काठमाडौं । जारी एसीसी एसिया कपमा नेपालले विश्व क्रिकेटका सबैभन्दा अब्बल दर्जाका दुई टिमसँग प्रतिस्पर्धा गर्यो । यद्यपि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।
अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको नेपालले २१ वर्षपछि भारत र पाकिस्तानको सिनिअर टोलीसँग प्रतिस्पर्धा गर्यो । पाकिस्तान अहिले ओडीआई वरीयतामा नम्बर एक टिम हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानले कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा नेपालले महत्त्वका साथ हेरेको एसियाकपको दुई खेलको अनुभव साटेका छन् ।
कप्तान रोहित भन्छन्, ‘ मैदानमा हामी पाकिस्तानी बलरले बलिङ गर्छन् भनेर हामी हेरिरहेका थियौं । खेल सकिएपछि एक-अर्कामा कुरा गर्दा सोचेजस्ता त्यस्तो केही फरक छैन रहेछ भन्ने कुरा भयो ।’
पाकिस्तानसँगको अनुभवले भारतसँगको प्रतिस्पर्धामा सहज भएको उनको भनाइ छ उनी थप्छन्, ‘भारतसँगको ब्याटिङ राम्रो हुनुको कारण पाकिस्तानसँगको खेल हो ।’
प्रस्तुत छ फायरसाइडमा पवन आचार्यले कप्तान रोहित पौडेलसँग एसिया कप, क्रिकेटमा भारत-पाकिस्तानका र नेपालबीचको समानता, नेपाली क्रिकेटको आगामी यात्रालगायत विषयमा कुराकानी गरेको संक्षिप्त अंश :
कुराकानी एसिकपबाटै । भर्खरै एसिया कप खेलेर नेपाली टिम फर्किएको छ । समग्रमा कस्तो रह्यो अनुभव ?
एकदमै राम्रो भयो । बच्चैदेखि हामी टीभीमा हेर्दै आइरहेका थियौं पाकिस्तानको खेल । भारत पाकिस्तानको खेल हामी टीभीमा नै हेथ्र्यौं । तिनै टिमसँग खेल्न पाउँदा खुसी लागेको थियो त्यही बेला । अफ्रिदीहरूले बलिङ गरेको देख्दा खुसी लागेको थियो । त्यो नेपाली क्रिकेटका लागि एकदमै ठूलो उपलब्धि हो जस्तो लाग्छ मलाई । सबै खेलाडीले पछिल्लो दुई-तीन वर्षदेखि मिहेनत गरिरहनुभएको छ त्यसको नजिता हो जस्तो लाग्छ एसिया कप । भारत र पाकिस्तानसँग खेल्दा एकदमै राम्रो अनुभव भयो ।
रोहित शर्मा र बाबर आजामसँग टसमा सँगै उभिँदा तपाईं रोहित पौडेलको मनमा कस्तो भाव आएको थियो ?
खासै त्यसबेला केही महसुस भएन । हाम्रो मुख्य लक्ष्य नै कसरी खेल जित्ने भन्ने थियो । त्यही कुरामा बढी केन्द्रित भए । अगाडि को छ मैले त्यस्तो केही पनि सोचिनँ । पछि सोच्दाखेरी बाबार र रोहितलाई टीभीलाई हेर्दै आएको उहाँहरूसँग खेल्न पाउँदा ठूलो उपलब्धि जस्तो हुन्छ नि । पछि सोच्दा चाहिँ खुसी लागेको थियो । खेलमा चाहिँ कसरी जित्ने त्यहीमा नै केन्द्रित थिएँ । प्रतिस्पर्धी को हो भनेर सोचेको थिइनँ त्यसबेला ।
विश्वस्तरीय खेलाडीसँगको प्रतिस्पर्धा कुन अर्थमा फरक हुने रहेछ ?
उहाँहरूको ‘स्किल सेट’ एकदम राम्रो हुन्छ । उनीहरू बढी अनुभवी हुन्छन् । त्यो लेबलमा धेरै खेलका हुन्छन् । बढी एक्सपोजर पाएका हुन्छन् । ‘स्किल सेट’ पनि अलिकति राम्रैै हुन्छन् । उहाँहरूसँग अनुभवी प्रशिक्षक र राम्रो भौतिक संरचना हुन्छ । त्यही हो ।
भारत, पाकिस्तान र हामीबीच तुलना गर्दा के कुरा समान रहेछ ?
उहाँहरूको संरचना एकदमै फरक छ । मैदानहरू सबै फरक छ । उहाँहरूको सेवा सुविधा फरक छ । तर अहिलेको जुन टिम छ हाम्रो उहाँहरूले जति मिहेनत गर्नुहुन्छ हाम्रो टिमले पनि उत्तिकै मिहिनेत गर्छ । उनीहरूसँग निरन्तर खेल्ने मौका पायो भने हामी दुई-तीन वर्षमा उनीहरूसँग सहज प्रतिस्पर्धा गर्न सक्छौं । हामी भारत पाकिस्तान जसलाई पनि जित्न सक्छौं । तर निरन्तर प्रदर्शन उही रहनुपर्यो । एकपटक जितेर भएन । त्यसका लागि ‘एक्सपोजर’ एकदमै आवश्यक हुन्छ ।
एकातिर क्रिकेटका शक्ति राष्ट्र अर्कोतिर सारा नेपालीको आश र भरोसा । यो बीचको सन्तुलन कसरी मिलाउनुभयो ?
त्यस्तो गाह्रो छ भएन । समर्थकहरूले जहिले पनि जित्नै पर्छ भनेर सोच्नुहुन्छ । त्यो कुरालाई सोचेर त खेलमा जानुभएन । कसरी सन्तुलन गर्नेभन्दा आफूले कसरी राम्रो गर्ने त्यही मानसिकतामा बस्ने हो । जो प्रतिस्पर्धी आए पनि हामी कसरी राम्रो क्रिकेट खेल्न सक्छौं उनीहरूको अगाडि त्यही मानसिकतामा बस्ने हो ।
ठूला टिमसँग खेल्न खेल भावना बढी आउँछ कि राष्ट्रिय भावना बढी ?
त्यसबेला चाहिँ दुवै कुरा महत्त्वपूर्ण हुन्छ । जतिबेला राष्ट्रियगान बज्छ त्यसबेला रौं ठाडो हुन्छ । त्यो सन्तुलन गर्न एकदमै गाह्रो हुन्छ । त्यसबेला महत्त्वपूर्ण के हो ? क्रिकेटमा खेल्दा बलललाई हेर्नु महत्त्वपूर्ण हो । त्यो कुरालाई बिर्सेर अरु सोचियो भने राम्रो हुँदैन । किनभने फोकस हट्छ । ठूलो र सानो दुवै टिमसँग खेल्दा वर्तमानमै बस्न जरुरी हुन्छ ।
पाकिस्तानविरुद्धको म्याच अघि ड्रेसिङ रुमको माहोल कस्तो थियो ?
एकदम उत्साहित । सबैजना एकदम उत्साहित थियौं । पाकिस्तान नम्बर वान ओडीआई टिम हो । उनीहरूसँग माथिल्लो श्रेणीका बलर छन् । सबैलाई उनीहरूले बलिङ गर्दा कस्तो महसुस हुन्छ भन्ने थियो । खेल्दा पनि सबै उनीहरूको बल कसरी आउँछ हेरिरहेका थियौं । सोचेजस्तो फरक छैन भन्ने महसुस हुन्छ । खेल सकिएपछि त्यस्तो केही फरक छैन भनेर हामी एकअर्कामा कुरा गर्यौं । भारतसँग खेल्दा जाँदा त्यो मानसिकता फरक भयो । जुन हिसाबले हामीले पाकिस्तानसँग प्रदर्शन गरेका थियौं भारतसँग खेल्दा हामीले राम्रो गर्यौं । ब्याटिङमा पनि हामीले राम्रो गर्यौं । तर अझै राम्रो गर्न सकिन्थ्यो । जति राम्रो टिमसँग खेल्दै गयो उति नै खेल पनि राम्रो हुँदै जान्छ ।
पाकिस्तानसँगको खेलमा हामी कहाँ चुक्यौं जस्तो लाग्छ ?
पाकिस्तानसँग सुरुवातमा हामीले एकदम राम्रो गर्यौं । नम्बर १ ओडीआई टिमलाई २१० मै रोकेर राखेका थियौं । स्तिका रहेमद र बाबार आजमजस्ता राम्रो ब्याटरलाई अलि राम्रो डेथ ओभरको बलिङ गर्न सकिन्थ्यो जस्तो लाग्छ । ब्याटिङ हामीले त्यो खेलमा राम्रो गरेनौं । सबैले स्वीकार गर्नुपर्छ हामीले ।