काठमाडौं । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेपछि देश फेरि एक पटक क्रिकेटमय बनेको छ । खेलाडीलाई शुभकामना दिन राष्ट्रपतिसहित सरकार र दलका नेताहरुबीच त होड नै चल्यो ।
एसिया कपमा नेपालले जुन देशसँग प्रतिस्पर्धा गरेको थियो । ती देशको खेल पूर्वाधारसँग तुलना गर्दा नेपालसँग भएको पूर्वाधार र सुविधा केही होइन । हामीसँग अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न त्रिवि क्रिकेट मैदान र केहीअघि अन्तर्राष्ट्रिय खेल आयोजनाको मान्यता पाएको मुलपानी मैदानबाहेक अरू कुनै क्रिकेट स्टेडियम छैनन् । भएका यी दुई स्टेडियममा पनि खासै सुविधा छैन ।
खेल हेर्न श्रीलङ्का पुगेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपालमा स्टेडियमको अभाव रहेको भन्दै संघीय सरकारले १०० रोपनी जग्गा उपलब्ध गराए महानगरले स्टेडियम बनाउने घोषणा गरे । उनलाई छाड्ने हो भने नेपालले ठूलो प्रतियोगिता खेलिरहँदा पूर्वाधार र खेल सुविधामा कसैको ध्यान गएको पाइँदैन । बजेटमा विराटनगर, बैतडी, कैलाली र काठमाडौंको गाम्चामा क्रिकेट रङ्गशाला बनाउने घोषणा त गरिएको छ तर काम कहिले सुरु हुने केही टुङ्गो छैन ।
नेपाल विश्वकप छनोटमा चयन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिवि क्रिकेट मैदानमा तत्काल फ्लड लाइट जडान गरिने घोषणा गरेका थिए । जुन अझसम्म नबन्दा खेलाडीले लाइट नभएको इन्डोरमा अभ्यास गर्न बाध्य छन् । उनीहरुसँग राम्रो बलिङ मेसिन पनि छैन । वर्षा याममा अभ्यास गर्ने गतिलो इन्डोर भेन्युको समेत अभाव छ । खेलाडीका पारिश्रमिक, भत्ता, डाइटजस्ता सेवा सुविधा कस्तो हुने भन्नेमा गतिलो बहस नै हुन सकेको छैन ।
सङ्घदेखि स्थानीय सरकारसम्मले क्रिकेटको विकास गर्ने आश्वासन बाँड्न थालेका छन् । तर, अहिलेसम्म सरकार कहाँ थियो ? नेपालमै अन्तराष्ट्रिय स्तरको राम्रो क्रिकेट मैदान बनेको भए भारत र पाकिस्तान अहिले नेपालकै मैदानमा एसिया कप खेलिरहेका हुने थिए कि ? क्रिकेट पूर्वाधारको बन्न लाग्ने खर्च कति ? कस्तो हुनुपर्छ क्रिकेट खेलका पूर्वाधार र खेलाडीको सेवा सुविधा ? आफ्नै वाचा र घोषणा किन बिर्सन्छ सरकार ?
राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट सङ्घ क्यानले के गर्दै छन् ? नेपाल क्रिकेट पावर हाउस बन्न के गर्नुपर्छ ? नेपाली क्रिकेटको अबको गन्तव्य के ? यस्तै प्रश्नको जवाफ खोज्न सरोकारको आजको अङ्कमा हामीले स्टुडियोमा निम्त्याएका छौँ– युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुर बहादुर चन्द र नेपाल क्रिकेट सङ्घ क्यान बागमती प्रदेशका अध्यक्ष एवं राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ।