
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–५ मा आज बिहान भालुको आक्रमणबाट तीनजना घाइते भएका छन्। घाइते हुनेमा ५९ वर्षीय लक्ष्य रावत, उनकी ५५बर्षीय श्रीमती बाँचु रावत र सिमकोट बस्दै आएकी सर्केगाड गाउँपालिका १ जैरगाउँकी ३८ बर्षीय रजनी रावत रहेका छन्।
हुम्ला प्रहरी प्रमुख डीएसपी शंकर पोखरेलका अनुसार बिहान करिब ६ बजेर १० मिनेट जाँदा सिम क्षेत्रमा घाँस काटिरहेको क्रममा अचानक जंगली भालुले उनीहरूलाई आक्रमण गरेको हो। आक्रमणबाट लक्ष्य रावत र उनकी श्रीमतीको टाउकोमा चोट लागेको छ भने रजनी रावतको खुट्टा र ढाडतिर चोटपटक लागेको छ।
घाइते तीनै जनालाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल जिल्ला अस्पताल सिमकोट पुर्याइएको र हाल उपचार हुँदै गरेको अस्पतालले जनाएको छ। लक्ष्य र उनको श्रीमतीको अबस्था गम्भीर छ भने रजनी रावत सामान्य रहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार हुम्लामा पछिल्ला केही महिनादेखि भालुको आक्रमणका घटना बढ्दै गएको छ। सदरमुकाम सिमकोटमा भालुले आक्रमण गरेको घटना भने यो पहिलो हो । डीएसपी पोखरेलले भालुको गतिविधि बढिरहेका कारण स्थानियलाई सतर्क भएर दैनिक कामकाज गर्न आग्रह गर्नुभएको छ ।