कसैले रहर गर्दैमा राजतन्त्र पुनःस्थापित हुँदैन : कांग्रेस सभापति देउवा

चैत्र १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कसैले रहर गर्दैमा राजतन्त्र पुनःस्थापित हुँदैन : कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभापति देउवाले भन्नुभयो, “बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका सबै साथीभाइहरू लडेर हामीले नेपालमा अहिलेको व्यवस्था ल्याएका छौं । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौं । कसैले रहर गरेर हुने कुरा छैन । यो सम्पूर्ण नेपाली जनताले संविधान सभा मार्फत जनताको इच्छा अनुसार गणतन्त्र आएको हो । यो हट्नेवाला छैन, हट्ने कुरा पनि छैन । नेपाली जनताले मानिसकेको हुनाले कसैले आशा नगरे हुन्छ ।”

सभापति देउवाले हिमाल, पहाड, तराईका सबै अटाउने गणतन्त्रात्मक संविधान बनेको र देशमा कुनै किसिमको डर, त्रास नभएको पनि बताउनुभयो । “राजाले कू गर्छन् भने जस्तो हाम्रो राष्ट्रपतिले कू गर्न सक्दैन । कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन । यो आएको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.