काठमाडौं । काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने काठमाडौंका भित्री सडक तथा गल्लीमा ड्राइराइजर जडान गर्न थालेको छ । आगलागीका बेला आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुक्खा पाइपलाइन नै ड्राइराइजर हो । छिटो आगो निभाउन र आगोबाट क्षति हुन नदिन वडा कार्यालयसँग मिलेर महानगरले ड्राइराइजर जडान गरेको हो ।
ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्भ राखिएको हुन्छ भने त्यसपछिका ४५ देखि ७५ मिटरसम्मको दूरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी आउँछ र डेलिभरी होर्ज जोडेर आगलागी भएको स्थानसम्म पुर्याइन्छ । दमकलबाट ८ बारको प्रेसमा पानी पठाउँदा ७ तले भवनमा समेत आगो निभाउन सकिने महानगरले जनाएको छ ।
काठमाडौं महानगरको विपद् व्यवस्थापन विभागले वडाहरूसँग मिलेर ड्राइराइजर जडान गरेको हो । हालसम्म काठमाडौंका विभिन्न १० वटा वडाहरूमा ड्राइराइजर जडान भइसकेका छन् भने अन्य वडाहरूमा पनि यो प्रविधि जडानको काम भइरहेको महानगरले जनाएको छ ।
उता ललितपुर महानगरमा पनि भित्री बस्तीहरूमा धेरै साँघुरा सडक भए पनि यस्ता प्रविधि जडान गरिएका छैनन् ।
उपत्यकाकै घनाबस्ती रहेको भक्तपुरले पनि यस्ता ड्राइराइजर जडानको योजना बनाएको छैन । यहाँ पनि दमकल जान नसक्ने धेरै बस्ती छन् ।