काठमाडौं । सरकारले माघ १८ देखि सुरू हुने संसद्को हिउँदे अधिवेशनमा हालै ल्याइएका पाँच वटै अध्यादेश पेश गर्ने तयारी गरिरहँदा सत्ता पक्ष र विपक्षमा रहेका दलहरूले सदनमा कसरी प्रस्तुत हुने भन्नेमा आआफ्नै रणनीति बनाइरहेका छन् । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले अध्यादेशको प्रतिरक्षा गर्ने तयारी गरेका छन् भने, विपक्षी दलहरू विरोधको रणनीतिमा छन् ।
पहिलो बैठकमै हुनसक्ने अध्यादेशको विरोध रोक्न सत्तारुढ दलहरूले औचित्य पुष्टि गर्ने गरी प्रतिरक्षाको रणनीति बनाएका हुन् ।
संसद्को पहिलो बैठकमा सकेसम्म विरोध नहोस् भन्ने सरकारको चाहना छ । त्यसैले पहिलो दिन १८ गते शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओली सहित प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । विपक्षीले अध्यादेशको विरोध गर्न नपाउन् भनेर सत्तारुढ दलले औचित्य पुष्टि गर्ने प्रयास सहितको तयारी थालेका हुन् ।
सत्तारुढ नेपाली कांग्रेसभित्र भने अध्यादेशको विरोध भइरहेको छ । त्यो विरोध संसद्मा प्रकट नहोस् भनेर कांग्रेसले पदाधिकारी र मन्त्री सहितको बैठक बोलाएर अध्यादेशको औचित्य पुष्टि गर्ने प्रयास समेत गर्यो । त्यस्तै कांग्रेसले सरकारले निर्माण गरेको कानुन सुधार कार्यदलका सदस्यलाई बोलाएर समेत संसदीय दलमा अध्यादेशबारे बुझाउने प्रयास गर्यो । कांग्रेसकै अग्रसरतामा अध्यादेश आएको हुनाले विरोध नगर्ने र अपनत्व लिने रणनीति कांग्रेसको छ ।
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले भने अध्यादेशको प्रक्रिया र विषयवस्तु दुवैको विरोध गर्ने जनाएको छ । उसले माओवादी मात्रै नभएर विपक्षमा रहेका सबै दलको सहयोग लिने र सामूहिक विरोध गर्ने तयारी गरेको छ । सरकारले संसद् छलेर अध्यादेशको शासन चलाउने खोजेको र समितिमा छलफलमा रहेका विषयमा समेत अध्यादेश ल्याएको आरोप माओवादीको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी सहितका विपक्षी दलले पनि अध्यादेशको विरोध गर्ने तयारी गरेका छन् । संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने हतार र हतास मनस्थितिमा काम देखाउन अध्यादेश ल्याएको भन्दै प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गरेको छ । तर सदनमा कसरी पेस हुने भन्ने ठोस निर्णय गरेको छैन ।
सरकारले आफ्नो सहजताका लागि संसद् अधिवेशन अन्त्य गरेर वा बोलाउन ढिला गरेर अध्यादेश ल्याउने प्रवृत्ति छ । सरकारमा हुँदा अध्यादेश ल्याउने तर प्रतिपक्षमा हुँदा विरोध गर्ने परिपाटी पनि दलहरूमा छ । अहिले सुरू हुन लागेको संसद् अधिवेशनमा पनि दलहरूको दोहोरो चरित्र देखिने र विरोध तथा प्रतिरक्षा मुद्दामा भन्दा दलीय हिसावकिताब हेरेर हुने निश्चित देखिएको छ ।