धादिङ । मानिसको भीडभाड हुने स्थानमा आवश्यक रहेको भन्दै खानेपानी मन्त्रालय अन्तर्गतको तत्कालीन ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोष समितिले आठ नौ वर्षअघि धादिङको नीलकण्ठ नगरपालिकामा ३ र ज्वालामुखी गाउँपलिकामा १ गरी ४ ठाउँमा पक्की शौचालय निर्माण गरेको थियो । तीमध्ये ज्वालामुखी गाउँपालिकाको शौचालय अपुरै छाडिएको छ भने बनेका शौचालयमा पनि सेप्टिक ट्याङ्क नै छैन जसले गर्दा सबै शौचालय प्रयोगविहीन छन् ।
एकातिर शौचालय प्रयोगमा ल्याउन नसक्दा सदरमुकाम र बजारमा विभिन्न कामका लागि आएका सर्वसाधारणले शौचका लागि निकै समस्या भोग्दै आइरहेका छन् । अर्कोतर्फ बनेको संरचना प्रयोग हुने अवस्था छैन । यस्तो शौचालय कसले किन बनायो होला नागरिक आश्चर्यमा पर्ने गरेका छन् ।
कतिपय शौचालयलाई आसपासका नागरिकले थोत्रा सरसामान थन्क्याउने ठाउँको रूपमा प्रयोग गरिरहेका छन् । कसले डिजाइन गर्यो, कसले बनायो, नागरिक अन्योलमा छन्, निर्माण भएदेखि कोही फर्किएर आएको पनि छैन । न पानी न सेप्टिक ट्याङ्क, राज्यको ढुकुटी रित्याउन मात्र योजना ल्याएको स्थानीयको बुझाइ छ ।
नीलकण्ठ नगरपालिकाको गेटैमा पनि यस्तो शौचालय बनेको छ । स्थानीय तहसँग समन्वय नै नगरी आएका यस्ता योजनाको अध्ययन गरिरहेको बताउने जनप्रतिनिधिहरू मन्त्रालयका संरचना परिवर्तन हुँदा जिम्मेवारी लिने निकाय समेत भेटिरहेका छैनन् ।
ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोष समिति खारेजीमा परेपछि यस्ता योजना अलपत्र परेको जानकारहरूको बुझाइ छ। सरकारी लगानीमा थालिएका विकासका काम सरकारी संरचनामा आएको परिवर्तनको मारमा पर्नु पक्कै राम्रो होइन । यसले सरकारी रकम दुरुपयोग त भएको छ नै नागरिकमा निराशा फैलाउने काम समेत गरेको छ ।