काठमाडौं । ६५ वर्षअघि बझाङको रायल गाउँमा जन्मिएका कटक मल्लको सुरुवाती स्कुले जीवनको अनुभव सुनाउँदा हामीलाई रोचक लाग्छ । मल्ल संरचना बिनाको विद्यालय सात कक्षासम्म पढे । उनी सुरुवाती स्कुले जीवनको अनुभव सुनाउँछन्, ‘हाम्रो विद्यालय घर थिएन तर गाउँका मान्छेले विद्यालय खोलेका थिए । घाम लाग्दा रुख मुनि पढ्ने, पानी पर्दा बिदा हुन्थ्यो ।’
यसरी सुरुवात गरेको अध्ययन यात्रा मल्ले स्विडेनको स्टकहोम विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय कानुनमा विद्यावारिधिसम्म पुर्याए । अहिले उनीसँग विभिन्न विश्वविद्यालयमा कानुनको प्राध्यापन गराएको अनुभव छ । घरेलु र अन्तर्राष्ट्रिय मामिलामा निरन्तर कलम चलाउने मल्लले आफ्नो परिचयलाई पढाइसँगै विस्तार गरेका छन् ।
कान्तिपुर टेलिभिजनको नियमित कार्यक्रम टफटकमा मल्लले नेपालमा एमसीसी र बीआरआई जस्ता परियोजना भित्रनुमा काठमाडौं जासुसको गुँड भएको अभिव्यक्ति दिएका छन् ।
यस अवस्थामा संसार पहिलो र दोस्रो विश्वयुद्धभन्दा जटिल अवस्थामा रहेकाले नेपालमा डाइनामिक कूटनीतिज्ञको अवश्यकता रहेको औल्याउँछन् । उनी थप्छन्, ‘अहिले संसारमा यस्ता नेताहरू छन् जसलाई शान्ति, सुव्यवस्था, मानवअधिकार र लोकतन्त्र भन्ने कुराको कुनै मतलब-महत्त्व छैन । उनीसँग कति हतियार छ कसरी लड्ने भन्नेमा मात्र मतलब छ ।’
प्रस्तुत छ- मल्लसँग कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक दिलभूषण पाठकले गरेको कुराकानीको संक्षिप्त अंश :
गत जेठमा भारतबाट आफ्नो पहिलो भ्रमण थालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ३० भदौदेखि ४ असोजसम्म राष्ट्रसंघ महासभाका लागि अमेरिका र त्यहाँबाट ५ असोजदेखि चीनको भ्रमणमा जाँदै छन् । संयुक्त राष्ट्रसंघ महासभामा नेपालले के-के विषय प्रस्तुत गर्नुपर्छ र के-के विषयमा विश्वको ध्यानाकर्षण गराउनुपर्छ ? बुँदागत रुपमा भनिदिनुस् न ?
तपाईंले धेरै राम्रो प्रश्न गर्नुभयो । मैले हरेकपटक नेपालको परराष्ट्रमन्त्री अथवा प्रधानमन्त्रीहरू त्यहाँ जाँदा म उनीहरूको सम्बोधन कहिले पनि छुटाउदिनँ । लाइभ नभए पनि आजभोलि युट्युबमा हेर्न सकिन्छ । नेपालको महत्त्वपूर्ण शक्ति भनेको नेपाली सेना हो, शान्तिसेना ।
मलाई नेपालको प्रधानमन्त्री अथवा विदेशमन्त्रीले सुरुवातमा के भनोस् जस्तो लाग्छ भने, उनीहरू ठाउँमा म भएको भए के भन्थेँ भने, हामीहरू सानो मुलुक गरिब मुलुक भन्छौं तर हामीहरूले संयुक्त राष्ट्रसंघको इतिहासमा शान्ति सेनाको हिसाबले हामीले सबैभन्दा बढी योगदान गरेका छौं । त्यो नै हामो ‘सफ्ट पावर’ हो । हाम्रो रणनीति हो । मलाई त्यहाँ प्रधानमन्त्रीको सुरुवात सम्बोधन त्यो हुनुपर्छ जस्तो लाग्छ ।
संयुक्त राष्ट्रसंघको कूटनीति र संयुक्त राष्ट्र एक प्रकारले अर्धजीवित मात्र छ जस्तो लाग्छ मलाई । जुन प्रकारले अन्तर्राष्ट्रिय परिस्थितिहरू आइरहेका छन् र संसार अहिले यस्तो परिस्थितिमा छ कि यस्तो खतरनाक परिस्थितिबाट संसार कहिले पनि गुज्रिएको छैन ।
दोस्रो कुरा साना मुलुकहरूले एकले अर्कालाई कसरी संगठित गर्न सकिन्छ, एकले अर्कालाई कुरा कसरी बुझाउन सकिन्छ, भूपरिवेष्ठित राष्ट्रहरूको कुरा र शान्ति र सुरक्षाका कुरा यी विषयमा कुरा उठाउँदा राम्रो हुन्छ जस्तो लाग्छ । परम्परागत जस्तै कुरा गरे भनेचाहिँ त्यसले केही फरक पार्दैन ।
न्युयोर्कमा महासभालाई सम्बोधन गरिसकेपछि प्रधानमन्त्री सीधै एसियाली खेलकुद उद्घाटन हुने सहर हाङ्जाओ पुग्नेछन् र त्यसपछि उच्चस्तरीय राजनीतिक भेटवार्ताका लागि बेइजिङ । पाँच वर्षपछि हुन लागेको प्रधानमन्त्रीस्तरको चीन भ्रमणलाई तपाईंले कसरी हेर्नुभएको छ ?
वर्तमान प्रधानमन्त्रीलाई अहिलेको प्रधानमन्त्रीलाई भारतले मन मराउँछ कि चीनले तपाईंहरूले पत्रपत्रिकाम देख्नुभएको छ । त्यसैले उहाँको व्यक्तिगत ‘स्किल’मा भरपर्छ । उहाँले कसरी डिल गर्नुहुन्छ भन्ने कुरा हो जानु नराम्रो कुराचाहिँ होइन ।
६ महिनाअघि प्रधानमन्त्री दाहाललाई चीनले बोआओ फोरममा भाग लिन चीनले निम्तो पठाएको थियो । दाहालले पहिले भारत भ्रमण गर्ने चाहना गरे । नेपाली कार्यकारी प्रमुखलाई पहिले भारत पुग्नैपर्ने बाध्यता के हो ?
हामीमा एउटा यस्तो दृष्टिकोण तयार गरिएको छ नि, त्यो कुनै ठाउँमा लिखित छैन कि- नेपालको प्रधानमन्त्री पहिलोपटक भारत भ्रमणमै जानुपर्छ । तर एउटा परम्पार विकसित भएको छ । मैले भन्न खोजेको हरेक प्रधानमन्त्रीले आउँदा भारत र चीनको राजदूतलाई दायाँ-बायाँ राखेर शपथमै उभ्याइदिए के फरक पर्छ ?
अथवा तपाईं हामी नजिकका छिमेका हौं । हामीहरू तपाईंहरू दुवैलाई समान सम्मान गर्छौं भन्ने बुझाउन त सक्नुपर्यो नि ।
प्रधानमन्त्रीको व्यक्तिगत ‘स्किल’ त होला । कस्तो छ थाहा छैन । भारत र चीनलाई राम्रोसँग व्यवहार गर्न सक्ने, त्यो माहोल सिर्जना गर्नसक्ने व्यक्तित्वको अभावचाहिँ देखिन्छ यहाँ ।
नेपालका प्रधानमन्त्री पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्छन् । तर नेपाललाई भारतले कुन हिसाबले लिन्छ ? जी-ट्वेन्टी सम्मेलनमा त भारतले नेपाललाई बोलाएन त ?
जी-ट्वेन्टीप्रति मेरो कुनै त्यस्तो सम्मानचाहिँ छैन । यो एउटा ‘ब्लफिङ ग्रुप’ हो । यसले कुनै अन्तर्राष्ट्रिय कानुन बनाउँदैन । यसले नीति निर्देशचाहिँ गर्न सक्छ । बोलाएको भए राम्रो हुन्थ्यो तर जी-ट्वेन्टी संसारकै ठूलो कुरा होइन । मलाई जी-ट्वेन्टीभन्दा ब्रिक्समा जान प्रयास गर्नुपर्छ जस्तो लाग्छ । ब्रिक्स भोलि सफल होस् वा नहोस् तर कूटनीतिको एउटा नीति के हुन्छ भने जो परिस्थिति आउँदै जान्छ त्यसमा खेल्दै जानुपर्छ । त्यसमा पौडी खेल्नुपर्छ । इथियोपियाजस्ता देश साना देश पनि सहभागी भएका छन् भने नेपालले किन प्रयास नगर्ने ? जी-ट्वेन्टीभन्दा ब्रिक्स महत्त्वपूर्ण हो जस्तो लाग्छ । र ब्रिक्स किन पनि महत्पपूर्ण छ भने यो एउटा ‘कमोटिडी मार्केट’ बन्दै छ । जस्तो आईएमएफ, आईबीआरडी जुन छ नि अन्तर्राष्ट्रिय संस्थाहरू यी ‘क्यास कमोटिडी’ हो । अमेरिकनसँग डलर छ त्यसले काम गर्छ । हुन त यिनीहरूले पनि नयाँ करेन्सी ल्याउँछु भनेको छ । त्यो पनि २०-४० वर्ष त लाग्ला ।
अमेरिकादेखि युरोपका सबै शक्ति राष्ट्र एक ठाउँमा उभिएका छन् जी-ट्वेन्टीमा । त्यसले पनि एउटा सन्देश त दिन्छ नि ?
जी-ट्वेन्टी रसियनहरू र चाइनिजहरूले प्रयोग गरे पश्चिमको विरुद्धमा । त्यसमा पश्चिमले केही पनि पाएको छैन । बेल्ट एन्ड रोड चाइनिज इनिसिएटिभ छ त्यसको सट्टा भरतदेखि मध्य पूर्वलगायत युरोपमा एउटा रोड बनाउने भनेको छ । त्यो हुन्छ कि हुँदैन थाहा छैन । त्यो चाइनिजहरूलाई काउन्टर गराउन हो कि होइन थाहा छैन । कोसँग बढी पैसा छ त्यसमा भरपर्छ । त्यसैले मलाई जी-ट्वेन्टीचाहिँ ‘बल्फिङ’ लाग्छ । नेपाललाई बोलाएको भए राम्रो हुन्थ्यो । अबको डाइनामिजम जी-ट्वेन्टीभन्दा ब्रिक्सतिर जान्छ ।
विश्वमञ्चमा नेपाल कहाँ छ ?
कूटनीतिक हिसाबले नेपाल कहाँ छ पत्ता लगाउन गाह्रो छ । नेपाल विश्व मञ्चमा महत्त्वपूर्ण भएको त थिएन । तर नेपालले आफ्नो इज्जत राखेको थियो । अहिले मेरो चासो र डरलाग्दो विषय के हो भने- जुन विश्व परिस्थितिबाट हामी गुज्रिरहेका छौं यस्तो ऐतिहासिक परिवर्तनका बेलामा राष्ट्रहरूले अस्तित्व गुमाएका छन् । त्यसैले हामी पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धभन्दा खतरनाक स्थितिबाट हामी गइरहेका छौं । अहिले सन्तुलनको आवश्यकता छ । भोलि चीन र अमेरिकाको युद्ध भयो भने नेपाल योभन्दा खतरनाक परिस्थितिमा जानुपर्छ ।
नेपाल शक्ति राष्ट्रको जोखिममा फस्ने कस्तो कस्तो जोखिम छ ?
अमेरिका र चीनको युद्ध नै हुन्छ भन्ने त छैन तर हुँदैन भन्ने पनि कुनै ग्यारेन्टी गर्न सकिँदैन । त्यस्तो परिस्थितिमा छौं हामी । यो सबैभन्दा खतरनाक स्थिति छ । अहिले संसारमा यस्ता नेताहरू छन् जसलाई शान्ति, सुव्यवस्था, मानवअधिकार र लोकतन्त्र भन्ने कुराको कुनै मतलब-महत्त्व छैन । उनीसँग कति हतियार छ कसरी लड्ने भन्नेमा मात्र मतलब छ । दोस्रो विश्वयुद्धपछि असंलग्न परराष्ट्र नीति, शान्ति भन्ने मान्छे छैनन् अहिले । चाहे लोकतान्त्रिक मुलुकका भन्नुस् वा गैरलोकतान्त्रिक मुलुक ।
बेलायती जासुसी निकाय एमआई-सिक्स र अमेरिकी सीआईएलगायत ‘जासुसको गुँड हो काठमाडौं’ भनेर थोमस बेलले भनेका छन् । काठमाडौंमा दक्षिण कोरियाली र जापानीहरू उत्तर कोरियालीलाई हेर्छन् । उत्तर कोरियालीहरू भियाग्रा बेचेर पैसा कमाउँछन् । भारतीय गुप्तचर एजेन्सीले पाकिस्तानी खुफिया एजेन्सी आईएसआईलाई हेर्छ । आईएसआईले भारतमा नक्कली नोट घुसाउने काम गर्छ भनेर बेलले भनेका छन् । वास्तमा भू-राजनीतिमा कस्तो थलो हो काठमाडौं ?
यसमा म सत्यता देख्छु । त्यो पुस्तक मैले पनि पढेको थिएँ । त्यसमा केही प्रतिशत सत्यता छ । त्यही जासुसी केन्द्र बनेका कारण नै एमसीसी आएको छ, त्यही कारणले बीआरआई आएको छ । नेपालले असंलग्न परराष्ट्र नीति अपनाएर रुसको विरोध गरेयता कति विदेशी आएका छन् ।
नेपाल त्रिदेशीय शक्ति राष्ट्रको रणनीतिक महत्त्व भएको भूगोलमा छ । हिजोसम्म भारत र चीनसँगको सम्बन्धलाई मात्रै सन्तुलित गर्नुपर्ने थियो । अब अमेरिका पनि सीधै जोडिन थालेको छ । नेपालसँग अमेरिकाले देखाइरहेको सामीप्यतामा भारत र चीनको कस्तो सरोकार हुन सक्छ ?
त्यसमा चासो छ म यसमा सहमत छु । तर मेरो सुझाव राजनीतिज्ञलाई के हो भने सकेसम्म सहभागी बन । नबनी काम काम गर्न सकिँदैन । जस्तो बीआरआई पनि लेऊ, एमसीसी पनि लेऊ, चाइनिज मेलिटरीसँग पनि अभ्यास गर, अमेरिकनसँग पनि अभ्यास गर भारतसँग पनि गर तर लेखेर कोहीसँग पनि नगर ।
चीनलाई नेपालमा के भइरहेको छ प्रत्यक्ष थाहा छ । हामीले डिग्रीचाहिँ एकिन गर्न सक्दैनौं । अमेरिकाले कुन लेभलबाट हेर्छ, चीनले कुन लेभलबाट हेर्छ, तर जे जति उपलब्ध व्याख्या छन् यहाँ पहिलाभन्दा बढी चासो बढेको छ । कुनै दिन कसैको कम होला कसैको बढी होला ।