नेपाल पुलिस क्लब एन्फा महिला लिगको फाइनलमा, उपाधिका लागि एपीएफको सामना गर्ने

माघ १४, २०८१ |खेल ब्युरो
नेपाल पुलिस क्लब एन्फा महिला लिगको फाइनलमा, उपाधिका लागि एपीएफको सामना गर्ने

काठमाडौं । नेपाल पुलिस क्लब एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा आज भएको दोस्रो क्वालिफायरमा विभागीय डर्बी त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै पुलिस फाइनल पुगेको हो ।

११ औं मिनेटमा विमला चौधरीको लामो प्रहार पोस्टको क्रसबार नजिकैबाट बाहिरियो । २९ औं मिनेटमा अमिष कार्कीले प्रहार गर्न नसकेको बल विमलाले पोस्टको दिशा दिए पनि गोलकिपर उषा नाथले अघि बढेर सेभ गरिन् । ४५ औं मिनेटमा फरवार्ड चन्द्रा भण्डारीले बक्स बाहिरबाट हानेको बल उषाले रोकेकी हुन् । निकै सुस्त खेलमा कमै मात्र पोस्ट अटेम्प्ट भएका थिए । यससँगै पहिलो हाफमा आर्मीले निकै राम्रा अवसरमा गोल गर्न सकेन ।

खेलको ६० औं मिनेटमा सम्झना लावतीको प्रहार बाहिरियो । ७१ औं मिनेटमा निर्मला उपाध्यायको प्रहार दोस्रो बारको नजिकैबाट बाहिर गयो । ७६ औं मिनेटमा अनुश्का शेर्पाले निकै राम्रो प्रहार गरे पनि गोलकिपर अञ्जनाले बचाइन् । दोस्रो हाफमा पुलिसले धेरै अवसर पाएको भए पनि उसका कुनै अटेम्प्ट गोलमा परिणत हुन सकेनन् ।

खेलको निर्धारित समयमा गोल नभएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । तर दुवै टिमले थप समयमा समेत गोलका असफल प्रयास मात्रै गरे । यससँगै खेलको निर्णय टाइब्रेकरबाट लिनुपरेको थियो ।

पेनाल्टी प्रहारको क्रममा पुलिसका सम्झना लावती र समीक्षा घिमिरेको प्रहार अञ्जनाले रोकिन् । निरू थापाको प्रहार पनि उनैले बचाइन् । गोलकिपर उषा नाथ, बिर्सना चौधरीले गोल गरेपछि भने पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

आर्मीकी विमला चौधरीले पहिलो प्रहार नै पोस्टबाहिर प्रहार गरिन् । आर्मीको लागि एक मात्र गोल गोलकिपर अञ्जना राना मगरले गरिन् । चन्द्रा भण्डारी र विमला विकले गोल गर्न सकेनन् । सुपर लिग चरणमा आर्मी दोस्रो र पुलिस तेस्रो हुँदै प्लेअफमा पुगेका थिए । अब पुलिसले फाइनलमा एपीएफको सामना गर्नेछ । पहिलो क्वालिफायरमा आर्मीलाई नै हराएर एपीएफ फाइनलमा पुगेको थियो ।



Enter Kantipur TV HD
Advertisement