फायरसाइडमा चन्द्र ढकाल : महासंघदेखि अर्थतन्त्रसम्म, बैंकदेखि केबुलकारसम्म

माघ ७, २०८१ |रुपेश श्रेष्ठ
फायरसाइडमा चन्द्र ढकाल : महासंघदेखि अर्थतन्त्रसम्म, बैंकदेखि केबुलकारसम्म

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निर्माण व्यवसायीहरूको भुक्तानी विवादमा सरकार र व्यवसायी दुवै गलत रहेको बताउनुभएको छ ।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘फायरसाइड’मा कुरा गर्दै ढकालले निर्माण व्यवसायीहरूको वक्यौता भुक्तानी गर्न बाँकी नरहेको भन्ने अर्थमन्त्री विष्णु पौडेलको भनाइ पूर्ण रुपमा सहि नभएको बताउनुभयो । तर सरकारबाट ५०औं अर्ब भुक्तानी लिन बाँकी रहेको भन्ने व्यवसायीको दाबी पनि सत्य नभएको उहाँको भनाइ छ ।

'मन्त्रीज्यूले भुक्तानी दिन बाँकी छैन भन्नु पनि पूर्णतया सत्य होइन भन्ने मलाई लाग्छ । व्यवसायी साथीहरूले जे जति भुक्तानी सरकारबाट लिन बाँकी छ भन्दै हुनुहुन्छ, त्यो पनि पूर्ण रुपमा सहि होइन ।' भुक्तानी वक्यौताबारे दुवै पक्षको व्याख्यामा त्रुटी रहेको ढकालको भनाइ छ ।

ढकालले महासंघले दिएका सुझावकै आधारमा सरकारले कालाबजारी ऐन संशोधन गरेको भन्दै यसले बजारको प्रतिस्पर्धी क्षमता बढाउने दाबी गर्नुभयो । २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने व्यवस्था नै खारेज हुँदा कालाबजारी र व्यसायीको मनोमानी बढ्ने र उपभोक्तामाथि मार पर्ने आवाज उठिरहेका बेला ढकालले त्यसलाई अस्वीकार गर्नुभयो । 'खुला बजारमा मूल्यको निर्धारण बजारले गर्नुपर्छ', आफूहरूले यसबारे लामो समयदेखि आवाज उठाइरहेको भन्दै ढकालले भन्नुभयो, 'विदेशमा पनि यस्तो अभ्यास छ । व्यवसायीले प्राप्त गर्ने नाफाबाट सरकारले २५ प्रतिशत कर लिन्छ । यो कर लिने प्रणाली प्रभावकारी बनाउनुपर्छ ।' 

सरकारले अध्यादेशमार्फत संशोधन गरेका कानुनहरू कार्यान्वयनमा आउने हो भने अर्थतन्त्र सुधारमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । संशोधन भएका कानुनहरूको कार्यान्वयनका लागि द्रूत रुपमा नियमावली र कार्यविधिहरू बन्नुपर्ने बताउँदै ढकालले अझै पनि धेरै नीतिगत र प्रशासनिक सुधारहरू हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

ढकालले आफ्नै व्यवसाय अन्तर्गत देशका विभिन्न स्थानमा केबुलकार संचालन गरिरहेको र थप केहि स्थानमा केबुलकार निर्माण गरिरहेको सन्दर्भमा पनि कार्यक्रममा ढकाललाई प्रश्न गरिएको छ । साथै, डेडिकेटेड र ट्रंकलाइनको महसुल विवादमा व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीचको टकरावका बारेमा ढकालले जवाफ दिनुभएको छ । पूर्वअध्यक्ष शेखर गोल्छाले महासंघका तर्फबाट अघि सारेको भिजन पेपरमा ढकालको स्वामित्व, महासंघको विधान संशोधनजस्ता विषयमा पनि कार्यक्रममा कुराकानी गरिएको छ । 

ढकालसँगको पूरा अन्तर्वार्ता आज राति ९ बजे कार्यक्रम ‘फायरसाइड’मा प्रसारण हुनेछ । साथै कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि कार्यक्रम हेर्न सकिनेछ ।

कार्यक्रमको प्रोमो हेर्नुहोस : 

यो पनि हेर्नुहोस : 

'फायरसाइड' मा जनार्दन शर्मा : माओवादी नेतृत्व परिवर्तनको बाटोमा अघि बढेको हो ?

फायरसाइडमा राजकिशोर यादव : मधेशमा जसपा फेरि सरकारमा जाने तयारी गर्दै हो ?

फायरसाइडमा नेत्रविक्रम चन्द : तपाईंले भनेको समाजवाद कसरी आउँछ ?

फायरसाइडमा पारस खड्का : ब्रायन लाराले नेपाली क्रिकेटसँग जोडिने इच्छा देखाउनुभएको छ


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।


Enter Kantipur TV HD
Advertisement