सरकार अर्थतन्त्रमा सुधार देखिन थालेको दाबी गर्छ । तर अर्थतन्त्रका तीन खम्बामध्ये सरकारी क्षेत्रको न आम्दानी बलियो देखिन्छ, न त खर्च नै ।
सहकारी क्षेत्र संकटमा परेका बेला अर्को महत्वपूर्ण खम्बा निजी क्षेत्रको लगानी विस्तार हुन सकेको छैन । भएका उद्योगहरू पूर्ण क्षमतामा संचालन हुन सकेका छैनन् भने सेवा र वस्तुको व्यापार घट्दो छ ।
निजी क्षेत्रका लागि सहयोगी हुने गरि सरकारले अध्यादेशमार्फत् गरेको केही कानुनी सुधारका प्रयासले निजी क्षेत्र उत्साहित त देखिएको छ, तर समग्र अर्थतन्त्रमा सुधार कसरी आउँछ ? स्पष्ट छैन ।
राजनीतिक र नीतिगत स्थिरता हुन नसक्दा बाह्य लगानी बढ्न सकेको छैन । सरकारले नै अघि बढाएका ठूला आयोजनाहरूको प्रगती सन्तोषजनक छैन । निर्माण क्षेत्रका व्यवसायी त सरकारको असहयोग भएको भन्दै आन्दोलनकै तयारी छन् ।
साना तथा मझौला व्यवसायीमात्रै होइन, ठूला उद्योगी-व्यवसायीसमेत पलायन हुने स्थितिमा कसरी हुन्छ अर्थतन्त्रमा सुधार ? सरकारले लिएको समृद्धिको लक्ष्य कसरी पूरा हुन्छ ? फायरसाइडको आजको अंकमा हामी यीनै प्रश्नको जवाफ खोज्नेछौं र आज हामीसँग हुनुहुन्छ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल ।