
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका समस्याको समाधान गर्न सरकार लागिपरेको बताउनुभएको छ । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू ‘डेथ ट्र्याप,’ ‘डिजिटल ट्र्याप,’ र ‘डेब्ट ट्र्याप’को शिकार भइरहको मन्त्री भण्डारीको भनाइ छ ।
उहाँले परिवार र समाजको अपेक्षा, ऋणको चाप र कामको दबाबले श्रमिकहरू डिप्रेसनको शिकार बन्ने र आत्महत्या गर्ने क्रम समेत बढेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीका लागि लिइने चर्को ऋणले कामदारहरूलाई आर्थिक चक्रव्यूहमा फसाउने गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको वैदेशिक रोजगारीको क्षेत्रमा तीन वटा ट्र्याप छ भन्ने गरेको छु । एउटा डेथ ट्र्याप छ, डिजिटल ट्र्याप छ र डेब्ट ट्र्याप छ । यसलाई हटाउनको लागि हामी काम गर्दैछौं । डेथ ट्र्यापमा १६ वर्षमा १४ हजार मान्छे मारिए । हाम्रा मानिसहरू त्यहाँ लड्न गएको हो त ? होइन नि । अब त्यो हो भने कहीँ न कहीँ त समस्या छ । मुख्य समस्या स्वास्थ्य र ऋणको समस्या छ । ऋण तिर्नको लागि राम्रो काम गर्न सकेर मान्छे डिप्रेसनमा गएर दिवंगत हुन्छ ।”
सरकारले वैदेशशिक रोजगारीको नीतिगत सुधार गर्दै म्यानपावर कम्पनीमाथि कडा निगरानी र कामदारहरूको स्वास्थ्य तथा मानसिक समस्यामा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले दाबी गर्नुभयो ।