फायरसाइडमा रामकुमारी झाँक्रीलाई प्रश्न- एमालेमा फर्कने तयारीमा हो ?

भाद्र ११, २०८० |कान्तिपुर टीभी संवाददाता
फायरसाइडमा रामकुमारी झाँक्रीलाई प्रश्न- एमालेमा फर्कने तयारीमा हो ?

काठमाडौं । नेकपा एमालेको नेतृत्व केपी ओलीको ‘यस म्यान’ बन्न नसक्ने भन्दै माधवकुमार नेपाल समूहले एमालेसँग दुई वर्षअघि विद्रोह गर्‍यो । यस अवस्थामा माधवको मेरुदण्डको भूमिकामा रामकुमारी झाँक्री उभिइन् र स्थापना भयो नेकपा (एकीकृत समाजवादी) ।

भदौ ३ गते पार्टी स्थापनाको दुई वर्ष बित्यो । तर यस पार्टीले स्थापनाको औचित्य पुष्टि गर्न असफल छ भने गत निर्वाचनमा राष्ट्रिय दलको हैसियत गुमायो । पार्टी निरन्तर खुम्चिरहेको छ ।

पार्टी स्थापनाकालमा सक्रिय बनेर र सचिवको जिम्मेवारी पाएकी झाँक्री सहरी विकासमन्त्री बनिन् । अहिले लगभग उनी पार्टीमा निष्क्रिय नै छन् । यसको कारण उनले नेतृत्वसँग टकराव रहेको स्पष्ट पारेकी छन् ।

निष्क्रिय बन्नुको मूल कारण झाँक्रीले कान्तिपुर टेलिभिजनसँग खुलाइन्, ‘हामी सरकारबाट छोड्दा पार्टीले ल्यान्डिङ नै राम्रो बनाएन । त्यसपछि पार्टीमा स्वभावैले मेरा प्रश्न थिए । अहिले मात्र केन्द्रीय कमिटीको बैठकमा आउँदा निरुपण भयो । त्यसले गर्दा सक्रिय हुने वातावरण भएन ।’

कान्तिपुर टेलिभिजनको नियमित कार्यक्रम फायरसाइडमा एमालेसँग आशावादी देखिएकी झाँक्रीले पार्टी एकताको प्रयास दुई नेतृत्वको ‘इगो’ असफल भएको दाबी गरिन् । तर पार्टी अध्यक्षसँग असन्तुष्ट कायम राख्दै कूटनीति ढंगले गम्भीर आरोप लगाइन् ।

प्रस्तुत छ– झाँक्रीसँग फायरसाइडमा पवन आचार्यले गरेको कुराकानीको संक्षेप :

एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनाएको दुई वर्ष पूरा भएको छ । जे उद्देश्य राखेर नयाँ पार्टी बनाउनुभएको थियो । त्यसको औचित्य पुष्टि गर्न तपाईंहरूलाई कठिन भएको हो ?

उद्देश्यमा चाहिँ ठीकै भयो होला । किनभने त्यो बेलाको कन्टेन त अलि फरक थियो नि त । तर अर्को पार्टी बन्यो कि बनेन भन्नेमा चाहिँ आशातीत बनाउन सकिएन भनौं न अहिलेलाई । विभाजनका औचित्यमाथि चाहिँ प्रश्न छन् । यद्यपि दुई वर्षमै सबै कुराको निर्क्योल हुने त होइन । पार्टी बन्न लामो विकसित प्रक्रिया हुन्छ नि । तर आजको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाभित्र मान्छेको सामाजिक चेतनाले पार्टी निर्माणको त्यही धिमे गति नै समाउँछन् त ? भन्ने पनि प्रश्न छ ।

दुई वर्ष मूल्यांकनका लागि छोटो समय हो । तर हामीसँग दुई दशक कुरेर मूल्यांकन गर्ने सुविधा पनि छैन फेरि । निर्वाचनमा जे परिणाम आयो त्यसपछिका संगठनात्मक हिसाबले र अरू राजनीतिक हिसाबले केही कामहरूमा हामीले आशातीत गर्न नसकेका हौं । तर गर्ने प्रयास हामी गर्छौं ।

२०७८ भदौ ३ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने जाने बेलामा जुनको उत्साह थियो, त्यो उत्साहको पारो त घटेको हो ?

उत्साहमा कमी त आएको छैन तर के–के कारणले त्यही रफ्तारमा काम गर्न सकिएन । विविध कारण छन् यसमा । किनभने एउटा संस्थागत पार्टीबाट विद्रोह गरेर सानो पार्टी निर्माणको प्रक्रिया आफैँमा पनि जटिल काम हो ।

विभाजनका बेला तपाईंहरू त संसद्को चौथो ठूलो दल हुनुहुन्थ्यो नि ? अहिलेको अवस्था हेर्नुहोस् त ?

फर्केर हेर्दा राष्ट्रिय पार्टीको थ्रेस होल्ड पनि कटेन । त्यही भएर हामीमाथि चुनौती छ । त्यसैले अब ६ महिना ‘स्पिडअप’ गरेर काम गरौं भन्ने छ ।

पार्टीभित्र विद्रोह गर्न सजिलो कि, नयाँ पार्टी बनाउन सजिलो ?

विद्रोह त अलि एक प्रकारको पागलपन हो । त्यसपछिको पुनर्निर्माणचाहिँ असाध्यै संवेदशील काम हो । एउटै प्रकृतिको मान्छेले त्यो निर्माणको काम गर्न सक्दैन । फरक–फरक प्रकृति र क्षमताको मानिस पनि चाहिन्छ त्यहाँ । त्यसकारण निर्माणको काम पक्कै पनि जटिल, लामो समय लिने र धैर्य राख्नुपर्ने काम हो ।

त्यही भएर हो ? तपाईंले दुई वर्ष पनि नभएको पार्टीमा विद्रोह गरेको ?

त्यो त किन हुन्थ्यो ? त्यसरी एउटा भाष्य त बनाइयो तर भएन भन्ने कुरा त गर्नै पर्‍यो । हामीले किन गरेनौं, किन चुक्यौं, के गर्ने सम्भावना थियो, किन सकिएन भन्ने कुराको समीक्षा बृहत्तर सिंहावलोकन गरौं भन्ने हो । त्यसमा अलिकति फरक जस्तोचाहिँ देखिन्छ नि ।

आजको विन्दुमा उभिएर हेर्दा एमाले विभाजन गल्ती थियो भन्ने महसुसचाहिँ भएको छ कि छैन ?

अहिले कति बेला हो यो थाहा छैन । आजको राजनीति मुद्दाहरू, आजको बाटो, आजका अवस्थाहरूको परिवर्तनको कुरा गर्ने हो भने अब समीक्षा सुरु गर्नुपर्छ । किनभने हामीले जे–जे गर्‍यौं गरिसक्यौं त । अब समीक्षा गरेर हाम्रा गल्तीहरू के थिए, कमजोरी के थिए त्यसबाट अगाडि बढ्न प्रयासचाहिँ हामीले गर्नुपर्छ अब । अहिलेलाई हतार गरिहाल्नुपर्ने र ढिलो भएको भने होइन ।

हामीले नेकपा एमाले कमजोर भइरहँदा जनजीविकाका सवालका मुद्दा कहाँ पुगे, ती मुद्दा सामाजवादीले रूपान्तरण गरेर बोक्न नसक्दा आज असन्तुष्टिको राजनीति कता प्रतिबिम्ब भइरहेको छ भन्ने कुरा पनि हर्नुपर्छ ।

हामीले संविधानको रक्षा भन्ने एउटा ‘न्यारेटिभ’ बनायौं । संविधानको रक्षाको सवाल नै होइन । संविधानलाई कार्यान्वयन गर्ने हो ।

आजको दिनमा हेर्दा के हो भने– कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । स्वभावैले एमाले कमजोर हुँदा लोकतन्त्र, राष्ट्रियता, थुप्रै मुद्दाहरू कमजोर हुन्छ । अब हामीले त्यो ठाउँ लिन्छौं कि लिँदैनौं ? यदि त्यो ठाउँ हामीले लियौं भने उचित हुन्छ ।

एमालेबाट विभाजन हुँदा तपाईंहरूमा चरम निराशा र आक्रोश थियो । तर स्वविचारित बाटो नभएका कारणले यो अवस्था आएको हो भन्नेजस्तो लाग्दैन ?

सही भन्नुभयो । एकदमै धेरै आक्रोश थियो । तर म आफैं पनि कार्यक्रमहरूमा के गर्ने भनेर भावविह्वल हुन्थेँ के । त्यत्रो पार्टी निर्माण गरियो, फेरि यता लागियो, यसले कसरी गति लिन्छ यस्ता कुरा त भई नै हाल्थ्यो ।

हामीले गति समाउन नसक्नुका पछाडि दुई–तीनवटा कारण छन् ।

पहिलो, एमालेभित्र हामीले जे–जे एजेन्डा बोकेर विद्रोह गरेको टिम हामीसँग भएन । त्यो एजेन्डालाई हामीले यता ल्याएर प्रतिबिम्ब पनि गर्न सकेनौं ।

दोस्रो, अनि के सहमति र समझदारी भएको छ त्यो कुरा सबैलाई थाहा पनि भएन । अहिले फर्केर हेर्दा त्यहाँ गल्ती भएको रहेछ भन्ने पनि लाग्छ ।

तेस्रो, विद्रोहले चौथो ठूलो पार्टी बनाएर आएका थियौं । त्यत्रो पार्टीलाई बोक्नचाहिँ विचार नै चाहिन्छ के । विचार नभई संगठन बन्दै बन्दैन । विचारको तहमा पनि हामी के अल्मलियौं ।

चौथो, ‘डमुमेन्टेसन’ मा अलिकति हामीले ध्यान दिएनौं । के गर्ने भन्ने कुराको टुंगो गरेनौं । कार्यक्रम कसरी बनाउने त्यो पनि तयार गरेनौं । त्यो बोक्ने संगठन कस्तो बनाउने त्यो पनि बनाएनौं ।

थुप्रै नेताहरू एमालेमा फर्किन तम्तयार छन् । धेरै फर्किसकेका छन् । यससँगै समाजवादीको भविष्य छैन भनेर विश्लेषण हुन थालेको छ । यसलाई कसरी चिर्नुहुन्छ ?

चुनावपछि एमालेमा फर्किन सुरु त भयो । आशातीत परिणाम नआएपछि मान्छे विकल्प रोज्छ । पछिल्लो निर्वाचनमा एमालेले ठूलो घेराबन्दीमा पनि प्रत्यक्ष सिटमा कमी आए पनि एमालेले मतमा धेरै कमी ल्याएन । त्यो कारण आफैँले बनाएको पार्टी हो माफ मागौं जाउँ भन्ने पनि लाग्यो । यता पनि त्यो ढंगको काम गर्ने वातावरण बनेन केही मान्छेलाई । त्यो केले गर्‍यो भने हामीले सबै ठाउँमा उम्मेदवारी पनि दिएनौं ।

जस्तो लुम्बिनी प्रदेशमा एउटा पनि प्रत्यक्ष उम्मेदवारको सिट पाएनौं । त्यो त नेतृत्वको सीप र क्षमताको भर पर्‍यो नि त । त्यस्तै कारणले गर्दा मान्छे निराश भएका हुन् र फर्कने रफ्तार बढेको हो । अनि फरक के गर्ने भन्ने कुराको पनि टुंगो भएन । तर अबचाहिँ फरक गर्छौं ।

तपाईंको दलका नेता–कार्यकर्ता एमाले फर्कन आतुर तर ‘ग्रिन सिंग्नल’को पर्खाइमा छन् भन्ने सुनिन्छ नि ?

म एमालेमा त छैन । तर मलाई दाबीचाहिँ यति लाग्छ कि– एमालेले के सोचिरहेको छ मलाईं नै थाहा छ जस्तो लाग्छ । एमालेले के गरेको हो र भोलि पनि के गर्छ भन्दा– समाजवादी पार्टीसँग एकता भनेर उहाँहरूले ढोका खोल्नु हुँदैन र व्यक्तिगत रूपमा सबैका लागि ढोका खुल्छ । आउनुहोस् सदस्यता नवीकरण गर्नु त भनिरहनुभएको छ नि । आफ्नो क्षमताअनुसारको जिम्मेवारी पाउनुहुन्छ पनि भनिरहनु भएको छ ।

तपाईंले एमाले फर्कने मनासाय बनाउनुभएको छैन नि ?

त्यस्तो राखेको छैन । किनभने यहाँ केही फरक गरेपछि न कुनै कुराको महत्त्व होला । त्यसकारण दुई वर्ष भ्रमण गरेर एमालेमा फर्कियो भने हाम्रो हातमा केही पनि छैन के ।

तपाईंको पार्टीभित्रको असन्तुष्टि के हो ? तपाईं अहिले पार्टीमा सक्रिय हुनु हुँदैन भन्ने पनि आरोप लागेको छ ।

अब सक्रिय थिएँ पार्टी दर्ताका प्रारम्भका दिन । ४२ दिनमा यति काम गरिएछ नि क ३६ वटा जिल्ला पुगेछु । जिल्ला भेला मात्र होइन नगर कमिटी पनि बनाएको आएको थिएँ । त्यति काम गरिएछ । बीचमा मन्त्री भएँ । त्यसपछि पार्टीको जिम्मेवारीभन्दा उता नै केन्द्रित भएँ । हामी सरकारबाट छोड्दा ‘ल्यान्डिङ’ पार्टीले नै राम्रो बनाएन । त्यसपछि पार्टीमा स्वभावैले मेरो प्रश्न थिए । पार्टीले हामीलाई पनि प्रश्न गरेको थियो । हो त्यो प्रश्नको निरुपण आजसम्म पनि भएन । अहिलेचाहिँ केन्द्रीय कमिटीको बैठकमा आउँदा निरुपण भयो । त्यसले गर्दा सक्रिय हुने वातावरण भएन ।

तपाईंलाई पार्टीको बैठकमा जान पनि जाँगर चल्दैन रे नि आज भोलि ?

जाँगरभन्दा पनि समय यसरी बित्यो कि पार्टीमा राख्नुपर्ने केही विषयहरू थियो । मैले नेतृत्वलाई स्थायी कमिटी अलि ठूलो छ ४१–४२ जनाको सबैको बुझाइ एउटै हुँदैन भनेर सचिवालयमा मैले मेरा कुरा राख्छु भनेर लिखित बनाएको थिएँ । त्यो सचिवालयमा कहिल्यै मौका भएन । जहिल्यै आफ्नो कुरा राख्छु, स्पष्ट हुन्छु अनि काम गर्छु भन्ने थियो । जिम्मेवारी दिएको भए गर्थें त्यो जिम्मेवारी पनि थिएन मलाई । पछि मैले महासचिवसँग कुरा गरेँ । अनि कार्यालयमा चाहिँ मेरो कुरा राख्ने मौका दिनुभयो । नेतृतवले महसुस गर्ने कुरा थियो । महसुस गरेको पनि पाएँ ।

त्यसपछि केन्द्रीय कमिटी बैठकमा गएँ । हलमा म सक्रिय नभएको कुरा पनि उठ्यो । रामकुमारी सक्रिय नभएर ‘थ्रेस होल्ड’ कटेन भन्ने कुरा पनि उठ्यो । त्यसलाई जवाफ दिने मौका पनि दिनुभयो । आफ्ना कुरा पनि राखेँ । यो विगत हो । सच्याएर अगाडि जान खोजिरहेको छु म पनि ।

तपाईंको पार्टीभित्रको असन्तुष्टि के हो ? नेताको कार्यशैली कि पार्टीको मार्ग ?

विचार, कार्यशैली सबै हो । विचारले नै पार्टी कस्तो बनाउने ‘गाइड’ गर्छ ।

पार्टीले मन्त्रीबाट फिर्ता पठाएपछि तपाईंको मन मरेको हो भन्छन् नि ?

मलाई मात्र होइन । हामी चारजना थियौं । ‘ल्यान्डिङ’ राम्रो भएन भन्ने हो हाम्रो । फेरि त्यही टाँसिरहनुपर्छ भन्ने पनि होइन ।

एमाले नेतृत्वको एकल कार्यशैली तपाईंहरूले विद्रोह गर्नुभयो । यो समस्याचाहिँ अहिले तपाईंको पार्टीमा पनि देखियो नि हैन ?

यो त किन भनिरहनुपर्‍यो र । भनिरहनु पर्ने विषय नै रहेन नि ।

केपी ओलीसँगको अन्तरसंघर्षका कारण समाजवादी स्थापना भयो । अहिले माधव–झलनाथबीच पनि छ हो ? पार्टीभित्र अन्तरसंघर्ष झांगिएको हो ?

कम्युनिस्ट पार्टीमा अन्तरसंघर्ष छ भन्ने विषयलाई ‘इस्यु’ बनाउनु हुँदैन । अन्तरसंघर्ष छैन, विचारमा बहस छैन भने त्यो पार्टी गतिहीन हुन्छ । काम नलाग्ने हुन्छ । किनभने एउटा मान्छले जे सोच्यो त्यही हुन्छ ।

एमालेसँगको पार्टी एकता गरौं भन्नेचाहिँ लागेको छ कि छैन ?

त्यो त लाग्छ । चुनावपछि त्यस्तो केही हुन्छ कि भनेर प्रयास गरेको थिएँ । पुस १० गतेअघि नि प्रयास भयो पछि पनि केही प्रयास भए । दुई अध्यक्षको भेटघाटसम्मको कुरा त भएकै हो नि । पर्दा पछाडि अरू कुरा पनि भएको थियो ।

एकताको बाधक को हो ?

हामी दुवै पार्टीमा भएका मान्छेको ‘इगो’ । आजको दिनमा । एमालेले पनि हामीलाई किन ‘एक्सक्युज’ गर्छ । गरिहाल्ने पनि कुरा छैन नि । हामी पनि त्यत्रो कुुरा गरेर आएको हाम्रो नेतृत्वले पनि किन ‘एक्सक्युज’ गर्छ ।

एकताको सम्भावनाचाहिँ देख्नुहुन्छ ?

एकताचाहिँ भइहाल्छ भन्ने देख्दिनँ म । किनभने हाम्रो ‘इगो’ ठूलो छ । कालन्तरमा हुन सक्छ भन्ने आशचाहिँ देख्छु ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.