काठमाडौं । आजको टफटकमा हामीले यस्ता पात्रलाई निम्त्याएका छौं, जसले नजिकबाट राणा शासनदेखि राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको उदयसम्म देखे-भोगे । ‘सिंहदरबार’ र हालसालै ‘किङ्डम लस्ट’ भन्ने पुस्तकका लेखक एवं राजनीतिज्ञ, स्वयं राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाति हुन्- सागरशमशेर जबरा ।
कस्तो थियो राणा शासनकालको नेपाल ? कसरी ढल्यो राणा शासन ? कसरी जन्मियो खुकुरी दल ? दिल्ली सम्झौतामा के-के भएको थियो ? बीपीमाथि कसरी भएको थियो हत्या गर्ने प्रयास ? बीपीले किन चलाए गोली ? राणा प्रधानमन्त्री भीमशमशेरका सन्तान सुवर्णशमशेर आफ्नै परिवारविरोधी आन्दोलनमा किन लागे ? कस्तो थियो त्योबेलाको समाज ? राजतन्त्र अन्त्य हुनुको प्रमुख कारण के हो ? व्यवस्था फेरिए पनि किन फेरिएन मुलुकको अवस्था ? यतिका धेरै आन्दोलन र क्रान्तिले पनि किन फेर्न सकेन शासकको मनोवृत्ति ? नेपाली राजनीतिक इतिहासमा के-कस्ता कमजोरी भए ? यी र यस्तै प्रश्न जबरासामु राखेका छौं ।
विसं. १९९४ सालमा काठमाडौंको बबरमहल दरबारमा जन्मिएका जबरा, राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाति, तत्कालीन कमान्डर इन चिफ बबरशमशेराका नाति र मृगेन्द्रशमशेरका छोरा हुन् । उनी संसारकै प्रसिद्ध शैक्षिक प्रतिष्ठान अक्सफोर्ड युनिभर्सिटीबाट कानुनमा स्नातक गर्ने पहिलो नेपाली हुन् ।
तत्कालीन द्वन्द्वरत नेकपा माओवादी र सात दलहरुबीच १२ बुँदे दिल्ली सम्झौता हुँदा उनी नेपाली कांग्रेसको विदेश विभाग प्रमुखको भूमिकामा थिए । नेपाली कांग्रेसमा आवद्ध जबरा अहिले भने सक्रिय राजनीतिमा छैनन् । तर उनका कान्छा छोरा उदयशमशेर राणा भने नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
तपाईंको बाल्यकालबाटै कुराकानीको सुरुवात गरौं । विक्रम संवत् १९९४ सालमा ८५ वर्षअगाडि बबरमहल दरबारमा जन्मिनुभयो र त्यहीँ हुर्किनुभयो । तपाईंका हजुरबुबा बबरशमशेर जबरा, जो दाजु मोहनशमशेर जबरापछि श्री ३ हुने रोलक्रममा हुनुहुन्थ्यो । तपाईंका बुवा मृगेन्द्रशमशेर जबरा आमा रुक्मिणी । तपाईं बुबाआमाको सातौं सन्तान । राणाहरु सुखसयलमा हुर्किएको बढेको भन्ने गरिन्छ । बाल्यकाल कस्तो थियो ?
धेरै रमाइलो थियो । सुख थियो तर हरेक राणा परिवारको उही जीवनशैलीचाहिँ हुँदैन थियो । हाम्रा हजुरबुबा चन्द्रशमशेरको पनि ‘कम्फर्ट’ त सबै किसिमको हुन्थ्यो । काम गर्ने मान्छे, बिस्तारा सबै ‘कम्फर्टेबल’ हुन्थ्यो । तर विसासिता भन्नेचाहिँ हामीलाई निषेधित नै थियो । बबरशमशेरले चाहिँ विलासिता चिज कसैलाई पनि गर्न नदिने भन्नुहुन्थ्यो । यो बजेटमा राख्ने भन्ने थियो । त्यसबेला पैसा त कमै पाइनथ्यो । महिनाको दुई-तीन रुपैयाँ लिएर किन्न गइन्थ्यो । त्यो पनि धेरै हुन्थ्यो । खानापछि खाने ‘पीबी’ दुईवटा मात्रै पाइन्थ्यो । त्योभन्दा बढी अनुमति थिएन । यस्तो किसिमको अनुशासनमा उहाँले आफूलाई पनि राख्नुभएको थियो । हामीलाई पनि राख्नुभयो तर पूरा ‘कम्फर्ट’ थियो । हामीलाई पनि राख्नुभयो ।
त्यो बेला विलासितता भनेको के थियो ? जस्तो-अहिले महँगा समान, महँगा गाडी आदि इत्यादि छन् । त्योबेला उपलब्ध के थियो ?
विलासितता भनेको धेरै हुन्छ नि । कत्तिका अनेक किसिमका श्रीमती हुन्थे । खानामा दुई-तीन किसिमका मासु । हरेक छाकमा मासु । हाम्रोचाहिँ एक किसिमको हुन्थ्यो ।
हामीचाहिँ कडा अनुशासनमा थियौं । बिहान गएर कसरत गर्नैपर्ने । दूध खाने यत्ति भनेर मात्रा मात्रामा गनिन्थ्यो । अरु ठाउँमा थिएन । मेरा हजुरबुबा पनि खेलाडी नै हुनुहुन्थ्यो । उहाँले आफूलाई धेरै ‘फिट’ राख्नुभएको थियो ।
राणा परिवारमा छोराछोरीहरू बिहान र बेलुका बाबुआमालाई दर्शन गर्न जाने चलन हुन्थ्यो भनिन्छ । हजुरबुबा, हुजुरआमासँग बाबुआमासँग छोराछोरीको सम्बन्ध औपचारिक मात्र हुन्थ्यो कि आत्मीय पनि ?
त्यस्तै थियो । पाँच जनालाई दाजुभाइ, दुईजना दिदीमध्ये म कान्छो । म आउँदा अलिकति परिवर्तन भइसकेको थियो । त्योभन्दा अगाडि चाहिँ दर्शन गर्न जाने । हामीलाई बढाउने दिदीहरुले वा बुबुहरुले (धाईआमा जस्तै) । बुबुहरु बसे भने उहाँहरुले हेर्ने हो । दैनिक जीवनमा सुताउने, खुवाउने सबै उहाँहरुले गर्ने हो ।
म चार महिनाको हुँदा मेरी दिदी बबरमहलमा आउनुभयो । मेरा नाति-नानिनी, नाति उदयशमशेरलाई समेतलाई उहाँले हेर्नुभयो । त्यस्तो एउटा आमाबराबरको हुनुहुन्थ्यो । आमा-बाबुसँग जाने कम हुन्थ्यो । हरेक दिन त दर्शन गर्न जानैपर्ने बुबा, मुमा, हजुरबा र हजुरआमालाई । बिहान साँझ दर्शन गर्न जाने । खाना सँगै खाने ।
ठूलो टेबलमासँगै बसेर खाने ?
टेबल त कहाँ भुइँमै बसेर खाने नि । भुजा खाँदा त भन्सामा लहरै बसेर खाने हो । हाम्रो ठूलो परिवार थियो । पिरामा बसेर खाने हो । १५ जनाको परिवार थियो होला हाम्रो । बबरमहल दरबारको ‘ग्राउड फ्लोरमा’ मा थियो भान्सा । सुत्ने कोठाहरुले चाहिँ माथिल्लो तला र बीचको तलामा थियो ।
स्याहार सुसार गर्नेको संख्या कति थियो ?
धेरै थियो । ८०-९० जना होला त्यो सबै गरेर । भित्रै मात्र ।
तपाईंले मसँग कुराकानीका क्रममा भन्नुभएको थियो, ‘हाम्रो जीवन-रेजिमेन्टेड अर्थात् कडा-अनुशासनयुक्त थियो । बिहान ठीक १० बजे खाना खान पुग्नुपर्ने । बबरशमशेर १० बजे माथिबाट टकटक हिँडेर सवारी हुने । त्यति बेलासम्म नपुगे बडो सकस पर्ने ।’ यसलाई अलि बुझाइदिनस् न, मेरा दर्शकलाई चाख लाग्न सक्छ ।
एकमदम । १० बजे नै । हाम्रा हजुरबुबा १०ः३० मा माथिबाट आउने । त्यो बेलासम्म हामी सबै बसिसकेको हुनुपर्ने खाना खानका लागि ।
टकटक हिँड्ने, जुँगा भएको । डरलाग्दो व्यक्तित्व लाग्थ्यो होला होइन ?
देख्दा डरलाग्दो हुनुहुन्थ्यो । भित्र कोमल हुनुहुँदो रहेछ, पछि थाहा भयो । हामीसँग पनि बडो कडा हुनुहुथ्यो, सबैसँग । फर्केर बैंगलोर गएर बसेपछि उहाँको सही स्वाभाव बाहिर आयो । सबै थरथर थिए, त्यो बेला ।
जतिसुकै सम्राट, कठोर भए पनि नाति-नातिना देखेपछि त मान्छे बालककै स्वभाव देखाउँछन् नि होइन ?
हुँदो रहेछन् । हाम्रा दाइहरुलाई त्यसरी खेलाउने गर्नुहुन्थ्यो ।
कोसँग बढी मिल्नुहुन्थ्यो बाल्यकालमा तपाईं ?
म त बुबा मुमासँग । म कान्छो छोरा । बुबाआमासँग बढी । हजुरबुबा र हजुरआमासँग अलि औपचारिक । कान्छो भएकाले सबैको प्यारो भनौं न । दाजुहरुले पनि त्यसरी नै हेर्ने ।
त्यतिबेलाको काठमाडौं कस्तो थियो ? बबरमहल दरबारबाट बाहिर हेर्दा के-के देखिन्थ्ये ? बाहिर निस्कँदा कस्तो दृश्य देखिन्थ्यो ?
मान्छेबाट पूरा टाढा त हुने होइन हामी । किनभने त्यहाँ काम गर्नेहरु चाहिँ प्रधानसेनापति भइसकेपछि आठपहरिया पनि हुन्थे । उनीहरु पहाडबाट आएका हुन्थे । बैठक र कोठामा काम गर्ने काठमाडौंका हुन्थे । पकाउने ब्राह्मणहरु हुन्थे । उनीहरु बाहिरका आएर त बच्चासँग कुरा गर्थे नि । हामी ८-१० वर्ष भएपछि सबै बुझिन्थ्यो नि । लबज बोलिचाली सबै बुझिन्थ्यो । खेलकुद पनि गर्थ्यौं । मसँग हुने आठपरिया राम्रो खेलाडी हुनुहुथ्यो । उनले खेलाउँथे, सिकाउँथे । जिम्न्यास्टिक इत्यादि । त्यो बेला मेरो जिन्दगी सबैभन्दा बढी गोठमा बितेको छ ।
कति गाईवस्तु थिए ?
गाईवस्तु धेरै थिएनन् । दहीदूध आफूलाई पुग्ने । १५-२० वटा कति होला । ठूलो परिवार थियो नि त ।
घोडा कति थिए ?
घोडाचाहिँ ८-१० वटा होला । घोडा चढ्नचाहिँ हजुरबुबा सौखिन । हरेक बिहान घोडा चढेर घुक्न जाने टक-टक । कालो, ठूलो घोडा । हामीलाई पनि चढ्न अनिवार्य थियो । त्यो कसरतका रुपमा । सबैभन्दा हामीले सम्झने अहिले नभएको बगैंचा हो ।
दरबारबाट बाहिर हेर्दा त सबै खाली थियो होला नि ? त्यसबेला बबरमहलमा त दरबारबाहेक केही थिएन होला ?
दरबारहरु देखिन्थ्यो । धरहरा देखिन्थ्यो । हिमाल स्पष्ट देखिन्थ्यो । राति पनि देखिन्थ्यो ।
बबरमहलको सडकमा गाडी कत्तिको देखिन्थ्यो ?
६०-७० वटाभन्दा गाडी थिएन क्यारे ।
मान्छेहरू, बटुवाहरू ?
म बाहिर घोडा चढ्न जान्थें नि । त्यो बेलामा त देखिन्थ्यो नि । म खेल्थें । फुटबल खेल्थें । त्यहाँको अरू चाकडीवाला भन्थें, उनीहरूसँग खेल्थें ।
खेल्न तपाईं कहाँसम्म पुग्नुहुन्थ्यो ? खेल्न कहाँसम्म जान छुट थियो ?
म टुँडिखेलमा गएर खेल्थें ।
त्योभन्दा यताउता बरालिन पाउनुहुन्थेन ?
बरालिन त १५, १६, २० वर्ष भएपछि त, कोही–कोही दाइहरू त धेरै बरालिएका पनि थिए दरबारको आँखा छलेर । कलेजमा गइसकेपछि छुट थियो । कलेजमा भरतशमशेर, जगदीशशमशेरले फुटबलको लिडरसिप नै लिनुभयो ।
लङ टेनिसको खेलाडी कुनबेलामा बन्नुभयो ?
मेरो बुबा च्याम्पियन । मभन्दा बेटर । अहिलेका सबै खेलाडीभन्दा बेटर होलाजस्तो लाग्छ मलाई । इन्डियामै टप सिक्स, सेभेन हुनुहुन्थ्यो । उहाँ खेल्नुहुन्थ्यो । एउटा कोच थियो, उहाँहरू खेल्नुहुन्थ्यो । बच्चा खेल्दनथे त्योबेलामा । हामी फुटबल खेल्ने गर्थ्यौं । टेनिस त खेल्नुहुन्थ्यो । देख्थें र एक–दुई सर्ट यस्सो हान्थें । सात सालसम्म हामीलाई त दरबारभित्रै पढाउँथे । सात सालपछि मलाई पढ्नका लागि बाहिर पठाइयो ।
राणा शासनमा राणाहरूको एक किसिमको प्रोटोकल थियो सरकारी जागिर खाएका र नखाएकाहरूको कस्तोखालको प्रोटोकल थियो ?
सबैजसो राणाहरूले जागिर पाएका थिए । केही न केही, कहीँ न कहीँ । आर्मीमा अनिवार्य थियो क श्रेणीका राणाहरूलाई । अरू राणाहरूलाई पनि थियो ।
तपाईंका बुबा नेपालमा एमए गर्ने तेस्रो र राणा खलकका पहिलो व्यक्ति हुनुहुन्थ्यो । तपाईं अक्सफोर्ड युनिभर्सिटीबाट स्नातक गर्ने पहिलो नेपाली हुनुहुन्छ । तपाईंको परिवारमा शैक्षिक यात्रा कसरी प्रादुर्भाव भएको रहेछ ?
मेरा बुबाले हामी सातै जनालाई प्राथमिकता दिएर पढाउनुभएको हो, जति सम्भव थियो त्यो बेलामा । छोरीहरूलाई पढाउन धेरै प्रतिबन्ध थियो । बाहिर जान पाउँदैनथिए । त्योभित्र द बेस्ट टिचर हामीकहाँ आएर हाम्रो परिवारलाई र बाहिरका १५–२० जनालाई पढाउनुहुन्थ्यो । बुबाले कलकता बोर्डबाट एमए गरिबक्स्या हो । दाइहरू एकजना अलाहवाद जानुभयो, एकजना बम्बै जानुभयो । पछि कलकत्ताको प्राथमिकता अलि घटेर गयो । सेन्ट जेभियर्स बम्बे, अलाहबादको ।
प्रारम्भिकका लागि बबरमहलभित्रै विद्यालय थियो ?
विद्यालय थिए ।
यो चेत मृगेन्द्रशमशेरको परिवारमा मात्रै आयो, अरूमा किन आएन ?
उहाँ आफैं पढेको । हजुरबुबा पढ्न पढाउनमा राजी हुनुहुन्थेन । पशुपतिशमशेरहरूको परिवारमा पनि पढाउनुपर्छ भन्ने चेत आएको थियो । कहीँकहीँ अरू पनि होलान् । चेत आएकै हो । तर हामीमा चाहिँ बुबा आफैं पढेको हुँदा पढाउनैपर्छ भन्ने थियो । उहाँको बुबासँग बाझेर पनि पढाउने भनेर मान्छेहरू राखिबक्स्या थियो ।
२००७ सालमा प्रजातन्त्रको घोषणापछि तपाईंका जेठा दाजु भरतशमशेरले गोरखा दल अझ त्यसलाई खुकुरी दल भनेर गठन गर्नुभयो ।
उहाँले खुकुरी दल भन्नुभा हैन । त्यो त बाहिरबाट भनेको मात्र हो । उहाँले बीपीलाई खुकुरी प्रहार गरेपछि खुकुरी दल भनिएको हो । तर औपचारिक गोरखा दल हो ।
गोरखा दल राणा शासनको अन्त्यबाट रुष्ट बनेकाहरूले प्रजातन्त्रको वकालत गर्नेविरुद्ध खोलिएको एउटा संगठन थियो । तपाईंको दाजुले किन गठन गरेको त्यो दल ?
होइन । त्यो बेलाको नेपाली कांग्रेसको एकमात्र मत, विल पावरफुल पार्टी थियो । अपोजिसन पनि हुनैपर्छ । त्यो बेलाको नेपाली कांग्रेस इन्डियाप्रति धेरै ढल्केको थियो । धेरै प्रो–इन्डिया कामहरू भए त्यहाँ । नोक्सानी भयो । नदीको कुराहरू चल्छ– कोशी, गण्डकीको कुराहरू थियो । भारतबाट मिलिटरी फोर्स ल्याएर राखियो । एन्टी नेसनल कुराहरू धेरै भएको छ । हामीलाई लाग्यो एन्टी नेसनल । दुनियाँलाई पनि लाग्यो । हाम्रो आर्मी त पर्याप्त थियो नि । मिलिटरी मिसन इन्डियाबाट किन ल्याउनुपर्यो ? र अर्को यहाँ कांग्रेसले निकै थिचोमिचो गर्यो पावरफुल भएको हुनाले । माथिल्लो तहबाट होइन तर कांग्रेसका स्थानीय नेताहरूले ।
२-४ वर्षमा त्यति पावरफूल भइसकेको थियो कांग्रेस ?
पावरफुल, पावरफुल । प्रजातन्त्र आइसकेपछि त, राज्य उसको भइसकेपछि त । त्योबेलामा राज्यको अंगमा आइसकेपछि त पावरफुल देखियो । त्यसमा ‘एन्टी नेसनल फोर्स’का रूपमा आएको हो । नत्र त भरतशमशेर को हो र ? मोहनशमशेर, मृगेन्द्रशमशेर अरू हुँदा-हुँदा, भरतशमशेर त तल्लो तहको नि रिलेसनमा ।
त्यो गोरखा दल २०१५ सालको आमनिर्वाचनमा गोर्खा परिषदका तर्फबाट १९ सिट जितेर संसदको दोस्रो ठूलो पार्टी पनि बन्यो....
अर्को कुरा पनि भनौं- गोरखा दलका प्रेसिडेन्ट त रणधीर सुब्बा भन्ने थिए । पछि त गोर्खा परिषद् बन्यो । उनी त इन्डियामा दार्जिलिङको राजनीतिमा संलग्न भएर आएको । अर्गनाइजेसनका बारेमा ज्ञान पूरा थियो । उनी प्रेसिडेन्ट भए । धेरै कडा प्रेसिडन्ट, सानोतिनो प्रेसिडेन्ट होइन । कोही-कोही त कामै नगर्ने प्रेसिडेन्ट हुन्छ नि त ।
तपाईंका जेठा दाजु भरतशमशेर र बीपीसँगको टसलबारे केही भनिदिनुस् न । भरतशमशेरको दलले बीपीको हत्या प्रयास गरेको थियो ? आक्रमणको प्रयास भएको थियो ?
कसले कसलाई गरेन । भरतशमशेरलाई त्यो दिन- यो बुझ्नुपर्ने कुरा छ । यो कुरा इतिहासमा गलत तरिकाले व्याख्या भएको छ । गोरखा दलले त्योबेलामा काठमाडौं वरिपरि सबै लोकप्रियता पायो । काँठको एरिया सबै उनीहरुको भयो । नेवार–बाहुन भर्सेस अरु भन्ने वातावरण पनि उत्पन्न भयो । त्यसमा भरतशमशेरले चाहिँ बाहिरको फोर्स जम्मा गरेर पार्टी फर्मेसन गर्ने भनेर टुँडिखेलमा एउटा आमसभा गर्दा यति मानिस थिए कि धेरै मानिस देखेर नेपाली कांग्रेस तर्सियो । ए यो के हुन लाग्यो ? भन्ने डर भयो उनीहरुलाई । डर भएपछि भरतशमशेरलाई एरेस्ट गर्नुपर्छ भनेर नेपाली कांग्रेसभित्र कुरा भयो । बीपीले आफ्नै किताब आत्मवृत्तान्तमा लेख्नुभाछ ।
त्यतिबेला बीपी गृहमन्त्री हुनुहुन्थ्यो । उहाँले लेख्नुभएको छ- कि मलाई यस्तो किसिमले खबरहरु आए कि हामी आजै ढल्छौं, भोलि नै ढल्छौं भन्ने भयो । समात्नैपर्छ भन्ने भयो । मैले त्यसरी समातेको हुँ । त्यस्तो रहेन छ ।
त्योबेलामा गोर्खा दलका तर्फबाट बीपीमाथि आक्रमणको प्रयास भयो त्रिपुरेश्वरमा ?
कसरी भयो भन्दा– बिहान सबेरै ४ बजे भरतशमशेरलाई थुन्न आए र लिएर गए । हनुमानढोकाको प्रहरीमा राखियो । त्यहाँ हुल जम्मा भयो बिहान-बिहान । भरतशमशेरका विरोधीहरु धेरै जम्मा भएर हल्ला भएपछि उहाँहरुलाई सुनधाराको कारागारमा राखियो । ११/१२ बज्न लाग्यो । त्यसपछि काँठ क्षेत्रका सबैले भरतशमशेर समातिएको कुरा सुने । बिहान ४ बजे समातियो ५, ६, ७ बजे भात खाइवरी यहाँ आए । आएपछि त्यो जेलको बाहिर जम्मा भए । जेललाई फोडेर हाम्रा नेतालाई भेट्छौं भनेर उनीहरु लागे । संयोगवस त्यो जेलर पनि भरतशमशेरको भक्त नै थियो । उसले निकालिदियो ।
त्यसपछि एउटा ग्रुपले भरतशमशेरलाई काँधमा हालेर टुँडिखेलमा लगे । ठूलो भिड टुँडिखेलमा । धेरै संवेदनशील समय थियो । त्रिपुरेश्वरमा बस्नुहुन्थ्यो गृहमन्त्री बीपी । अर्को एउटा ग्रुप बीपीको घरतिर गयो । गृहमन्त्रीको ठूलो घर थिएन । सानो घर । अफिस एउटै । त्यहाँ गएर आक्रमण गरेको हो । खुकुरी लिएर गए । गोली चलेन रे । बीपीको एउटा बन्दुक थियो रे । त्यो चलाउन थालेको, चलेन रे । त्यहाँबाट बीपी माथि जानुभयो । हुल भर्याङ चढेर वीपी भएको ठाउँमा गयो । वीपीले सानो पेस्तोल राख्नुभएको थियो । त्यो टक्क हानेपछि एकजना ढलेर मर्यो, दुईजनालाई गोली लाग्यो । अनि डरले भीड त्यहाँबाट गयो । त्यसपछि कांग्रेसको रक्षा दलको फोर्स आइहाल्यो र परिस्थिति नियन्त्रणमा लियो । टुँडीखेलमा ठूलो आन्दोलन भएको थियो । आर्मीमै प्रवेश गर्छ कि भन्ने थियो ।
भरतशमशेरको नेतृत्वमा प्रतिक्रान्तिस्वरुप नेपालभर आतंक मच्चिएको थियो त्यतिबेला । देशभर अराजकता फैलियो । घरघरमा लुटपाट हुन थाले....
उल्टो । लुटपाट कसले गथ्र्यो भने कांग्रेसले । कांग्रेस पस्यो भनेर गाउँमा भन्थ्यो । कुखुरा लुकाओ भन्थे । खुकुरी दल भनौं, हामी नै त्यसरी हेथ्र्यौं ।
जनताले भरतशमशेरको गाडी पनि जलाए हैन ?
त्योबेलामा जलाएकै हो । त्यही एकैदिनमा जलाएको हो । त्यो बेला प्रजातन्त्रको विपक्षमा हो कि प्रजातन्त्रको अधिकार प्रयोग गर्नलाई गर्न लागेको हो । प्रजातान्त्रिक अधिकार, शान्तिपूर्ण आमसभा यो त प्रजातन्त्रको अंग हो । त्यसलाई बन्द गरेर कोहीलाई थुन्छ भने, अनि कसले कसलाई गरेको भन्ने ? कसले कसलाई मार्न गयो, गल्ती खोज्नुपर्छ । बीपीले आफैं मार्नुभएको छ । त्यसैले गोर्खा दल, गोर्खा परिषद्लाई प्रजातन्त्रविरोधी भन्ने पूर्णरुपमा गलत हो ।
तपाईंको बाल मस्तिष्कमा राणाहरुको शासन अन्त्य हुँदा के कुरा खेलेको थियो ? तत्कालीन कांग्रेसले सशस्त्र आक्रमण सुरु गरेपछि बबरमहलमा के कस्ता चर्चा हुन्थ्ये ? कांग्रेसलाई राणाहरुले कसरी चिन्थे ?
अब त्योभन्दा अगाडिदेखि नै, बबरमहलमा हुँदैखेरि प्रजातन्त्र आउनुभन्दा अगाडिदेखि ठूलो स्वरले कांग्रेसको भीड चलेको, कराएको टुँडीखेलदेखि बबरमहलसम्म आवाज आउँथ्यो । यो के भएछ भन्ने हुन्थ्यो । यी सबै कुरा हुन्थे । अब राज्य गयो भन्ने कुरा गयो । त्यति ध्यान दिन गर्न सकिन्नथ्यो । बच्चासँग कुरा लुकाउँथे । बच्चाहरुलाई अहिले जति सुनाइन्छ नि, त्यस्तो एक्सपोज हुँदैनथ्यो ।
जब म स्कुल गएँ, मुक्तिजस्तो भयो । त्यस्तो अनुभूति भयो मलाई । म खेल्थें, दौडन्थें । म स्कुलमा धेरै पपुलर थिएँ । कुनै राज्य गयो भन्ने भएन, बबरमहल त थियो नि । बबरमहलमै बसियो, खाइयो । त्यति हाम्रो जीवनमा फरक परेको थिएन । पछि फरक पर्यो । ग्राजुअल्ली त्यस्तो यो गयो, त्यो गयो भन्ने हामीलाई थिएन । हाम्रा बुबाहरुलाई, बाजेहरुलाई त अवश्य थियो । राज्य गरेर बसेका मान्छेहरुलाई ।
राजा महेन्द्रको ‘कू’ पछि तपाईंहरु नेपाली कांग्रेसमा लाग्नुभयो । वीपी र भरतशमशेरबीच २०१५ सालअघि कस्ता कस्ता टसल परेका थिए ? अनि त्यो राजनीतिक विरासतलाई कसरी कांग्रेसमा गाभ्न तयार हुनुभयो ?
भरतशमशेरलाई विपक्षी नेता बनाउने वीपी हो । त्योबेलाको संविधानमा विपक्षी नेता भन्ने नै थिएन । पहिलो वर्षमा चाहिँ पहिलो विपक्षी नेता मेरा बुबा मृगेन्द्रशमशेर । उहाँले पनि संसदमा जितेर आउनुभएको थियो । त्योपछि भरतशमशेरर बीपीसँग क्लोज हुनुभो । त्यो बेलाको पार्लियामेन्ट जसरी भल्यो, त्योबेलादेखि अहिलेसम्म भएको छैन । त्यो बेला अन्य संस्थाको तुलनामा पार्लियामेन्ट राम्रोसँग चल्यो । बीपीले लेख्नुभएको छ- इन्डियामा नेहरुजीका पालामा पार्लियामेन्ट जति राम्रो थियो, हाम्रो तुलना गर्न सकिनेछ । हाम्रो बबरमहलभित्र नै १८, १९ जना थिए, उनीहरुलाई बाहिरबाट मान्छेहरु ल्याएर शिक्षित गरिन्थ्यो । रणधीर सुब्बाले यसरी गर्नुपर्छ, उसरी गर्नुपर्छ भन्थे ।
पछि यताको टसल बीपी र मातृकातिर गयो नि ? यसको भित्री पाटो केही ?
त्यो त पहिलेदेखिकै अलि-अलि टस्सल थियो क्यारे । बीपी जनताको मान्छे । जनतासँग भिजेको मान्छे । जनतासँग सम्पर्क राख्ने जनताको नेता हो । मातृकाचाहिँ अलिकति राजाले राखेको या इन्डियाले राखेको । त्यो भिन्नता थियो । उहाँहरुबीच टसल हुनुमा त्यही थियो ।
सुवर्ण शमशेर नेपाली कांग्रेसको संस्थापक नेता । आफैँले खर्च गरी राणाविरोधि आन्दोलनमा होमिएको व्यक्ति । उहाँमा लोकतान्त्रिक चेत आउनुको कारण के हुन सक्छ ?
आउँदोरहेछ । सुवर्णशमशेर, महावीर शमशेरहरुलाई त पहिले निकालिएको हो नि । शब्द नै सी राणाहरु भन्ने थियो । उत्तराधिकारीको भूमिकामा थिएनन् । जुद्धशमशेरका पालामा वर्गीकरण भएको थियो । जुद्धशमशेरभन्दा अगाडि अरु कुरामा प्रतिबन्ध थिएन, प्रधानमन्त्री मात्र बन्न नसक्ने भन्ने थियो । ल्याइते र ब्याइते भनिन्थ्यो त्योबेला, दुईवटैबाट बन्न सक्थे । जुद्धशमशेरका पालामा सीलाई हटाएर ए मात्रै उत्तराधिकारीको भूमिकामा बस्यो । ‘सी’मा सुवर्णशमशेर, महावीर शमशेर र अरु पनि परे । हिरण्यशमशेर पनि पर्नुभयो । उहाँहरुलाई काठमाडौंभित्र नआउ भनेर बाहिर पठाइयो । सम्पत्तिचाहिँ जफत गरिएको होइन ।
सुवर्णशमशेरमा अन्याय भएपछि चेतना आएको होइन, उहाँ प्रजातान्त्रिक हुनुहुन्थ्यो । महावीरशमशेरचाहिँ बदलाको दृष्टिकोणले लागेका हुन् । तर, सुवर्णशमशेरचाहिँ होइन ।
तत्कालीन राजा महेन्द्रले आफूहरुको सम्पत्ति बदनियतपूर्ण तरिकाले अधिग्रहण गरेको तपाईंहरुको गुनासो हो ?
हाम्रो भनाइ हो । गुनासो पनि हो, भनाइ पनि हो । ३६ वटामध्ये ६ वटा दरबारलाई छानी छानीकन अधिग्रहण गरियो । पारिवारिक रुपले चन्द्रशमशेरको परिवारको । मोहनशमशेर र बबरशमशेर र शंकरशमशेरको गरियो । दुईजना सुवर्णशमशेर र महावीरशमशेर कांग्रेसमा लागेका हुनाले । एउटा सीता महारानीचाहिँ एक्लै बस्नुहुन्थ्यो उहाँ । यी ६ वटा लिइएको हो, अरु होइन । अधिग्रहण त्यसप्रकारले भएको हुनाले हामीलाई लाग्छ, त्यो हुकुम प्रमांगीबाट लिइएको हो । अरु कुनै कानुनबाट होइन ।
त्यो बबरमहल दरबार अधिग्रहण गरेबापत तपाईंको परिवारले कति जग्गा सट्टा भर्ना अथवा मुआब्जा रकम पायो ?
(हाँस्दै) वर्षको मलाई पाँच हजार रुपैयाँ आउँथ्यो । १० वर्षसम्म ५/५ हजार आउँथ्यो । हाम्रो अलिकति ठूलो परिवार थियो, भाग लगाउँदा । सानो परिवार हुँदा २०/३० हजार आउँथ्यो होला । त्यही हो पाएको मुआब्जा । जग्गाचाहिँ धेरैजसोलाई छानी छानी दिइयो ।
तपाईंको परिवारले जग्गा पायो ?
हाम्रो परिवारमध्ये केहीले पायो । जगदीश शमशेर र मैले जग्गा पाइनँ । कांग्रेसमा लागेका थियौं भन्ने थाहा थियो उहाँहरुलाई । जगदीशशमशेर त देशै छाडेर सिमलामा बस्न जानुभएको थियो । मचाहिँ यहाँ थिएँ, कांग्रेससँग लसपस छ भन्नेचाहिँ थाहा थियो ।
गोर्खा परिषद्बाट कांग्रेसमा विलय कसरी सम्वभ भयो ?
भरतशमशेर एकदमै विद्रोही थिए । अहिले आर्ट काउन्सिल जहाँ छ, त्यहाँको पाखामा सानो भीमसेनको मन्दिर छ, भीमसेन पहाड भन्थे । त्यहाँ खेल्दा भरतशमशेर तँ भीमसेन होस् भने म अर्जुन भन्दै ढुंगा हान्नुहुन्थ्यो । त्यस्तो प्रवृत्ति कताबाट निस्कियो, म भन्न सक्दिनँ । हामीलाई हिन्दु धर्म भन्ने कहिल्यै पनि सही रुपले पढाइएन । खाली यो पूजाआजा गर्नेमा मात्रै लगेको हुनाले धेरै क्लोज हुनै सकेन । त्यसैको विपक्षमा उहाँ हुनुभयो । अनि अर्को अनुशासन । खान पनि उहाँलाई अलि बढी चाहिने । उहाँले मृगेन्द्रशमशेर विरुद्धमा पनि विद्रोह गरेको हो । राजाको विरुद्धमा पनि विद्रोह गरेको हो ।
राजाले सिध्याउँछन्, आफ्नो सम्पत्ति बचाउनुपर्यो भन्ने थिएन ?
थिएन । त्यस्तो विचारै थिएन उहाँलाई । उहाँले मैले अघि भनें, मृगेन्द्रशमशेर पहिलो वर्ष हुनुभयो भने त्यसपछि भरतशमशेरलाई विपक्षी दलको नेता बनाउने पनि बीपी हो ।
हालसालै तपाईंको ‘किङ्डम लस्ट’ भन्ने पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा २००८ देखि २०६५ सम्मको राजनीतिक घटनाक्रम अर्थात् मोहनशमशेर राणाको नेतृत्वमा रहेको राणा र कांग्रेसबीचको मिलिजुली सरकारदेखि तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाडेको अवधिसम्मलाई उल्लेख गरिएको छ । यसका मुख्य केही तथ्यहरु मेरा दर्शकलाई राखिदिनुस् न ?
यो त पढ्नैपर्छ । पुस्तक लेख्ने पहिलो कारणचाहिँ के भने म कांग्रेस रहें । रुलिङ राणा परिवामा जन्मेको तीनजना भरत, जगदीश र म । सन्तुलित इतिहास लेख्नैपर्छ । खुकुरी दलको धरातलीय रिपोर्ट पनि गर्नैपर्यो ।
तपाईंले पुस्तक लेखनका क्रममा कृष्णप्रसाद भट्टराईजस्ता राजनीतिज्ञ, शताब्दी पुरुष सत्यमोहन जोशीदेखि, राजपरिवारका सदस्यदेखि सेना र सशस्त्र युद्ध गरेर आएको माओवादीका नेता गरी १ सयभन्दा बढीसँग अन्तर्वार्ता गर्नुभएको छ । तत्कालीन प्रधानसेनापति प्यारजङ्ग थापासँगको अन्तर्वार्तामा- ‘जुनबेला राजाले शक्ति हातमा लिएका थिए, त्योबेला माओवादी गलिसकेका थिए । थापाका अनुसार, दुई महिनाभित्रै उनीहरु टेबलमा घिस्रिएर आउनुपर्ने थियो’ भनिएको छ । त्यो सत्य हो ?
घिस्रेर... शब्द अलिकति नरम थियो । उहाँले के भन्नुभएको हो भने, तथ्य पनि त्यही हो मलाई लाग्छ । अरुले पनि भनेका हुन् । उनले मात्रै भनेका होइनन् । माओवादी लडाकुहरु ब्याक फुटमा भइसकेका थिए । अमेरिकाले पनि २०११ सेप्टेम्बर ११ पछि यिनीहरुलाई आतंककारी भन्ने घोषणा गर्यो । त्यसपछि बाहिरबाट गोलीगठ्ठा, आर्मीको प्लेन सबै चिज यहाँ आयो । त्यो आइसकेपछि माओवादीहरुले पनि अनूभूति गरे । बाबुरामजीले इन्टरभ्युमा त्यही कुरा संकेत गर्नुभएको छ । त्यसपछि चाहिँ बाबुरामजीले पनि कांग्रेससँग मिल्नुपर्छ भन्ने कुरा गर्नुभएको हो । र, माओवादी कमजोर हुँदै गएको हो ।
शक्ति हातमा लिएपछि तत्कालीन राजा ज्ञानेन्द्र नैतिकरुपमा आफैँ कमजोर बन्दै गएका होइनन् र ? प्यारजंग थापाको भनाइलाई त सात दल र माओवादी मिल्ने अवस्थाले सिधैँ खण्डन गर्यो होइन र ?
उहाँले त के भन्नुहुन्थ्यो भने पाँच-सात मिनेटको फरकले हामीले प्रचण्डलाई समात्न नसकेको हो । प्रचण्डजीको छोराले स्वीकार गरेका छन् यो कुरा । यो मेरो कितावमा परेको छ, त्यसै भनेको होइन ।
राजतन्त्रको अन्त्य हुनुको मुख्य कारण के हुन सक्छ ?
अब ज्ञानेन्द्र सरकार भनौं अब म उसलाई किन अपमान गर्नु । उहाँले के भन्नुभयो भने- ‘आई क्यान डू इट बेटर’ भन्ने उहाँको घमण्ड पनि भयो, लोभ पनि भयो । शेरबहादुर देउवाजी दोस्रोपटक प्रधानमन्त्री भइसकेपछि त्यो बेलामा माओवादीहरु ‘ब्याक फुट’मा थिए । ढल्ने भए मै श्रेय लिउँ भनेर उहाँले कू गर्नुभएको रहेछ । अब हामीले त्यस्तो ठानेको थिएनौं । मैले व्यक्तिगत रुपमा ए बेसै हुन्छ कि एक वर्षमा राजाले छोड्ने भनेका छन्, त्यो पछि अलिकति मिलाएर छोड्छन् कि भन्ने लागेको थियो । तर वास्तवमा त्यस्को उल्टो भयो ।
दरबार हत्याकाण्डको कारक के हो ? कसरी भयो ?
हत्याकाण्डको कारण त त्यही हो अब ‘प्रेम सम्बन्ध’ । दीपेन्द्र र देवयानीको । त्यो भइसकेपछि के भयो भने । विभिन्न कारणले गर्दा ‘दे आर एगेन्स्ट इट’ राजदरबार । राजदरबारका सदस्यहरु, महिलाहरु र राजा ।
चन्द्रशमशेर र जुद्धशमशेरका खलकको विवाद कारक हुन सक्छ कि ?
विलकुलै छैन । त्यसले गरेको होइन । रहनसहन, जो दरबारको हो । महिलाहरुको । त्यो पूरा देवयानीभन्दा फरक थियो । देवयानी पढेलेखेको, पशुपतिशमशेरको छोरी हो ।
शिक्षाको स्तर मिलेन त्यहाँ ?
शिक्षा मात्र होइन, रहनसहन मिलेन त्यहाँ । नराम्रो कुरा किन गर्ने । त्यहाँ तास खेल्न आदि-इत्यादि ।
‘सोफेस्टिकेटेड’ हुनुहुन्थ्यो देवयानी ?
धेरै सोफेस्टिकेटेड । संस्कृत कलेजमा पढेको हो साउथमा उसले ।
भिन्नता के थियो आएर नमिल्ने ?
आएर त्यो वातावरणमा बस्न सक्दैन भन्ने परेको थियो । ‘क्विन मदर’ हरुलाई पर्यो कि त्यो बस्न सक्दैन ।
रानी ऐश्वर्यलाई देवयानीलाई बुहारी बनाएर ल्याउँदा हाम्रो हैसियत मिल्दैन भन्ने महसुस भयो ?
त्यो अलि मिल्दैन । त्यो नमिलेपछि लघुताभाष हुन्छ दरबारमा भन्ने होला । त्यही कारणले भयो । जातपातको पनि धेरै कुरा थियो नि दरबारमा । राजपुतहरुमा पनि पूर्वी भारतको अलि कम भन्ने थियो । चल्दैन थियो । विवाह हुँदैन थियो ।
मैले अन्तर्वार्ता लिएको छु । म विश्वास गर्छु बडागुरुजीसँग कुरा भयो रे । बडागुरुजीले चाहिँ त्यहाँ कुरा भयो भने ‘जो हिन्दूहरुलाई राजाहरुले मानेका छन्, कोही जान नमिल्ने ठाउँमा पनि राजालाई लान्छन् यसमा अलिकति हानी हुन्छ’ भनेर बडा गुरुजीले भनेपछि चाहिँ ।
यो अस्पष्ट भयो अलिकति बुझाइदिनुस् न ?
भारतबाट ल्याइएकाहरु वास्तविक राजपुतभन्दा अलिकति कम राजपुत भएको इत्यादि कारणले त्यो विवाह दरबारले अस्वीकार गर्यो रे । त्यो हत्याकाण्डको अघिल्लो दिन । त्यो कुरा सुनियो ।
बडागुरुजीले त्यो भनेपछि दीपेन्द्रलाई पक्का भयो कि विवाह हुँदैन भन्ने ?
वीरेन्द्र मेरो विचारमा ‘जेन्टल एन्ड गुड किङ’ । वीरेन्द्रले अब हुन सक्दैन । कि विवाह गर, कि राज्य छोड भने रे दीपेन्द्रलाई । यो चाहिँ रे को कुरा ।
सिंगो वंशनाशको कारण, तपाईं के भन्दै हुनुहुन्छ भने ‘दीपेन्द्र र देवयानीको प्रेम’ ?
एउटा कारण । अरुअरु पनि त मैले भनिहालेँ नि । विभिन्न अरु कारण होला । तर मुख्य कारण त्यही नै हो । चन्द्रशमशेर र जुद्धशमशेरको भन्ने कुरा चाहिँ होइन ।
विश्लेषकहरुचाहिँ यो घटना प्रेमका कारण होइन भन्छन् । बाह्य शक्तिले घटाएको भन्छन् । तपाईं त्यस विश्वास गर्नुहुँदैन ?
विल्कुल गर्दिनँ । आफैँ मरे, मारिए ।
दीपेन्द्र आफैँले गोली हानेर मारेका हुन् ?
मेरो विचारमा त्यहीँ लाग्छ । अब उ आफैँलाई कसले हान्यो । अरु त देख्ने मान्छे छन् नि । उसले हानेको देख्ने छन् त्यसैले विश्वास छ । आफूले आफैँलाई मारे कि मारेनन् भन्नेमा विवाद छ । किनभने कसैले देखेका छैनन् ।
उसको राजालाई मात्र मार्ने नियत थियो है । अरुलाई मार्ने नियत होइन । राजालाई मारेपछि म त राजा हुन्थेँ, राजा भएपछि मैले जे गर्न पनि हुन्छ भन्ने थियो । तर त्यो गल्ती भयो । पहिलो प्रहारमा राजा मरेनन् । पछि चाहिँ एउटा भद्रगोल नै भइहाल्यो ।
उनको उद्देश्यचाहिँ राजालाई मात्र मार्ने थियो ?
राजालाई मात्र मार्ने । पहिलो गोली त राजालाई चलाएको हो ।
जुन परिस्थितिमा गोली हान्न गए, घटना उनले सोचे जस्तो भएन ?
गोली हानेपछि उनी कोठाबाट बाहिर गए । अनि थाहा भयो कि भित्र त बाउ जिउँदै छ । अनि भित्र आएर मार्न गएपछि धीरेन्द्रलाई प्रहार भयो अनि हत्याकाण्ड भयो । के गर्ने ? सायद वीरेन्द्र भएको भए राजसंस्था अहिलेसम्म चल्थ्यो कि ? भन्न सकिँदैन । उहाँले एकपटक कुरा गर्दा म संविधान स्वीकार गर्छु तिम्रा नेताले स्वीकार गर्छन् ? भनेर सोधेका थिए ।
नेताको इतिहास हेर्यो भने एकले अर्कालाई मारेको छ नि ?
आमालाई मारेको छैन । आमालाई मारेको कहीँ पनि छैन । कुनै इतिहासमा । छोराले आमालाई मारेको छैन, बाउलाई हुन सक्छ । आमालाई मारेको यो नै एउटा घटना हो मैले थाहा पाएको । त्यो हदसम्म कसरी पुगे, के गरी पुगे ? युवा मान्छे, अलिकति आफ्नो ‘कन्ट्रोल’ गुमाए । यो सबैलाई थाहा होला । रक्सी र ड्रग्स खाएपछि त्यति सन्तुलन पनि हुँदैन थियो उहाँको । अन्य बेला हुन्थ्यो ।
कोतपर्व हेर्नुहोस् । जंगबहादुरले आफ्ना सात भाइ छोरालाई सत्तामा सीमित राखेका थिए । तर एउटाले काका मारेको छ । अर्कोले आएर दाजु भाइ मारेको छ । पछि सबैको भागभाग भएको छ ।
मैले भनिहालेँ नि- आमालाई मार्नेचाहिँ कोही भएन । आमालाई, दिदीलाई बहिनीलाई मारेको चाहिँ जानीबुझी कही इतिहासमा छैन । परेको हुन सक्छ । अब के भन्नु, दुर्भाग्य हो परिवारको । हाम्रो पनि भाग्य त होइन नि त्यस्तो घटना हुनु नेपालमा ।
तपाईंको पहिलो पुस्तक ‘सिंहदरबार’ मा नेपालमा राणा शासनको सुरुआत र अन्त्यबारे लेखिएको छ । खासमा राणा शासनको अन्त्यको कारण के हो ?
राणाशासनको अन्त्यचाहिँ एउटा समयको गति थियो । १९४७ मा भारत स्वतन्त्र भइसकेको थियो । डेमोक्रेसीको लहर आएको थियो । यता चरम पनि थियो ।
चरमभोगी र विलासीबाट राणाहरु बाहिर पनि निस्कन सकेका थिएनन् ? केहीबाहेक ।
पहिला त प्राकृतिक थियो । जंगबहादुरले लिएको बेला त सबै ठाउँमा त्यस्तै थियो ।
जंगबहादुरले त गिद्धेप्रेस नै ल्याए नि । पहिलो छापाखाना प्रेस लिएर आए बेलायतबाट ?
त्यही त । त्यस्ता थिए । पछि गएरचाहिँ असाध्यै विलासी पनि भएर गए । अनि हेला गर्ने मानिसहरुलाई ।
राणाशासानको अन्त्य संसारभर चलेको डेमोक्रेसी र विलासी जीवनशैली थियो अनि जनतामाथि चरम दमन थियो अरु के-के थियो ?
शिक्षा लिन नदिने । पलमा पनि माथि जान नपाउने कम जातको मानिसहरु । बलबहादुर थिए हाम्रा राई । उपप्रधानमन्त्रीसम्म भए । उनी भन्थे राणाहरुको पालामा न्याय थियो । मैले तपाईं किन कांग्रेसमा लागेको भन्दाखेरि भन्थे, के गर्ने सुबिदारभन्दा माथि जान नपाउने । त्यो पनि अवस्था थियो नि । एउटा मानिसले आफ्नो क्षमताअनुसार माथि बढ्न नपाउनु त त्योभन्दा ठूलो खराबी के हुन सक्छ ? त्यो थियो धेरै कुरा थियो ।
राणाको परिवारमा जन्मियो भने त्यो सिधै जर्नेल भयो । अरु विचरा क, ख, ग.. पढ्न पाउँदैन थियो । बोल्न पाउँदैन थियो....
त्योभन्दा खराबी अरु के हुन्छ ? तर राम्रो कुराहरु पनि भएको छ । त्यसलाई चाहिँ बिर्सन पाइँदैन ।
राणा शासन अन्त्य हुँदै गर्दा सिंहदरबारको शक्ति राजदरबारमा कसरी सरेको थियो ?
त्रिभुवनको पनि प्रजातन्त्र ल्याउँ भन्ने नियतभन्दा पनि आफूलाई जेलजस्तो परिस्थितिमा राखेका राणाहरुबाट मुक्त हुनुपर्छ र हाम्रो शक्ति पनि होस् भन्ने थियो । धेरै यो प्रजातन्त्र भन्ने नै थियो भन्ने लाग्दैन मलाई । पछिको उहाँको व्यवहार र उहाँका छोराहरुको व्यवहारले पनि त्यही भन्छ । प्रजातन्त्रभन्दा आफ्नो मुक्तिपट्टि लागेको भन्ने थियो ।
त्यसैले अघि खुकुरी काण्ड भन्नुभयो त्यो गोरखा परिषद्को हो । त्यो पछि बीपी कोइरालालाई गृहमन्त्रीमा खतरा छ भन्ने भएर उहाँलाई प्लालेसमा बोलाइयो र प्यालेसमा राखियो पाहुनाका रुपमा । त्यो राखेपछि चाहिँ अर्को निर्णय पनि के भयो रे भने- एउटा फोर्स थियो सिंहदरबारमा । सिंहदरबार र प्रधानमन्त्रीलाई सुरक्षा दिने आर्मीको फोर्स थियो । त्यो फोर्सलाई पनि दरबारमा लगियो । दरबारमा लगेपछि उसले राजाको सुरक्षा गर्न लाग्यो । बीपीले झ्यालबाट हेरिरहनुभएको रहेछ । आर्मीले कवाज खेल्ने भन्थे । त्रिभुवन राजाले उनीहरुलाई कमान्ड गरेको देखेपछि ‘डेमोक्रेसी वन्ट डाउन वान स्टेप’ भनेर बीपीले लेख्नुभएको छ । बीपीले कुनै गल्ती त लेख्नुभएको छैन । मनचिन्ती कुरा त गर्नुभएको त होइन । त्यहाँबाट शक्तिको लोभ लालच बढ्दै गयो । अनि बीपीसँग टक्कर भयो महेन्द्रको । अनि कू भयो ।
मोहनशमशेर जबराले प्रधानमन्त्रीबाट राजीनामा दिँदै गर्दा दिल्लीको भूमिका के थियो ? अवस्था के थियो ?
लडाइँमा लडेको नि त उनीहरु त । बीपी होस्, कम्युनिस्टका यी दश-पन्ध्रजना त उनीहरुको लडाइँमा लडेको हो नि । भारतको स्वतन्त्रता संग्राममा सामेल भएकाहरु, जेल परेकाहरु, कोलकाता बस्थे । मुख्य गरेर बनारस बस्थे । त्यहाँ साथीभाइ जस्तो त भयो नि । एकैचोटि जेल परेका । उनीहरुले यहाँ प्रजातन्त्रका लागि आन्दोलन गर्न लागेका छन् भने उनीहरुको सहानुभूति शत प्रतिशत त्यता थियो । त्यहाँका मानिसहरुसँग मैले अन्तर्वार्ता लिएँ, शतप्रतिशत थियो ।
अहस्तक्षेप र एलायन्स नगर्ने नीति लिएर उठेको मान्छेले अर्काको देशमा गएर त्यस्तो खुला रुपमा गर्ने अवस्था थिएन । उसले त्यसैले एउटा मद्दत मात्र गरेको हो । किनभने आफ्नो पनि हात राख्न चाहन्थ्यो । पूर्ण अधिकार पायो भने त हाम्रो पनि भनाइ यहाँ रहँदैन । नेपालको सुरक्षाको हाम्रो हातमा हुनुपर्छ भन्ने थियो त्यसरी मद्दत गरेको हो ।
राणा शासन अन्त्य भएपछि मोहनशमशेरको नेतृत्वमा संयुक्त सरकार बन्यो । तपाईंका हजुरबुबा बबरशमशेर रक्षामन्त्री बन्नुभयो तर मन्त्रिपरिषद्का एकै बैठकमा भाग लिएर चार्टर्ड विमानमार्फत सपरिवार भारत उड्नुभयो । के थियो अलि खुलाइदिनुस् न । बीपीभन्दा मुनिको वरीयतामा बस्न सकस लागेर हो ?
जब राणा र कांग्रेस सरकार संयुक्त बन्न लाग्यो प्रधानमन्त्री भइसकेपछि मोहनशमशेर । दोस्रो त नेपाली कांग्रेस हुनुपर्ने । तर दोस्रो नहुने कांग्रेसले अडान लियो । हाम्रो बबरशमशेरले के अडान लिनुभयो भने- म त पहिला मन्त्री भइसकेको थिए । त्यसैले मन्त्री सिनियर हुनुपर्छ भन्ने अडान लिनुभयो । आ-आफ्नो त्यहाँ तर्क छ । अनि त्यहाँबाट हाम्रो हजुरबुबाले बीपीलाई हातमा यसो समातेर हेर्नुहोस् तपाईंहरु हाम्रो ‘राइजिङ स्टार’ । हामी त अन्त्यमा छौं । मलाई यसको लोभ होइन तर म त्यहाँ बस्दाचाहिँ म सेकेन्ड हुँ तपाईं तेस्रो हुनुहुन्छ । योपछि त म गइहाल्छु । तपाईंहरुले नै हुने हो । तपाईंहरु भविष्य हो । भनेर उहाँलाई मनाउनु भएको हो रे । पहिलो बैठकमा उहाँ सिनियर नै भएर बस्नुभयो । बीपीलाई मद्दत गर्नुभयो ।
त्यसपछि फ्लाइट चार्टर्ड गरेर मुम्बई जानुभयो ?
त्यो त प्रजातन्त्र आउनु २० दिन अगाडि । फागुन ७ गते प्रजातन्त्र आयो । त्यो भन्दा २० दिनअगाडि हाम्रो दिज्यूको विवाह । त्यसबेला यहाँ गर्न न मिलेन यहाँ आन्दोलन चलिहरेको छ । मुम्बईमा गएर गर्ने भन्ने भयो । त्यो बेलामा हो जहाज चढेर गएको । बुबा पनि बाहिर जाने मानस्थितिमा हुनुहुन्थ्यो । बुबाको पनि त्यो विचार थियो । विवाह पनि थियो ।
भारतको मुम्बईमा बीपी तपाईंको परिवारलाई भेट्न आउनुभएको थियो ?
अँ मुम्बईमा ।
बीपीको व्यक्तित्वको बारेमा भनिदिनुहोस् न ?
रावणको रुप देख्थेँ म । १२ वर्षको हुँदो होला । त्यहाँ आठपरियाहरु थिए । साथीहरुले सबैले यो त दुस्मन भयो नि, भरतशमशेरलाई थुनेर राखेको छ त्यहाँ । भरतशमशेरलाई थुनेर राखेको छ उता, फेरि यो आउँछ यहाँ । त्यसलाई मार्नैपर्छ भने मेरो आठपरियाले । मैले भनें- होइन त्यस्तो नगर । मैले बच्चै भए पनि भनें । अब त उहाँ पाहुना भएर आउनुभएको छ । उहाँभित्र पसेपछि ठूलो हल थियो । बुबाले हजुरबुबासँग सोझै लैजानुभयो ।
बीपी आकर्षक मान्छे । अनुहारमा मुस्कान । व्यक्तित्व एकदमै गज्जबको थियो । त्यसै पनि आकर्षित भइयो । अनि उहाँ हामीतिर आउनुभयो । म मुमासँग थिएँ । उहाँले नम्र भएर मुमासाब नमस्कार गर्नुभयो । मेरो हजुरआमालाई पनि । उहाँले भन्नुभयो तपाईं डराउनुपर्दैन । म गृहमन्त्री भएसम्म हानि चाहिँ तपाईंको छोरालाई गर्दैनौं । तर, जेलमा राख्ने, थुनिने यो राजनीतिमा भई आउने कुरा हो । म पनि बसेको छु । उहाँलाई पनि राखिन्छ तर नराम्रो गर्दिनँ भन्नुभयो र गर्नु पनि भएन । मलाई रावणको सट्टा यो त अर्कै निस्कियो भन्ने भयो ।
तपाईं कुन समयमा आएर कांग्रेसमा आबद्ध हुनुभयो ?
त्योबेला संयोगले म दिल्लीमा थिएँ । भरतशमशेर यहाँ छुटेर आउनुभयो । आउँदा दिल्ली बस्नुभयो । म पनि त्यहाँ थिएँ । त्यसबेला ‘अक्सफोर्ड’ पढ्थेँ । उहाँले कान्छो भाइ भनेर मलाई माया गर्ने । उहाँको पत्रकार सम्मेलन हुने भयो । त्यहाँ तिमी पनि आऊ भनेर समातेर लानुभयो । उहाँले त्यहाँ निकै कडा शब्दमा राजाको विरोध गर्नुभयो । यसरी आएँ म । अब म कोलकाता गएर नेपाली कांग्रेसमा लाग्छु भन्नुभयो । अनि लाग्नुभयो । बुबा पनि डेमोक्रेटिक जस्तै मान्छे । अनि त्यो प्रवृत्ति देखियो नि । प्रजातन्त्र त चाहिन्छ यो राजाको कहिलेसम्म चल्ने, यो ठीक हुँदैन भन्ने थियो ।
अक्सफोर्डमा गएपछि ‘लिबरल एजुकेसन’ । त्यहीबेला मैले पहिलोपटक एउटा ‘लेटर टू एडिटर’ लेखेँ । त्यसबेला ‘नेसनल’ कि के भन्ने प्रत्रिका साप्ताहिक कि मासिक निस्कन्थ्यो । त्यसमा राणाहरुबारे कुरा आयो । ठूलो पर्खाल छ, यसरी बसेको हो राणाहरु भनेर आयो । त्यति नकारात्मक पनि होइन तर त्यसले काम गर्यो । मैले सुरुवातै ‘लेटर टू एडिटर’ लेखेँ । अक्सफोर्डबाटै लेखेँ कि- राजाले यहाँ चुनाव गर्न दिएको छैन । राजाले समय बढाइरहेको छ । त्यो चाहिँ डेमोक्रेसीकै प्रक्रिया भयो । त्यसदेखि नै मेरो प्रवृत्ति त्यता गयो ।
आमाले त तपाईंलाई राजनीतिमा जान दिइरहनुभएको थिएन । दाइ जेल परेको, सम्पत्ति कसले हेर्छ भनेर ?
त्यो त पछि । प्रवृत्ति त थियो नि । उहाँको पनि प्रवृति थियो । मेरो आमा ‘स्ट्रोङ’ हुनहुन्थ्यो । अनि फर्केर आएपछि दिल्लीमा तीन वर्ष कानुनको अभ्यास गरेँ । नेपालमा बसेर राजनीतिमा लाग्ने परिस्थिति थिएन । कोही नेता जेलमा थिए, कोही बाहिर थिए । अनि म लागिनँ । अनि मैले के गर्ने भन्दा ‘हेन्डी काफ्ट’को मोसनको काम गरेँ । अहिले पनि म नेपाल आर्ट काउन्सिलको अध्यक्ष छु । त्योबेला हेन्डी क्राफ्ट एसोसिएसन स्थापना गरेँ । किन त्यो प्रवर्धन गरेको भन्दा जनताको नजिक बस्न । पछि जब बीपी फर्कनुभयो, अनि मचाहिँ लागेँ ।
तपाईंको दाइ र बुबाचाहिँ फरक प्रकृतिको हुनुहुन्थ्यो होला । दाइचाहिँ अलिकति राजाका विरोधी, बुबा अलि नरम...
बुबा नरम मात्रै होइन, बुबाको पनि सम्पत्ति लग्यो भने त सम्पत्ति त अरुले नै हेर्नुपर्छ । उहाँको जिम्मेवारी त्यो थियो सन्तानमाथि ।
त्यो बेला कांग्रेसमा लाग्नु भयो, यो लामो कालखण्ड पार गरेर आउँदा नेपाली कांग्रेसलाई कहाँ देख्नुहुन्छ ?
नेपाली कांग्रेसका कार्यकर्ताहरु अहिले पनि गाउँगाउँमा छन् । जब नेतृत्व कमजोर हुन्छ, उनीहरु कहिलेकाहीँ निराश हुन्छन् । उत्तार चढाव हरेक पार्टीमा हुन्छ ।
बीपी कोइराला, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह जस्ताहरुले रगत पसिना बगाएको पार्टीको नेपाली कांग्रेस । ती सबैसँग तपाईंले संगत पनि गर्नुभयो । अहिले कांग्रेसलाई देख्दा त्यो ‘लिगेसी’ उसले बोकेको छ ?
कमी भएको छ । त्यो त भन्नैपर्छ ।
कस्तो ह्रास भयो ? तपाईंका छोरा अहिले त्यही पार्टीमा हुनुहुन्छ । मन्त्री हुनुहुन्थ्यो । अहिले उदयशमशेर राणा सांसद हुनुहुन्छ ।
राम्रोचाहिँ जस्ताको त्यस्तै छ । मेरो छोराले पनि बदमासी गरेको अहिलेसम्म सुनेको छैन । काम गरिरहेको छ । दाग लाग्न दिएको छैन ।
ललितानिवास प्रकरण त थाहै छ । देशमा राजनीतिक दल भ्रष्टाचार गर्न तँछाड-मछाड गर्छन् । यस्ता काण्डमा त नेपाली कांग्रेस अगाडि नै छ नि ?
त्योअगाडि छ कि पछाडि मलाई थाहा छैन तर नेपाली कांग्रेसमाथि दाग लागेको छ । विभिन्न कुरामा दाग लागिरहेको छ । सही गतल लागिरहेको छ । १२ वर्ष भइसक्यो म त्यसबाट पर बसेको ।
पछिल्लो समय नेताहरु सत्ता दोहनमै केन्द्रित छन् । त्यस भएर उचित नेतृत्व जन्मिरहेको छैन ?
बीपी कोइराला जस्तो नेता, गणेशमान, किसुनजीजस्तो नेता वा कम्युनिस्टको पनि त्यसबेलाको जस्तो नेता अहिले पनि भइरहन्छ भन्ने छैन । उत्तर चढाव हुन्छ राजनीतिमा । नेपाली कांग्रेसमा आफ्नो बेसिक अवधारण टुटेको छैन ।
‘किङ्डम लस्ट’ पुस्तकको विमोचनका क्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले पुस्तक अत्यन्तै ऐतिहासिक रहेको र अब गणतन्त्रको विषयमा तेस्रो पुस्तक लेख्न आग्रह गर्नुभएको थियो । अब तपाईंको तेस्रो पुस्तक कस्तो हुन्छ ?
इतिहास जस्ताको त्यस्तै त म लेख्न सक्दिनँ । यो उमेरले पनि दिँदैन । तर यो राजनीति त अलि भाँडिएकै छ नि । यसमा कुनै शंकै छैन । अहिले जति बिग्रिएको छ, यसलाई सम्हालेर त लानुपर्यो नि अब । नत्र, हाम्रो अवस्था के हुन्छ, केही भन्न सकिँदैन ।
अन्तिम प्रश्न– राणा शासन, दरबार हत्याकाण्ड, माओवादी जनयुद्ध गणतन्त्र अहिले संघीय संरचनाको तपाईं साक्षी हुनुहुन्छ । अन्तर्राष्ट्रिय जगत् पनि देखेको । एउटा लेखक पनि । साथै ‘अक्सफोर्ड’को पहिलो नेपाली ‘स्कलर’ भएको हिसाबले नेपालको भविष्य कस्तो देख्नुहुन्छ ?
भविष्यको कुरा गर्न गाह्रो छ । यो त्यसै अनुमान गरिदिनुहुँदैन । धेरैले यो खत्तम भयो भन्छन्, त्यो पनि नहोला । स्रोत छ । काम गर्ने मानिस छन् । त्यसलाई अलिकति व्यवस्थित गर्न सक्यो भने हुन्छ । यहाँको संस्कार ‘स्ट्रङ’ छ । त्यो हुँदा पनि अहिले यो अवस्था छ, दुर्भाग्य हो । म नकारात्मक सन्देश त दिन्नँ । तर, ए... राम्रो हुन्छ भनेर गफ दिन पनि मिलेन ।