विपिन जोशीको रिहाइबारे के भन्छन् इजरायलका राजदूत ?

‘हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारका लागि सक्दो प्रयास गरेका छौं’
चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
विपिन जोशीको रिहाइबारे के भन्छन् इजरायलका राजदूत ?

काठमाडौं । नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारका लागि सक्दो प्रयास गरेको दाबी गरेका छन् । राजदूत गोडेरले विपिन अपहरण हुँदादेखि कै भिडियो अनुसन्धान गर्दै पहिचानको प्रयास गरे पनि अहिलेसम्म अवस्थासम्म थाहा पाउन नसकेको बताएका छन् ।

कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले हमासको कब्जामा नेपाली नागरिक विपिन जोशीको खोजी र उद्धारका लागि इजरायल सरकारले सक्दो प्रयास गरेको बताए । उनले विपिनजस्तै हमासको नियन्त्रमा रहेका १३४ जनाको खोजी गरिरहेको जानकारी दिए ।

इजरायल सरकारले हमासको आक्रमणमा मारिएका र नियन्त्रमा रहेका नेपालीका परिवारलाई क्षतिपूर्ति स्वरुप मासिक भत्ता दिन सुरु गरिसकेको छ । गत असोज २० मा हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई पनि इजरायलले भत्ता उपलब्ध गराएको छ । राजदूत गोडेरले पाहुनाका रुपमा आएका नेपाली मारिएकाले उनीहरुलाई इजरायलीसरह नै आजीवन भत्ता दिइएको बताए ।

इजरायलले सूचना प्रविधि, कृषि तथा शिक्षामा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ । तर नेपालीहरु त्यहाँ केयर गिभरको काम गर्न पुग्ने गरेका छन् । राजदूत गोडेरले नेपाली युवालाई कृषिमा नयाँ प्रविधि सिकाउन लर्न एन्ड अर्न कार्यक्रमजस्तै सूचना प्रविधिका लागि काठमाडौंमै कार्यालय खोलेर रोजगारी दिइरहेको बताए ।

दोस्रोपटक नेपालका लागि इजरायलका राजदूत भएका खनान गोडेर नेपालको कला, संस्कृति र भौगोलिक सुन्दरताबाट प्रभावित छन् । उनले अन्नपूर्ण आधार शिविरमा जोसुकै इजरायली पनि जीवनमा एकपटक पुग्न चाहने बताए । तर संख्यात्मक हिसाबले हेर्दा गत वर्ष ६ हजार चार सय इजरायलीले नेपाल भ्रमण गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement