टफटक : नेपालीभाषी भारतीय प्रज्वलले कसरी लेखे ‘गोर्खाकी छोरी’ र ‘चित्रलेखाको चौरासी’ ?

भाद्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
टफटक : नेपालीभाषी भारतीय प्रज्वलले कसरी लेखे ‘गोर्खाकी छोरी’ र ‘चित्रलेखाको चौरासी’ ?

काठमाडौं । नेपाली पात्र र प्रकृत्तिको काल्पनिक एवं रोमाञ्चक कथा संग्रह ‘द गोर्खाज डटर’ अर्थात, गोर्खाकी छोरी कथासंग्रह लेखेर नेपालीमाझ प्रिय बनेका प्रज्वल पराजुलीको अर्को कृति ‘ल्यान्ड ह्वेर आई फ्ली’ को नेपाली संस्करण ‘चित्रलेखाको चौरासी’ पनि हालै सार्वजनिक भएको छ ।

एउटा राम्रो जागिर छाडेर बरालिँदा परिवारलाई कथा लेख्दैछु भनेर ढाँटेको व्यक्तिलाई त्यही झूटले आज कसरी स्थापित कथाकार बनायो ? नेपाली परिवेश र रहनसहनको महत्व आजको विश्व साहित्यमा कहाँ छ ? परिवेश र पात्रले कथालाई बलियो बनाउँछ कि कथाले पात्र र परिवेशलाई ? लेखकको सबैभन्दा ठूलो सन्तुष्टि के ? नेपाली भाषामा लेखिएका कृतिलाई विश्व साहित्य बजारमा कसरी पुर्‍याउन सकिन्छ ? यी र यस्तै विषयमा आज लेखक प्रज्वल पराजुलीसँग कुराकानी गरेका छौं ।

अक्सफोर्ड विश्वविद्यालयबाट क्रियटिभ राइटिङमा स्नातकोत्तर पराजुली बेलायती प्रकाशनबाट आकर्षक पेस्की पाएर लेखनमा लागेका थिए । उनले ‘द गुर्खाज डटर’ कथासङ्ग्रह र ‘ल्यान्ड ह्वेर आई फ्ली’ (उपन्यास) लेखेका छन् । यी कृतिहरू बेलायतका ‘डिलन थोमस प्राइज’ र ‘मोगफोर्ड प्राइज’ एवं फ्रान्सको ‘इमिल गिमेट प्राइज’ को अन्तिम सूचीमा परेका छन् । त्यस्तै फ्रान्सकै ‘डेब्यु नोभल प्राइज’ र अमेरिकाको ‘द स्टोरी प्राइज’ को मनोनयनमा पर्न सफल भइसकेका छन् ।

प्रज्वल सन् २०१८ र २०२३ मा गरी दुई पटक ‘डिलन थोमस प्राइज’ को निर्णायकसमेत रहिसकेका छन् ।

कुराकानीको सुरुवातमा तपाईंलाई बधाई छ । ‘द गोर्खाज् डटर’को नेपाली संस्करण गोर्खाकी छोरीपछि ‘ल्यान्ड ह्वेर आई फ्ली’ को नेपाली अनुवाद ‘चित्रलेखाको चौरासी’ पनि बजारमा आएको छ । जुन विभु लुइँटेलले अनुवाद गरेकी छन् । कत्तिको खुसी हुनुहुन्छ ? मावली देश नेपाल आउँदा अलि बढी खुसी मिल्छ ?

म नेपाल आउँदा किन उत्साह हुन्छ भने मेरो किताब वरिपरि नेपालमा यति उत्साह छ, त्यसैले खुसी लाग्छ । अलि काठमाडौं आउँदाचाहिँ यही सहर हो, जहाँ म पहिलोपटक ‘एक्सेलेटर’ चढेको हो, विशाल बजारमा ।

हामीलाई ग्यान्तोक, सिक्किममा काठमाडौं भनेको ठूलो सहर जहाँ दिल्ली, कलकत्तामा जस्तो पकेटमारहरूसँग जोगिएर बस्नु नपर्ने सहर, जहाँ नेपाली नै बोल्न पाउने तर ठूलो सहरको जीवनशैली देख्न पाउने हो त्यस्तो खालको उत्साह थियो, हुर्किंदा अथवा सानो हुँदा । अहिले पनि म याद गर्छु त्यस्तै उत्साह छ । मलाई यहाँ आउन एकदमै मनपर्छ । नेपालको सीमा कटेपछि बिर्तामोड, काँकडभिट्टा, भद्रपुरमा कत्तिको विकास हुँदै रहेछ, होटेलहरू हेर्न । यो सबैले सधैं नेपाल आउँदा आनन्द हुन्छ ।

तपाईंको अतितबाटै सुरु गरौँ ल आजको बातचित । कथाकै पारामा भनिदिनुस्– तपाईंको मामाघर इलाम, घरचाहिँ गान्तोक सिक्किम । त्यो बेला त्यो ठाउँ कस्तो थियो ? तपाईंको बाल्यकाल कस्तो थियो ? मामाघर जाँदाको सम्झना सुनाउनुस् न ।

बाल्यकालको सम्झनामा जमुना (इलाम) गएको सम्झना मलाई यति जीवन्तरूपमा सम्झना गर्छु । त्यति बेला जमुना भन्ने गाउँचाहिँ कस्तो थियो भने– विद्युत् त छँदै थिएन तर गाडी पनि पुग्दैन थियो । त्यसैले हामी गान्तोकमा बिहानै ६ बजे घरको गाडी लिएर मानेभञ्जाङ भन्ने ‘वेस्ट बेङ्गोल’को सहर पुग्थ्यौं । त्यहाँदेखि माथि चाहिँ घरको गाडी जाँदैन थियो किनभने सडक एकदमै कच्ची थियो । त्यसैले ल्यान्ड लोभर जिप नै चाहिन्थ्यो । दुई घण्टा जस्तो त्यसमा चढेपछि सीमामा पुग्थ्यो जौंबारी भन्ने ठाउँ । अब म एकदमै सानो हुँदाचाहिँ जौंबारीभन्दा उता गाडी जाँदैन थियो । ओरालो जाँदाचाहिँ साइला दाइ भन्नेले डोकोमा बोकेर लानुहुन्थ्यो मलाई । उकालो जाँदाचाहिँ घोडामा कुन्नी कसरी जान्थें । तीन–चार वर्षको मान्छेलाई त घोडामा राख्दैन थियो होला ।

मलाई एकदमै सम्झना भएको कुरा डोकोमा निस्सासिथेँ पनि होला, यताउता हेर्दा अभिभावकहरू अगाडि–पछाडि हुनुहुन्थ्यो होला, साइँला दाजु जमुनाकै मान्छे भएकाले उकालो ओरालो छिटो गर्नुहुन्थ्यो होला अनि म एकदमै रुन्थेँ । अनि साइला दाइको कपाल जगल्टाउथेँ कि दाँत उखेल्थेँ । अहिले यो भएको चाहिँ मलाई अलिकति ‘कर्मा’ भएको जस्तो पनि लाग्छ ।

जमुना एकदमै चित्रण गर्न लायक स्थान थियो । अब म १९९५ देखि यता गएको छैन जुमना । मैले अब फोटोहरू देख्दा, मान्छेहरूको कुरा सुन्दा, सडक पनि पुगिसक्यो, विद्युत् पनि पुगिसक्यो तर त्यस बेला एकदम सामान्य समय थियो । अनि लखतरान भएर घर पुगेपछि गाउँ बस्तीको खाने, आलु पोल्ने, रुख चढ्ने हो यस्तो धेरै अनुभव छ ।

भान्जो आयो भनेर उत्साह पनि हुन्थ्यो होला नि मामाहरूको ?

आबुई, भइहाल्थ्यो नि । भान्जाभन्दा पनि नाति । मामाहरू त सामान्यतः काठमाडौंमै हुनुहुन्थ्यो । म मेरो आमाहरूतिरको चाहिँ कान्छो बच्चा हुँ । त्यहाँ पनि उत्साह हुन्थ्यो । हजुरआमाचाहिँ अलि फरक किसिमको हुनुहुन्थ्यो । माया देखाउनेभन्दा पनि चुलोको छेउमा नआउने, कुन्नी के–के नगर्ने भन्ने ‘हार्ड लभ’ भनिन्छ नि, त्यस्तो खालको हुनुहुन्थ्यो ।

यो पृष्ठभूमिबाट तपाईं विश्वचर्चित लेखक बन्नुभयो । सन् २०१२ मा ‘द गुर्खाज् डटर’ प्रकाशन कान्छो लेखक भनेर संसारमै चर्चामा हुनुहुन्थ्यो । योभन्दा सही हुन्छ ?

‘योङ्स्ट’ त होइन होला । भारतीय युवा लेखकहरूमा एउटा म पनि होला ।

विद्यालय शिक्षादेखि, विश्वविख्यात विश्वविद्यालय अक्सफोर्डसम्मको यात्रा कसरी तय भयो ?

म गान्तोकमै पढेको हो । टासी नाम्ग्याल एकेडेमी पढेको हो । पहिलाका सिक्किमका राजाले स्थापना गरेको स्कुल हो । एकदमै राम्रो स्कुल थियो । स्कुल राम्रो भन्दैमा महँगो शुल्क लाग्ने थिएन । एकदमै उचित अध्ययन शुल्क हुन्थ्यो । मध्यमवर्गको परिवारले सजिलै नानीहरूलाई पढाउन सक्ने । त्यो कुरामा मेरो एकदमै राम्रो अंग्रेजी शिक्षकहरू हुनुहुन्थ्यो । कक्षा ४ मा मिस तामा न्याङ्गेल भन्ने शिक्षक हुनुहुन्थ्यो । जसले थाहा पाउने भयो कि ए यसमा चाहिँ केही सीप छ ।

शनिबार हाम्रो निबन्ध लेख्ने कक्षा हुन्थ्यो । भनेको ४० मिनेटचाहिँ निबन्ध लेख्नुपर्ने । शिक्षकले शीर्षक दिनुहुन्थ्यो, कसरी मैले जाडो बिदा बिताएँ, मनपर्ने व्यक्ति यस्ता सजिला शीर्षक हुन्थे । मचाहिँ पहिलादेखि नै लेख्न मन पराउने मान्छे । म छिटो–छिटो लेखेर दिन्थेँ । अनि खाली समयमा अरू साथीहरूलाई बाधा पुर्‍याउँथे होला त्यो नहोस् भनेर शिक्षकले मलाई अर्को पनि निबन्ध लेख्, अर्को पनि निबन्ध लेख् भन्नुहुन्थो । ४० मिनेटको सानो समयमा म तीनवटा निबन्ध लेख्थेँ । त्यसले पनि केही अभ्यास भयो होला । त्यसपछि मैले पत्रकारिता पढेँ ।

गान्तोकजस्तो ठाउँमा हुर्किंदा लेखक बन्छु भन्ने वातावरण नै थिएन । सिक्किम धनी त भयो तर त्यसबेला हामीलाई ‘एक्सपोजर’ चाहिँ थिएन । इन्टरनेट थिएन, केबल टीभी पनि सन् १९९३ मा मात्रै आएको हो । पछि लेखक हुन्छु भन्ने त कल्पनामै थिएन । हामी एकदमै पढ्थ्यौं । म संयुक्त परिवारमा हुर्किएको हो र वकिलको परिवारमा हुर्किएको हो । बुबा र आमा दुवै वकिल । आमाले अभ्यास गर्नुभएन । बुबा बेन्चमा पनि हुनुहुन्थो, न्यायाधीश पनि बन्नुभयो कुनै बेला । काका–काकी, उनीहरूको सन्तान सबै वकिल छन् । अभिभावकको पनि अलिकति आशा थियो होला म पनि वकिल हुन्छु कि भन्ने । त्यसकारण मेरो परिवारमा के थियो भने तर्क गरेर मलाई मनाउन सकिस् भने गर् भन्ने थियो । मलाई यो कुरा चाहियो त तर्क गर्, ‘फाइट’ गर् ।

तर तिमीसँग अधिकार पनि छ ?

बिलकुल । मलाई मानिससँग डर मान्ने, अनुशासनमा बस्ने भन्ने कहिल्यै पनि भएन मलाई । अनि मलाई पहिलादेखि नै ए यो अपारम्पाकिर हुर्काइ रहेछ भन्ने भयो र भित्तामा कोर्न पाउने, आज स्कुल जान मन परेन भनेर मलाई मनाउ भन्ने खालको हुर्काइ भयो ।

अहिले त पूरा परिवारको पैसा ‘एप’हरूमा हुँदो रहेछ । कसरी हुन्छ मलाई थाहा छैन । तर त्यतिबेला चाहिँ धेरै जस्तो मेरो साथीहरूको आफ्नो अभिभावकसँग पैसा माग्ने थियो । हाम्रोमा चाहिँ मैले पैसा लगेँ है भनेर लग्दा हुन्थ्यो । त्यो स्वीकार्य थियो । अनि मैले यो कुरा साधारण होइन भनेर थाहा पाएँ ।

तपाईंले आफू लेखक बन्छु भनेर कहिले सोच्नुभयो ? लेखनमा कसरी उत्प्रेरित हुनुभयो ? न्युयोर्कमा जागिर छाडेर बरालिँदा बुबाआमालाई कथा लेख्दै छु भनेर ढाँटेकोदेखि गान्तोक र कालिम्पोङमा आएर लेख्न बसेकोसम्मको अलिकति पृष्ठभूमि सुनौं न ?

न्युयोर्कमा एउटा ‘भिलेज बोइज’ भन्ने पेपर थियो । एक समयको एकदमै चर्चित पेपर तर म काम गर्दा अलि थिएन । म त्यसबेला ‘क्रियटिभ राइटिङ’ का लागि विश्वविद्यालय गएको थिएँ । म पत्रकारितामा ‘अन्डर ग्रयाजुएट’ भएँ अनि न्युयोर्क गएँ । यसो हेरेँ, पत्रकार भएँ भने त न्युयोर्कमा त अलिकति गरिबीमै बस्नुपर्ने रहेछ भन्ने भयो । अब ‘एड्भर्टाइजिङ’ गर्नुपर्यो, पैसा धेरै हुन्छ भनेर गरेँ । पत्रिकामा विज्ञापन र मार्केटिङको कुरा मलाईचाहिँ के लाग्थ्यो भने ठूलो कम्पनीलाई विज्ञापन बेच्यो भने मतलब छैन । तर, एउटा कुनाको बंगलादेशी रेस्टुराँलाई एउटा सानो विज्ञापन किन्न भन्दा मलाई लाग्थ्यो कि यो विज्ञापनले केही फाइदा हुने छैन बंगलादेशी रेस्टुराँलाई । तर आफूलाई पैसा, कमिसन चाहिने । केही समयपछि चाहिँ के गरेको होला यो भन्ने लाग्न थाल्यो । भोलि काम छ भने आज पेटमा आर्थिक रूपमा स्थापित नभएको रेस्टुराँ र दोकानलाई विज्ञापन बेचेर के गर्या ? यस्तै जीवन जिउन चाहेको हो त भन्ने भयो ।

म ज्याक्सन हाइट क्विन्सस्थित हिमालयन याक भन्ने रेस्टुराँमा पुगेको थिएँ । त्यहाँ राम्रो मःम पाउँछ । सांगीतक प्रस्तुति पनि त्यहाँ राम्रो हुन्छ । अनि मैले त्यहाँ एउटा नेपाली पत्रिका टिपे । पढ्न एकदमै गाह्रो भयो । त्यसले पनि मलाई के गर्‍यो भने– ए त्यसै पनि नेपाली मेरो जीवनको पृष्ठभूमिमा थियो । अब झन् खत्तम भएछ भन्ने भयो । १५ मिनेट लाग्ने कुरा पढ्न एक घण्टा लाग्यो । त्यसले मलाई ए तिमीले केही गर्नुपर्छ तिमीले आफ्नो भाषा बिर्सिएछौं जस्तो भन्ने पनि भयो । यस्तै धेरै कुराले गर्दा मैले काम छोडेँ ।

मैले अघि भने मेरो अभिभावक धेरै सहयोगी हुनुहुन्थ्यो तर २३ वर्षको छोरा कामै छोडेर घुम्न हिँड्छुभन्दा तीन–चार महिना त ठीकै छ तर हामी त भारतीय हो यस्तो काम त पश्चिमाहरूले गर्ने हो नि होइन । अनि परिवारबाट फोनमा के गर्दै छन् भन्ने कुरा आयो । मैलेचाहिँ उहाँहरूलाई अलिकति चुप गराउन लेख्दै छु भनेँ । कलेजको ‘रुममेट’ थियो । उसले तैंले पनि काम छोडिस् मैले पनि छोडेँ । म भारत आउँदै छु है भन्यो । अनि हामी भारतमा घुम्न थाल्यौं ।

उ ‘अकाउन्टेन्ट’ मान्छे अति जान्ने भए पनि लेख्न भने सक्दै नसक्ने मान्छे । तर पनि दुई घण्टा कम्प्युटरमा बसेर ‘ब्लग’ गथ्र्यो । उसले यस्तो–यस्तो हुँदै छ भनेर परिवारलाई भन्थ्यो । अनि मलाई ए लेख्न त मलाई यस्तो साह्रो पर्दैन भनेर फेसबुकमा सानो–सानो । बम्बई आयो, यता गयो, यस्तो भयो, उस्तो भयो लेख्न लागेँ । सामाजिक सञ्जाल एकदमै नकारात्मक पनि हुन्छ तर चिनेको मान्छेले धेरै प्रोत्साहन पनि गर्न सक्छ । हाउडेको कविता लेख्यो भने पनि साथीहरूले, परिवारले तँ त लक्ष्मीप्रसाद देवकोटा हुने रहेछस् भन्छन् । त्यस्तै खाले प्रोत्साहन आउँदा जब मेरो साथी फर्कियो, एउटा होटेलमा बसेर कथा लेख्न थालेँ । सेवा–सुविधा होटेलको नराम्रो भए पनि प्रकृति राम्रो थियो । इजरायलीहरू तीन वर्ष मिलिटेरी तालिम गरे भारत–नेपालतिर ‘ट्रेकिङ’ का लागि आउँछ नि । ६ महिना दिनभरि गाँजा खाएर बसिरहेको हुन्छ । एकदम मजा गरेर बसेको हुन्छ । त्यो राम्रो थियो कि थिएन थाहा छैन । तर लेखनचाहिँ निस्कियो । वरपर पार्टी गरिरहेको थियो । ‘द गोर्खाज् डटर’को सुरुवात यहीँ भयो । म हिमालयको मान्छे जहाँ पनि हिमाल छ भने म घरजस्तो महसुस गरिहाल्छु ।

समुद्रको छेउको मान्छेले समुद्र तीन घण्टा टाढा छ भने पनि सुँघ्न सक्छ भन्छ नि, त्यस्तै मलाई पहाड भनेपछि । अनि लेखन यात्राचाहिँ त्यसरी सुरु भएको हो ।

‘द गुर्खाज् डटर’ कथा संग्रह हो भने ‘ल्यान्ड ह्वेर आई फ्ली’ उपन्यास । तपाईंलाई सबैभन्दा बढी मनपर्ने विधाचाहिँ कुन हो ?

‘गुर्खाज् डटर’ लेख्दा मैले सोचेको थिएँ कि– छोटो कथा लेख्नुचाहिँ नोबल लेख्नुभन्दा सजिलो हो भनेर । हामीचाहिँ मान्छे जति व्यस्त भयो कथा पढ्छ नोबल पढ्दैन होला भन्ने तर त्यो होइन रहेछ । त्यसबेला मलाई केही थाहा थिएन । म लेख्न प्रयास गर्दै छु सानो कथा संग्रह लेख्छु भन्ने थियो । ‘गुर्खाज् डटर’ लेखेर सकियो । बुक डिल आयो । सम्झौतामा हस्ताक्षर भयो । त्यहाँदेखि ‘ल्यान्ड ह्वेर आई फ्ली’ लेख्दा त ए नोबल खेल्न त धेरै सजिलो रहेछ भन्ने भयो । छोटो कथामा तीन हजार अथवा चार हजार शब्दमा कथालाई अटाउनुपर्छ ।

तपाईंले सन् २०१२ मा ‘गुर्खाज् डटर’ लेख्नुभयो २०१३ मा विश्व चर्चित बन्नुभयो । हाम्रा दर्शकलाई टिप्स दिनुहोस् न कसरी लेख्ने ?

तपाईंलाई जुन विधा मनपर्छ, जुन शीर्षक मनपर्छ लेख्नुहोस् । बजारको बारेमा नसोच्नुहोस् । पाठकको बारेमा नसोच्नुहोस् । तो कुरा लेख्नुहोस् जुन तपाईंले लेख्दा आनन्द लिनुहुन्छ । यो नसोच्नुहोस् ए मैले चौसारीको बारेमा लेखे भने पश्चिमा मान्छेले मन पराउला किनभने उनीहरूले कहिल्यै पनि नसोचेको कुरा हो यो । यस्तो नसोचेर आफूले आनन्द लिएर लेख्नु भन्छु मचाहिँ ।

‘ल्यान्ड ह्वेर आई फ्ली’लाई– दी इन्डिपेन्डेन्टले ‘समुदाय विशेषको भाषा र परम्परामाथि सालीन र चलाखीपूर्ण व्यङ्ग्यले पराजुलीको लेखन स्वादिलो बनेको छ... अनुचित रीतिहरूमाथि प्रेमपूर्ण घोचपेचले उनको लेखन चातुर्य दर्शन्छ ।’ भनेको छ । यस्तै द गार्जियनले ‘ताजा र उन्मुक्त’ भनेको छ । द हिन्दुस्तान टाइम्सले ‘वर्षकै सर्वोत्कृष्ट उपन्यासमध्येको एक’ भनेको छ । धेरै अन्तर्राष्ट्रिय मिडियादेखि लेखक र समीक्षकले तपाईंको प्रशंसा नै गरेका छन् । अरू अन्तर्राष्ट्रिय जगतले तपाईंलाई कसरी चिन्छ ?

मलाई एउटा नेपालीभाषी भारतीय लेखक र हिमालयको लेखक भनेर चिन्छ जस्तो लाग्छ । एउटा लेखका लागि सबैभन्दा गाह्रो कुराचाहिँ कसैले किताबै पढिदिएन भने हो । बरु किताब पढेर मन नपराओस् । बरु किताब पढेर मलाई यो पात्रले यसो गर्‍यो मन परेन, यो पात्रलाई कनि यसो गराएको भनेर तर्क गरोस्, अरूसँग झगडा गरोस् भन्ने लाग्छ मलाई ।

अब र्यापिड फायर–

लेखनमा मज्जा : कथा कि उपन्यास ?

- उपन्यास ।

साहित्य के हो : स्वान्तः सुखाय (लेखकको आफ्नै सुख) वा समय र परिवेशको अभिलेख ?

- समय र परिवेशको अभिलेख ।

पात्र छनोट : भूमिका सुहाउँदो कि पाठकको रुचि ?

- भूमिका सुहाउँदो ।

लेखनमा के महत्त्वपूर्ण : अध्ययन कि अनुभव ?

- दुवै ।

कुन बढी महत्त्वपूर्ण : पाठकलाई लेखक कि लेखकलाई पाठक ?

- दुवै ।

लेखन सफलताको मापन : पुस्तक बिक्री कि पाठकको प्रतिक्रिया ?

- पाठकको प्रतिक्रिया ।

भाषामा मिठासपन : अंग्रेजी कि नेपाली ?

- नेपाली ।

तपाईं रोजाइ : पूर्वीय समाज कि पश्चिमा समाज ? 

- दुवैको कम्बिनेसन ।

तपाईंको दर्शन : आस्तिक कि भौतिकवाद ?

- आस्तिक

अगस्त्य, मनसा, भगवती प्रशान्ति कि चित्रलेखा ?

- चित्रलेखा

को प्यारो : आफ्नै किताबका पात्र कि नातागोता ?

- नातागोता नै प्यारो । तर, साह्रो प्रश्न । सही प्रश्न ।

दुई पुस्तकमध्ये एक छान्नुपर्दा : ‘द गुर्खाज् डटर’ कि ‘ल्यान्ड ह्वेर आई फ्ली’ ?

- दुई नानीमा एउटा छान्नु भने जस्तै हो । ‘द गुर्खाज् डटर’ । पहिलो भएर होला ।

मानिसको दुःखको मुहान के हो : अभाव कि मानसिकता ?

- दुवै ।

कुन जीवन रमाइलो : एक्लो, ब्रह्मचर्य कि घर गृहस्थी ?

- एउटा रिलेसनसिपमा भएको तर नानी नभएको । त्यो भनेको कुन हो ?

नेपाली लवज : सिक्किम–दार्जिलिङतिरको मीठो कि नेपालको ?

- तपाईंहरूको नेपाली ‘सो रिफाइन’ ।

आनन्द कहाँ छ : राष्ट्रिय पहिचान (नेसनल आइडेन्टिटी) मा कि ग्लोबल सिटिजनमा ?

- सजिलो त ग्लोबल सिटिजन ।

तपाईंलाई के भनेको राम्रो : नेपाली भाषी वा भारतीय ?

- नेपाली भाषी भारतीय ।

यदि पुनर्जन्म हुने भए : कुन देशमा जन्मन मन छ ?

- जापान ।

एक शब्दमा

भानुभक्त

- आदिकवि ।

मोतिराम भट्ट

- भयंकर ।

लक्ष्मीप्रसाद देवकोटा

- उहाँको र मेरो जन्म दिन एकै दिन ।

गोपालप्रसाद रिमाल

- पढ्न पर्ने पढेको छैन ।

पारिजात

- इंग्लिस ट्रान्सलेसन चाहिन्छ ।

विश्वेश्वरप्रसाद कोइराला

- नाम सुनेको ।

लीलबहादुर क्षत्री

- पढेको छैन ।

इन्द्रबहादुर राई

- भगवान् ।

अनुराधा कोइराला

- अर्कै खालको भगवान् ।

नारायण वाग्ले

- फेनोमिनल ट्यालेन्ट

अरविन्द केजरिवाल

- रोचक ।

नरेन्द्र मोदी

- प्रधानमन्त्री ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.