काठमाडौं । संघीयतालाई सबल र सुदृढ बनाउन जनमुखी काममा प्रदेश केन्द्रित हुन नसकेको भन्दै बागमती प्रदेशका सरोकारवालाले मुख्यमन्त्री बहादुरसिंह लामाको ध्यानाकर्षण गराएका छन् । कान्तिपुर टेलिभिजनको ‘मुख्यमन्त्रीसँग कान्तिपुर’ कार्यक्रममा सहभागीहरूले वास्तविक किसान, सीमान्तकृत समुदाय तथा विपन्न वर्गको उत्थानमा प्रदेश सरकारले ध्यान नदिएको गुनासो गरे ।
स्थानीय तहसँगको समन्वयमा समेत प्रदेश कमजोर देखिएको उनीहरूको भनाइ थियो । मुख्यमन्त्री लामाले भने संघ सरकारको संकुचित सोच र व्यवहारले काम गर्न नसकेको बताउनुभयो ।
‘मुख्यमन्त्रीसँग कान्तिपुर’ कार्यक्रममा बागमती प्रदेशका सरोकारवालाहरूले प्रदेश सरकारले किसान लक्षित कार्यक्रम नै ल्याउन नसकेको बताए । उनीहरूले वास्तविक किसानका लागि प्रदेश सरकारले कानुनसम्म बनाउन नसकेको आरोप लगाए ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूले तीन तहका सरकारबीच समन्वय र सहकार्य नै हुन नसकेको गुनासो गरे । संघ र प्रदेशले आवश्यक कानुन बनाउन नसक्दा अधिकार कार्यान्वयनमा समस्या बेहोर्नुपरेको उनीहरूको भनाइ थियो ।
यता मुख्यमन्त्री बहादुरसिंह लामाले भने स्रोत व्यवस्थापनका लागि प्रदेशलाई अधिकार नै कम हुँदा भने जति काम गर्न नसकेको स्वीकार गर्नुभयो । प्रदेशहरू स्वयं संघसँग आश्रित हुनुपरेकाले जनमुखी काम गर्न समस्या भएको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री लामाले संविधानमा व्यवस्था भएका एकल र साझा अधिकारका सूचीभित्र समेटिएका विषयमा अझै पनि अलमल रहेको दाबी गर्नुभयो । उहाँले अधिकार उपयोग गर्न नपाएकै कारण प्रादेशिक संरचनाप्रति प्रश्न उठिरहेको बताउनुभयो ।