‘इजरायलमा मारिएका नेपालीका परिवारलाई आजीवन भत्ता दिएका छौं’

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
‘इजरायलमा मारिएका नेपालीका परिवारलाई आजीवन भत्ता दिएका छौं’

विश्व समुदायले विगत पाँच महिनाभन्दा बढी समयदेखि इजरायल र हमासबीचको युद्ध हेरिरहेको छ । गत वर्षको अक्टोबर ७ मा इजरायलमा भएको हमासको हमलामा एघार सयभन्दा बढीको ज्यान गएको थियो । त्यसपश्चात् इजरायलको प्रतिशोधात्मक हमलामा ३२ हजारभन्दा बढी प्यालेसटिनीको मत्यु भएको छ । त्यसमा पनि अधिकांश महिला र बालबालिका रहेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै साता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌ले युद्धविरामका लागि संकल्प प्रस्ताव पारित गर्‍यो । विश्वले इजरायल हमासको युद्धविरामको प्रतीक्षा गरिरहेका बेला हामी नेपाली र विशेषगरी हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले उनको प्रतीक्षा गरिरहेको छ । प्रस्तुत छ- विपिन जोशीको रिहा र नेपाल-इजरायलबीचको सम्बन्ध, भविष्यमा हुन सक्ने साझेदारीका सम्भावनाबारे कान्तिपुर टेलिभिजनका लागि सारा साप्सानाम्माले नेपालका लागि इजरायली राजदूत खनान गोडेरसँग गरेको कुराकानी ।

०००

तपाईंको नेपाली नाम पनि छ ?

मेरो नेपाली नाम दिलबहादुर हो ।

तपाईंको वास्तविक नाम र नेपाली नाममा केही सम्बन्ध छ ?

मेरो इजरायली नामको उल्था हो, दिलबहादुर । मैले नेपाली बोल्न सिक्दै गरेका बेलामा मेरो गुरुले मेरो नामको अर्थ सोध्नुभएको थियो । खनानको अर्थ मैले उहाँलाई भन्दा त्यो नेपालीमा दिलबहादुर भयो ।

तपाईंलाई त्यसमा दोस्रो नाम थप्न मन छ कि दिलबहादुर नै ठीक ?

मेरो दोस्रो नाम ललितपुरको लेलेका समुदायसँग मिल्दो जुल्दो छ । तर मलाई जुन दोस्रो नाम दिए पनि हुन्छ ।

नेपालका लागि इजरायली राजदूतका रुपमा तपाईं दोस्रो कार्यकालमा हुनुहुन्छ ?

हजुर हो । मैले तपाईंहरुकै पर्यटन मन्त्रालयको श्लोक लिएको छु । उहाँहरुको भनाइ नेपाल एकचोटिले पुग्दैन । त्यसैगरी यो मेरो दोस्रो कार्यकाल हो ।

तपाईंले त्यसैलाई व्यवहारमा पनि उतार्नुभयो । नेपालीहरुप्रतिको तपाईंको सद्‌भावना तपाईंले भेट्नुभएका, आफूवरपर राख्नुभएका नेपालीहरुसँगको सम्बन्धबाट देखिन्छ । तपाईंले नेपाली र नेपालको संस्कृतिलाई सराहना गर्नुहुन्छ भन्ने देखिन्छ ।

एकदमै ठीक हो । मलाई नेपाल, नेपाली, यहाँको प्रकृति र संगीत मन पर्छ ।

तपाईंको दोस्रो कार्यकाल कस्तो हुँदै छ ?

मलाई दोस्रोपटक राजदूत हुन कुरा चलेकाबेला यसपटक गाह्रो हुन्छ होलाजस्तो लागेको थियो । किनकि मेरो कामको पहिलो कार्यकालसँग तुलना हुन्छ । तर मैले यसबीच नेपालमा धेरै परिवर्तन भएको देखेको छु । धेरै अद्भूत परिवर्तनहरु भएका छन् । मलाई मेरा नेपाली साथीहरुबीच हुन पाउँदा राम्रो लागेको छ ।

इजरायलले दक्षिण एसियाली क्षेत्रमा स्थापना गरेको पहिलो कूटनीतिक निकाय नेपालमा हो ?

हजुर हो । झन्डै ६४ वर्षअघि सन् १९६० मा हामीले नेपालमा निकाय राखेका थियौं । करिब ३ दशकसम्म यस क्षेत्रमा नेपालमा मात्रै हाम्रो दूतावास थियो । हामी नेपालको साथ केहिल्यै बिर्सिन्नौं र हाम्रो सहकार्य सधैंका लागि हो । हाम्रो सहकार्य धेरै क्षेत्रमा छ । १९६० को दशकमा हामीले विकास कार्यहरुमा सहकार्य गर्‍यौं । हामी तराईंमा भएका गतिविधिमा पनि साथ थियौं । यस्तै ७० र ८० को दशकमा पनि हामीले मिलेर काम गर्‍यौं जुन अहिलेसम्म पनि निरन्तर रहेको छ । सुरुमा नेपाली र इजरायली सेनाबीच पनि राम्रो सहकार्य रह्यो । हाम्रो सहकार्यका क्षेत्रहरु धेरै छन् । यो विकासदेखि मानवीय सहायता, सुरक्षा, व्यापार र कामदारसम्म छ । इजरायलले २०७२ को भुइँचालोपश्चात् नेपाललाई गरेको सहायता सम्झदा मलाई गर्व लाग्छ । म इजरायलमै थिएँ त्यो बेला । तर भुइँचालोलगत्तै ५ वटा कार्गो जहाजमा ३०० चिकित्सक र स्वास्थकर्मी पठाएका थियौं । हामीले काठमाडौंको छाउनीमा अस्पताल पनि स्थापना गरेका थियौं । यसका साथै हामीले घाइतेहरुको उद्धारमा पनि सहभागिता जनायौं । इजरायल र नेपालको सहकार्यता धेरै क्षेत्रमा छ ।

त्यसले नेपालले इजरायलबाट पाएको सहयोग देखाउँछ । इजरायलले चाहिँ नेपालबाट कस्तो सहयोग पाएको छ ?

फाइदाको कुरा गर्नुपर्दा हामी दुवै राष्ट्रका लागि यो सहकार्य उत्तीकै महत्त्वपूर्ण छ । हामीबीच धेरै किसिमका समानता छन् । हामी दुवै साना राष्ट्र हौं । नेपाल र इजरायल दुवै ठूला देशहरुले घेरिएका साना राष्ट्र हुन र हामीले आफ्नो सरोकारका क्षेत्रहरुको ख्याल राख्नुपर्छ । वरपरका राष्ट्र नराम्रो नभए पनि उनीहरुले गरेको गतिविधिका कारण चुनौती भोग्नुपर्ने हुन सक्छ । र यस्तो अवस्थामा हामीले हाम्रो सरोकारका विषयहरुको ख्याल राख्न जानेका छौं । यसै कारण जब-जब नेपाली र इजरायलीबीच कुनै संवाद हुन्छ हामीलाई थाहा हुन्छ कस्तो चुनौती हामीले देख्नुपर्छ । नेपालले इजरायललाई र इजरायलले नेपाललाई राम्ररी बुझ्छौं । हामी साना राष्ट्र हौं र हामीले हाम्रो आफ्नो ख्याल राख्नुपर्छ । यस्तै हामी हाम्रो राष्ट्रियताप्रति गर्व गर्ने राष्ट्र पनि हौं । नेपालीहरु आफ्नो भाषा, संस्कृति, संगीत, सगरमाथा, लुम्बिनी, चितवनजस्ता खजानामा गर्व गर्छन् । इजरायलमा पनि त्यस्तै छ । हामी दुवै हामी जे छौं त्यसमा खुसी छौं । हामी ऐनामा हेर्छौं । हामी पूर्ण छैनौं । हामी जे छौं त्यसमा खुसी छौं र हामीले अरु हुन छैन ।

ठूला राष्ट्रबीच सानो राष्ट्र हुँदा चुनौती हुन्छ भन्नुभयो । यसलाई कुनै घटना वा कुनै उदाहरणसँग दाज्न खोज्नुभएको हो ?

इजरायलका लागि नेपाल ठूलो राष्ट्र हो । हामी मध्य पूर्वी क्षेत्रमा छौँ तर हामी पनि ठूला राष्ट्रहरुले घेरिएका छौँ । तपाईंहरुका छिमेकीजस्ता ठूला त हैनन् तर ठूला राष्ट्रहरु नै छन् हाम्रो वरपर । इजरायल नेपालको एउटा प्रदेशजतिको छ । हामी भुटानभन्दा पनि सानो छौं । त्यस सन्दर्भमा हामी साना राष्ट्रहरुबीच एउटा बुझाइ हुन्छ । हामी साना सभ्यता हौं तर हामी आफ्नो सभ्यतामा गर्व गर्छौं ।

अहिलेसम्म हेर्दा नेपाल र इजरायलबीच प्रविधि, कृषि र शिक्षामा सहकार्य हुँदै आएको छ । अहिले कार्यान्वयनमा भएका र बन्दै गरेका कार्यक्रमहरु के-के छन् ?

मलाई खुसी लाग्यो तपाईंले प्रविधिको कुरा उठाउनुभयो । यो प्राय:लाई थाहा छैन । इजरायल सानो देश हो तर प्रविधिमा अगाडि छ । अहिले धेरै इजरायली कम्पनीहरु र इजरायलमा रहेका अन्तर्राष्ट्रिय संस्थाहरु छन् जसले प्रतिभाशाली नेपाली युवाहरुलाई लिएर काम गर्दै छन् । उहाँहरु काठमाडौंमै बसेर काम साइबर, उच्च प्रविधिमा काम गर्दै छन् । धेरैलाई यसबारे थाहा छैन । हामी सबैलाई थाहा छ नेपाली युवाहरु अवसरको खोजीमा छन् । हामीले उहाँहरुलाई नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको तलब कमाउने अवसर दिइरहेका छौँ । यो हाम्रो सहकार्यको सानो उदाहरण मात्रै हो । र म भन्छु यो दान होइन । यो सहकार्य हो । यो दुवै पक्षको हितमा छ । तपाईंहरुसँग प्रतिभाशाली व्यक्ति हुनुहुन्छ र हामीसँग कम्पनीहरु छन् जो अन्तर्राष्ट्रिय कम्पनीहरुसँग सम्बन्धित छन् । जसले संसारभरि राम्रो काम गर्दै छन् । यस्ता कम्पनीहरुको संख्या बढ्दो छ ।

मानौँ कोही सूचना प्रविधिमा पोख्त व्यक्ति हुनुहुन्छ र उहाँले यस अवसरबारे जान्न चाहनुहुन्छ भने त्यो कसरी गर्न सक्नुहुन्छ ?

हामी निजी क्षेत्रको विषयमा जाँदै छौँ । त्यस कारण म नाम तोकेर भन्दिनँ । तर यदि कोही इच्छुक हुनुहुन्छ भने गुगल प्रयोग गरेर इजरायली कम्पनीहरुबारे हेर्न सक्नुहुनेछ र काठमाडौंमै बसेर आवेदन दिन सक्नुहुनेछ ।

कृषिमा हामीलाई लर्न एन्ड अर्न कार्यक्रमबारे थाहा छ । यो कसरी सुरुवात भयो ? अक्टोबर ७ को घटनापश्चात कार्यक्रम अहिले स्थगित छ । अब कसरी पुनः सञ्चालन हुन्छ र कस्तो तरिकामा हुन्छ ?

म पहिले लर्न एन्ड अर्न कार्यक्रमको पृष्ठभूमि दिन चाहन्छु । यस कार्यक्रमको उद्देश्य भनेको नेपाली युवालाई एक वर्षका लागि इजरायल लाने हो यस अवधिमा उहाँहरुले साताको पाँच दिन काम गर्नुहुन्छ । एक दिन कलेजमा पढाइ । काम गर्दै कमाउने कार्यक्रम हो यो । उहाँहरु दुई महत्त्वपूर्ण कुरा लिएर आउनुहुन्छ । उहाँहरुले पैसा लिएर आउनुहुन्छ किनभने उहाँहरुले एक वर्ष काम गर्नुहुन्छ । यससँगै उहाँहरुले ज्ञान लिएर आउनुहुन्छ । उहाँहरुले त्यहाँ तालिम लिनुहुन्छ, रिसर्च गर्नुहुन्छ र अन्य इजरायलीजस्तै कलेज जानुहुन्छ । त्यसबाहेक अर्को दुई फाइदा लिएर आउनुहुन्छ । उहाँहरुले इजरायलजस्तो आधुनिक समुदाय, समाज र अर्थतन्त्र देख्न पाउनुहुन्छ र यसका साथै काम गर्ने प्रवृत्ति बुझ्नुहुन्छ । इजरायलमा पनि किसानहरु बिहान ५ बजे नै उठेर काम गर्न जानुहुन्छ । इजरायलको जनसंख्यामा २ प्रतिशत मात्र किसान हुनुहुन्छ जसले बाँकी ९८ प्रतिशतका लागि खाद्यान्न उब्जाउनुहुन्छ । त्यसका साथै हामी खाद्य सामग्री निर्यात पनि गर्छौं । यो कुनै जादु होइन । यो परिश्रम र लगानीको नतिजा हो । जब यो देखेर नेपाली युवा फर्कनुहुन्छ उहाँहरुले त्यही सन्देश लिएर आउनुहुन्छ । कृषि भनेको रुचिको क्षेत्र मात्रै होइन यो व्यापार हो । पेसा हो र यो जिउने तरिका हो । हामीलाई यही बुझाइ नेपाललाई दिनु छ । मलाई लाग्छ नेपालमा लगभग ६८ प्रतिशत जनसंख्या कृषिमा आबद्ध छन् । तर अधिकांशले कृषि पुरानै तरिकामा गर्नुहुन्छ । यही चुनौती र समस्या हो । म पटक-पटक भन्ने गर्छु नेपाल फर्कनुहुने युवा किसानलाई कृषि उपज नेपालले निर्यात गर्न सक्छ । म फेरि-फेरि भन्न सक्छु नेपालले खाद्य सामग्री निर्यात गर्न सक्छ यदि तपाईंहरुले लगानी गर्नुभयो, कृषि क्षेत्रमा प्रगति गर्न सक्नुभयो र चाहिएको परिवर्तन गर्नु सक्नुभयो भने । लर्न एन्ड अर्न गर्नुभएका तीन हजारजना छन् । तर म भन्न चाहन्छु यो नेपालको मात्रै समस्या होइन । लर्न एन्ड अर्नमा ३० भन्दा बढी राष्ट्रका विद्यार्थी छन् । इजरायल बढ्दो क्रममा आधुनिक कृषिका लागि केन्द्र बन्दै छ र हामी हाम्रो ज्ञान बाँड्न खुसी छौँ । इजरायलमा नेपाली युवाको प्रतिष्ठा राम्रो छ । इजरायली किसानहरु सधैँ नेपालीहरुको प्रतीक्षामा हुन्छन् । अहिले पनि त्यहाँका किसानहरुले अक्टोबर ७ को घटनापछि फर्केका नेपाली विद्यार्थीलाई फिर्ता बोलाउँ भनेर बारम्बार भन्छन् ।

यसको कारण के हो जस्तो लाग्छ तपाईंलाई ?

यो राम्रो प्रश्न हो । म आफैंलाई पनि यही सोध्छु । नेपालका क्षेत्रहरुमा विविधता छ । पूर्व-पश्चिम उत्तर-दक्षिण सबै आ-आफ्नै किसिमका छन् । काठमाडौं पनि आफैंमा फरक छ । गाउँका मानिस जहाँको भए पनि एकदमै मन पर्छ । उहाँहरुसँग इजरायली किसानहरुले अन्तर्क्रिया गर्न पाउँदा राम्रो मान्नुहुन्छ । यसमै नेपाली युवा जब इजरायलमा काम गर्ने राम्रो वातावरण पाउनुहुन्छ उहाँहरु झन् बढी मिहिनेत गर्नहुन्छ । इजरायलमा इजरायली र नेपाली कामदारका अधिकार एउटै छन् । कुनै किसिमको भेदभाव छैन । दुवैको एउटै तलब, छुट्टी, स्वास्थ सुविधा छ ।

लर्न एन्ड अर्न कार्यक्रमको भविष्य कस्तो छ ?

मलाई आशा छ । हामीले यो कार्यक्रम साना किसान भन्ने संस्थासँग मिलेर सुरु गरेका थियौं । झन्डै १० वर्ष हुन लाग्यो । अहिले विश्वविद्यालयतिर गएको छ यो कार्यक्रम । हामीले विश्वविद्यालय र विद्यार्थीबाट पाएको प्रतिक्रियाहरु धेरै राम्रो छ ।

तपाईंले विगतका वर्षहरुमा नेपालीहरुसँग राम्रो सम्बन्ध बनाउनुभएको छ । अहिले विशेषगरी तपाईं अक्टोबर ७ को घटनाका पीडितको परिवारसँग पनि जोडिनुभएको छ ?

७ अक्टोबरको ठूलो आघात पुगेको छ इजरायलमा । म लर्न एन्ड अर्न कार्यक्रममा धेरै संलग्न छु । म केयरगिभर्सको क्षेत्रमा पनि संलग्न छु । म उहाँहरु सबैसँग भेट्छु । अन्तर्क्रिया गर्छु । लर्न एन्ड अर्न मैले नै साना किसानसँग मिलेर एक दशकअघि सुरु गरेको हो । म खेतमा जान्छु र उहाँहरुलाई भेट्छु पनि । अक्टोबर ७ को घटनाका बेला म उहाँहरुसँग अनलाइनमा थिए । उहाँहरु लुकेर बस्नुभएको थियो । किबुट्ज आलुमिममा १७ नेपाली हुनुहुन्थ्यो । मैले उहाँहरुबारे थाहा पाएँ । १० जनाको मृत्यु भयो । उहाँहरु पहिले घाइते हुनुहुन्थ्यो । तर उहाँहरुको उद्धार गर्न ११ घण्टा लाग्यो । हाम्रो सेनालाई त्यो क्षेत्र फिर्ता लिन समय लाग्यो । ६ जना मात्रै बाँच्नुभयो तर उहाँहरु पनि घाइते हुनुहुन्थ्यो । म इजरायलमै अस्पतालमा उहाँहरुलाई भेट्न पनि गएँ । यहाँ पनि मैले उहाँहरुलाई भेटें । मलाई सबैको नाम थाहा छ । र कञ्चनपुरका विपिन जोशी अझै पनि बेपत्ता हुनुहुन्छ । मैले उहाँको बुबालाई र परिवारलाई भेटें । हामीले हाम्रो सक्दो प्रयास गरिरहेका छौँ । हामीले विपिन जोशीलाई लगिएको दिनको भिडियो फेला पार्‍यौँ । हामीसँग विपिनलगायत १३४ हमास बन्दीको कुनै पनि सूचना छैन ।

इजरायली सरकारले घटना भएलगत्तै पीडितको जिम्मेवारी लियो । उहाँहरुको परिवारलाई दिइरहेको क्षतिपूर्ति कस्तो किसिमको छ ?

यसको एउटा प्रक्रिया छ । यहाँको प्रक्रिया सिधा छ । तर हरेक सरकारको आफ्नै प्रक्रिया हुन्छ । पीडितका परिवार को-को हुन् भन्ने पहिचान गर्ने प्रक्रिया हुन्छ । त्यो हामीले सबै १७ नेपाली युवाका लागि गरेका छौँ । इजरायलमा स्टेट नेसनल इन्स्योरेन्स छ- जसले उहाँहरुलाई भत्ता प्रदान गर्दै छ । इजरायलमा जानुभएका नेपालीहरु हाम्रो अतिथि भएर जानुभएको थियो । अक्टोबर ७ को घटनापछि उहाँहरु हाम्रो परिवार हुनुभयो सधैंका लागि । उहाँहरुले आजीवन हरेक महिना भत्ता पाउनुहुनेछ । उहाँहरुले अन्य इजरायलीसरह नै सुविधा पाउनुहुन्छ । कुनै किसिमको भेदभाव छैन । उहाँहरुले पछिल्ला केही महिनामा भत्ता पाइसक्नुभएको छ । किनभने उक्त घटना भएको ६ महिना हुन लाग्यो । प्रत्येक महिनाको पहिलो तारिखमा भत्ता पाउनुहुन्छ । अहिले हामी मार्च महिनाको अन्त्यमा छौँ । अब उहाँहरुले अप्रिल महिनाको १ तारिखमा बैँक खातामै भत्ता पाउनुहुन्छ ।

नेपाली युवाहरु इजरायल जाँदा बिदाइ गर्न तपाईं आफैं विमानस्थल जानुभएको थियो । त्यसमा विपिन जोशी पनि हुनुहुन्थ्यो । तपाईंलाई उहाँलाई सम्झिँदा कस्तो व्यक्ति लाग्छ ?

उहाँ एक दमै राम्रो व्यक्ति हुनुहुन्छ । सकारात्मक सोच भएको आकर्षक व्यक्ति । मानिसहरु उहाँको वरपर हुन मन पराउँछन् । विमानस्थलमा हामीले त्यति कुरा गर्न पाएनौँ किनभने सबैजना हतारमा हुन्छन् र छुट्टै किसिमको उत्साह हुन्छ । तर म कञ्चनपुरमा हुँदा हामीले दिन बिताएका थियौं । विपिनसँग समय बिताउँदा उनको सपनाका कुरा सुन्दा मलाई लागेको थियो नेपालका युवाहरु निकै प्रतिभाशाली छन् । त्योबेला उनी पढाइको अन्तिम वर्षमा थिए । मलाई उनले भनेका थिए- म इजरायल जान चाहन्छु र सीप वृद्धि गर्न चाहन्छु । आर्थिक मात्रै नभइ मलाई ज्ञान आर्जन गर्न मन छ । जुन उनले नेपालमा प्रयोग गरी यहाँको कृषि क्षेत्रलाई परिवर्तन गर्न चाहेको व्यक्त गरेका थिए । मलाई धेरै आशा छ उनी चाँडै, कुशल अवस्थामा नेपाल, उनको परिवार र उनको साथीभाइमाझ फर्किनेछन् ।

विपिन जोशीलाई फर्काउन अहिले कस्ता पहल भइरहेका छन् ?

इजरायली सरकार र इजरायली सेनाले विपिनलगायत १३४ हमास बन्दीलाई फर्काउन सबै गर्न तयार छ । हामी जे पनि गर्न तयार छौँ । हामी वार्ता गर्छौं । हामी लड्छौँ, हामी प्रचार गर्छौं । हामी सबै गर्छौं । केही समयअघि विपिनका परिवारलाई जानकारी गराउन मैले इजरायली सेनासँग कुराकानी गराएको थिए । तर हामीसँग सूचना छैन । हामीलाई विपिन कहाँ छन् थाहा भएको भए गएर फिर्ता ल्याउँथ्यौँ । तर हामीसँग कुनै खबर छैन । हमासले उनलाई चिठी पनि लेख्न दिएका छैनन् । किन भनेर हामी प्रश्न गर्छौं ?

तपाईं नेपालका धेरै स्थानमा घुम्नुभएको छ ? तपाईंलाई कहिले शिवपुरी, कहिले भुन्डोल त कहिले गोसाईंकुण्डमा देख्न पाइन्छ ?

यो साँचो हो । नेपाल र इजरायलले विगतमा केही भूभाग पनि बाँडेको छ । म यही प्रसंगमा भन्न चाहन्छु नेपालको ९ वर्गमिटर इजरायलमा छ । डेड सी मा सगरमाथाबाट ल्याइएको ढुंगा राखिएको छ । यसको बदलामा नाम्चे बचारमा हाम्रो स्तम्भ छ । म सगरमाथाको टुप्पोमा पुग्न सक्दिनँ होला तर म अरु ठाउँहरु पुगेको छु । पदयात्रा गर्न आजकल गाह्रो भएको महसुस हुन्छ तर नेपालमा धेरै राम्रा स्थल छन् । म नेपालीहरुलाई सधैँ भन्ने गर्छु तपाईंहरुको देश एकदमै सुन्दर छ । तपाईंहरुसँग मनोरम दृश्य छ, प्रकृति, संस्कृति छ र आत्मीय नेपालीहरु हुनुहुन्छ । यसको उपयोग गर्नुहोस् । म सक्दो आफू पनि घुम्छु र अरुलाई पनि आमन्त्रण गर्छु । केहीले भन्छन् मैले पुरै देश घुमिसकें तर त्यस्तो होइन । तर मेरो प्रयास सबै ठाउँ जाने निरन्तर छ । लर्न एन्ड अर्नअन्तर्गत तीन हजारजना विद्यार्थी हुनुहुन्छ । मसँग जमघट गर्न धेरै हुनुहुन्छ ।

मलाई आशा छ तपाईंले ‘नेपाल एकचोटि घुमेर पुग्दैन’ भन्ने स्लोगन इजरायलमा पनि प्रचार गर्नुहुनेछ ।

हामीले सक्दो प्रयास गर्दै छौँ । हामीले स्टाम्प बनाएका छौँ जसमा विश्वको उच्च विन्दु सगरमाथा र सबैभन्दा तल्लो विन्दु डेड सी-लाई राखेका छौँ । जसको प्रयोग हुलाकमा हुँदै छ । यो एकदमै चर्चित छ । इजरायलको नेपालप्रति चिन्ता छ । अहिलेको कठिन स्थितिमा पनि धेरै इजरायली नेपाल आएका छन् । यस्तै धेरै नेपाली पनि विभिन्न कार्यका लागि इजरायल जाँदै छन् ।

यो पनि...

विपिन जोशीको रिहाइबारे के भन्छन् इजरायलका राजदूत ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement