फायरसाइड : प्रधानमन्त्रीको भारत भ्रमण चाँडै हुन्छ : रेखा शर्मा

चैत्र १३, २०७९
फायरसाइड : प्रधानमन्त्रीको भारत भ्रमण चाँडै हुन्छ : रेखा शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण चाँडै हुने जनाएकी छन् । ‘प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई लिएर चर्चा, छलफल भई नै राखेको छ । तर यो गते, यति गतेदेखि यति गतेसम्म भन्ने फिक्स भइसकेको छैन,’ कान्तिपुर टेलिभिजनको नियमित कार्यक्रम फायर साइडमा प्रस्तोता पवन आचार्यसँगको कुराकानीमा उनले यस्तो जनाएकी हुन् ।

उनले भारतबाट औपचारिक निम्तो छ छँदै छ नि भनेर आश्वस्त पारिन् । ‘भारत भ्रमण किन नहुने कुरा भयो र ? प्रधानमन्त्रीले भारत भ्रमण गर्ने कुरो त छ । तयारी भने अहिले सुरु भइसकेको स्थिति भने होइन,’ उनले भनिन् ।

सरकारले कहिले पूर्णता पाउँछ ? मन्त्रिपरिषद् कहिलेसम्म पुनर्गठन भइसक्छ ?

एक–दुई दिनमै हुन्छ । आजभोलिमै हुन्छ । सरकारले पूर्णता पाउनुपर्छ । तपाईंले भनेजस्तो धेरै मन्त्रालयहरु धेरै लामो समयसम्म रिक्त हुँदा जुन पर्फमेन्स अगाडि आउनुपर्छ । आउँदा आउँदै पनि त्यो तीव्रतामा आउने स्थिति बन्दैन । अब छिटै बन्छ । हामीले विश्वासको मत लिइसका छौं । विश्वासको मत नलिँदै सरकार गठन नगर्ने भन्ने स्थिति बनेपछि विश्वासको मत लिन जानुपर्ने परिस्थिति बन्यो । विश्वासको मत लिइसकेपछि अब सरकार बन्नेछ । धेरै दल छौं । धेरै दलमा छलफलले केही समय पक्कै लिन्छ । एउटा दुइटा पार्टीले मात्रै सरकार पक्कै बन्न सक्दैन । त्यसकारण छलफलले केही समय लियो । अब करिब हामी सरकार बनाउने अन्तिम अवस्थामा छौं । आज–भोलिमा सम्भवतः सरकार पुनर्गठन हुन्छ ।

सरकार गठनको भागबन्डाका लागि तपाईंको अध्यक्षले एउटा फर्मुला बनाउनुभएको छ भन्ने चर्चामा आएको छ । के उहाँले बनाएकै फर्मुलाअनुसार यो भागबन्डा मिल्ने हो ?

फर्मुलाको कुरा होइन । सबैको उपस्थिति स्ट्रन्थका आधारमा हुन्छ । हामी संसद्‌भित्र काम गर्दा, त्यहाँ समयको विन्यास गर्दा पनि दलीय स्ट्रेन्थ त पक्कै पनि हेरिन्छ । अर्को कुरा के छ भने त्यहाँ सहमति र आवश्यकता पनि खोजिन्छ । त्यहाँ को व्यक्ति क्याबिनेटमा आउँदै हुनुहुन्छ, त्यो व्यक्तिको क्षमता पनि हेर्ने कुरा त स्वभाविक हो । प्रधानमन्त्रीले आफ्नो पर्फमेन्स राम्रो गराउन सरकारको कामलाई जनताको सेवामा कसरी जोड्ने भन्ने कुरालाई प्रभावकारी बनाउनका निमित्त पनि प्रधानमन्त्रीका केही चाहना त हुने नै कुरा भयो । तर फर्मुला बनाएको भन्ने कुरा होइन ।

प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो इनिङ फलदायी हुने÷सफल हुने आधार के हो ?

पहिलो कुरा कमिटमेन्ट हो । प्रधानमन्त्रीले जे कमिटमेन्ट गर्नु भाछ, जे इच्छाशक्ति देखाउनु भाछ मुख्य कुरा त्यही हो । प्रधानमन्त्रीको यो तेस्रो कार्यकाल हो । ६४ सालमा हामी भरखर शान्तिप्रक्रियामा थियौं । हामीमा त्यसबेला शासनसत्ता चलाउने अनुभवको कमी थियो । त्यही ढंगले हामी अगाडि बढ्यौं । तर प्रधानमन्त्रीको दोस्रो कार्यकालको सुरुवात राम्रो थियो । त्यसले सबैतिर आशाको स्थिति पनि पैदा गरेको थियो । विगतका सबै अनुभव आफ्नो इच्छाशक्ति यो सबैको आधारमा पनि मैले राम्रो गर्नुपर्छ भन्ने कुरा उहाँमा रहेको मैले पनि भेट्छु । उहाँमा केही गर्नुपर्छ भन्ने हुटहुटी रहेको मैले पनि देख्छु ।

द्वन्द्वकालमा घटना जे–जे भए त्यसको सत्यनिरुपण र परिपूरण गराउने । तपाईंहरुले लिएको यो दुई वर्षको समयमा यो सम्पन्न गराउने आधार छैन भनिन्छ नि ?

हिजोको कामलाई आधार बनाएर हो । कतिपय कुरा पहिचान भइसकेका छन् । काम सुरु भइसकेको छ । कामको सुरुवात भएको छ । त्यो इन्डिङमा नपुगेको मात्र हो । अहिले २ वर्ष मात्रै समय राखौं र दुई वर्षमा जसरी भए पनि टुंग्याऔं । दुई वर्षमा पनि टुंग्याइएन भने यो अनन्तकाल जान्छ भन्या । १७ वर्ष गयो त ६ महिना भनेको कुरा । ६ महिनामा टुंगिन्छ भन्ने प्रतिबद्धता थियो नि त त्यो बेला ।

प्रधानमन्त्री दाहाल यही चैतको महिनामा भारत भ्रमणमा जाने भन्ने चर्चा पनि सुनिएको छ । भ्रमणको तयारी के छ ? तयारीमा हो तपाईंहरु ?

प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई लिएर चर्चा, छलफल भई नै राखेको छ । तर यो गते, यति गतेदेखि यति गतेसम्म भन्ने फिक्स भइसकेको छैन ।

औपचारिक निम्तो भारतबाट आएको छैन ?

औपचारिक निम्तो छ छँदै छ नि । किन नहुने कुरा भयो र ? प्रधानमन्त्रीले भारत भ्रमण गर्ने कुरो त छ । तयारी भने अहिले सुरु भइसकेको स्थिति भने होइन ।