जाजरकोट भूकम्पपछिको पुनर्निर्माण कसरी, कस्तो र कहिलेसम्म ?

मंसिर १२, २०८० |कान्तिपुर टीभी संवाददाता
जाजरकोट भूकम्पपछिको पुनर्निर्माण कसरी, कस्तो र कहिलेसम्म ?

तापक्रम जतिजति ओर्लँदै छ, जाजरकोट भूकम्पपीडितहरूको जनजीवन उत्ति नै कष्टप्रद बन्दै छ । त्रिपालको ओतमा रहेका भूकम्पपीडित चिसोकै कारण बिरामी परिरहेका छन् । 

कात्तिक १७ को भूकम्पपछि जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका ३५ हजारभन्दा बढी परिवारको बास त्रिपालमुनि छ । न्यानो ओतको अभावमा भूकम्पपीडितका प्रायः बस्तीमा रुघाखोकी, ज्वरो, निमोनियाजस्ता स्वास्थ्य समस्या देखिएका छन् । भूकम्पपछि चिसोले १० जनाको मृत्यु भइसकेको छ । चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी, गर्भवती र सुत्केरीलाई सताएको छ । 

जाजरकोट भूकम्पमा १ सय ५३ जनाको ज्यान गयो भने ३५ हजारभन्दा धेरै निजी घर भत्किए । भूकम्पबाट १ लाख ८० हजारभन्दा बढी नागरिक प्रभावित छन् । 

सरकारले अहिलेसम्म एक परिवारका लागि एउटा- एउटा त्रिपाल र कम्बल मात्र उपलब्ध गराउन सकेको छ । त्रिपालले सिरेटो छल्न सक्दैन, अझ राति सुतेका बेला त्यही त्रिपालबाटै शीत चुहिन्छ । जीउलाई न्यानो पार्न पर्याप्त लत्ताकपडा छैनन् । भूकम्पबाट जसोतसो जोगिएकाहरू यति बेला जाडोबाट कसरी जोगिने भन्ने पिरलोमा छन् । 

जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा पुस-माघमा हिमपात हुन्छ । यो बेला जोखिममा परेका भूकम्पपीडित थप समस्यामा पर्नेतर्फ अहिलेदेखि नै स्थानीय सरकार गम्भीर नबन्ने हो भने झन् ठूलो संकट नआउला भन्न सकिन्न । अर्कोतर्फ प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या निम्तिने अर्को कारण सरसफाइको अभाव हो । भूकम्पले मुहान भत्काएका कारण कतिपय ठाउँमा स्वच्छ पानीको कमी छ । खुला ठाउँमा खानपान र शौचले समस्या सन्निकट छ । 

केही राजनीतिक दल र संघसंस्था प्रभावितका लागि अस्थायी टहरा निर्माणमा जुटेका छन्, जुन सराहनीय छ । तर कतिपय भने चर्चा कमाउनका लागि मात्र प्रभावित क्षेत्रमा पुग्दा पुनर्स्थापनाको काममै अवरोध पुगेको छ । सरकारले यो क्षेत्रमा फटाफट पुनर्निर्माण एवं पुनर्स्थापनाका काम अघि बढाउने त भनेको छ तर कसरी, कस्तो र कहिलेसम्म? स्पष्ट छैन ।

लाइन लागेर-हेलिकोप्टरनै लिएर भूकम्प पीडितलाई भेट्न पुगेका नेताहरूले किन महसुस गर्न सकेनन् पीडितका पीडा ? बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी, गर्भवती र सुत्केरीको रक्षामा कहाँ चुक्यौँ हामी ? यो हिउँद छल्न कस्तो बन्दोबस्त गर्दै छ सरकार ? के भूकम्पपीडितले सरकार भएको अनुभूति गर्न पाएका छन् ? पुनर्स्थापना एवं पुनर्निर्माणको मोडल के ? 

सरोकारको आजको अंकमा हामी यिनै विषयमा बहस गर्दै छौँ । स्टुडियोमा निम्त्याएका छौँ- भूकम्प प्रभावित क्षेत्रबाट हालै फर्किएका नेपाली कांग्रेसका नेता प्रदीप पौडेल, पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्री र तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.