भने आवेदन त हाल्थ्यौं होला नि त । त्यसैले स्टक एक्सचेन्जको पूर्णतः नकार्छौं ।
प्रश्न : चन्द्र ढकाल र केवलकार पर्यायवाची जस्तै हुन थाल्यो । जहाँ जहाँ केवलकार छ, चन्द्र ढकालकै हुनुपर्छ भनेर मान्छेहरूले अनुमान गर्छन् । चन्द्रागिरि, मौलाकालिका, लुम्बिनी लगायत अरू पनि होलान् योजनामा ? कति वटा छन् ?
उत्तर : यो चन्द्रागिरि हजारौं वर्षदेखिको डाँडो हो । पहिले चन्द्रागिरिमा मुस्किलले वैशाख पूर्णिमा र अरू केही विशेष दिनमा वर्षको चार पाँच सय मान्छे जान्थे । अहिले दिनमा हजारौं मान्छे त्यहाँ जान्छन् । विदेशबाट आउने भीभीआईपी पाहुनालाई देखाउने पूर्वाधार भएको छ ।
त्यो बनिसकेपछि मलाई के लाग्यो भने नेपाल प्राकृतिक हिसाबले सौन्दर्यले भरिएको देश छ । अहिले औसतमा पर्यटकहरू १२-१३ दिन जति नेपाल बस्छन् । मेरो भिजन चाहिँ के भने चन्द्रागिरि जस्ता पूर्वाधारहरू कम्तीमा सात वटा प्रदेशमा बनाउन सकियो भने र नेपाल आउने पर्यटकले कमसेकम एउटा पूर्वाधारमा एक दिन बितायो भने उसको बसाइ १३ दिनबाट २० दिन पुग्छ । अब पर्यटकको १३ दिनको बसाइलाई २० दिनको औसत बनाउन सकियो भने त्यसको प्रभाव कति होला ?
दोस्रो कुरा, चन्द्रागिरिमा प्रत्यक्ष ५०० जनाले रोजगारी पाएका छन् । सरकारले राजस्व पाएको छ । स्थानीय उत्पादनले बजार पाएको छ ।
प्रश्न : तपाईंले स्थापना गरेका केवलकार व्यावसायिक रूपमा सफल छन् । नयाँ पनि खोल्दै हुनुहुन्छ । तर यो केवलकारले कुनै दुई वटा दुर्गम गाउँलाई जोड्दैन । शहरलाई गाउँसँग, गाउँलाई शहरसँग जोड्दैन । सधैं धार्मिक थलोमा ढोक्सो थापेर मात्र हुन्छ ?
उत्तर : चन्द्रागिरिकै कुरा गरें मैले त्यो के चन्द्र ढकालको मात्र रह्यो त ? अब चन्द्र ढकालको त बैंकको ऋण बाहेक अरू सबै सम्पत्ति त राष्ट्रको सम्पत्ति भएन र ?
प्रश्न : अब तपाईंले ताप्लेजुङमा खोल्दै हुनुहुन्छ । त्यहाँ पनि मन्दिरलाई नै टार्गेट गर्दै हुनुहुन्छ ।
उत्तर : जहाँ पर्यटनको सम्भावना छ तर पर्यटकहरू जान गाह्रो छ त्यहाँ पर्यटकलाई सुविधा दिएर त्यो क्षेत्रका मानिसहरूलाई रोजगारी सिर्जना गर्ने, त्यहाँको उत्पादनहरूलाई बजारीकरण गर्ने, सानो रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता रोक्ने, स्थानीय तहलाई आउने राजस्वबाट विकास निर्माण, स्वास्थ्य, शिक्षामा लगानी गर्ने हिसाबले केवलकार स्थापना गर्नु राम्रो होइन र ?
प्रश्न : एउटा व्यवसायीले धार्मिक आस्था होस्, सामाजिक आस्था होस् वा व्यक्तिगत आस्थाहरूलाई पनि व्यवसाय र व्यापारको राम्रो तरिका बनाउन सक्ने रहेछ ?
उत्तर : अवश्य पनि हो । अहिले हामीले कर्णाली चिसापानीमा केवलकार सहितको ठूलो पर्यटन पूर्वाधार बनाउँदै छौं । त्यहाँ ‘म्यारिज डेस्टिनेशन’का रूपमा विकास गर्न गइरहेका छौं । भारतीय पर्यटकहरू आफ्ना इभेन्टहरू गर्न बैंकक, इन्डोनेसिया, दुबई जानुहुन्छ । त्यो सबै ठाउँमा हाम्रो लोकल प्रोडक्ट विकास गरेर अगाडि बढ्न लागेका छौं । यो राम्रो होइन ?
हजारौं वर्षदेखि छरिएर रहेका यत्तिकै रहेका ठाउँलाई पूर्वाधारहरू बनाएर स्थानीयलाई रोजगारी दिने, उत्पादनलाई प्राथमिकता दिने, वैदेशिक रोजगारमा जानेलाई रोक्ने र त्यहाँबाट आउने राजस्वबाट त्यहाँका पूर्वाधारहरू बनाउने राम्रो काम होइन र ?
चन्द्रप्रसाद ढकालसँगको फायरसाइडको पूरा भिडिओ हेर्नुहोस् :