‘गुड मर्निङ’ मा प्राध्यापक कृष्ण खनाल : हामी बन्द समाजमा बस्न तयार छैनौं

फाल्गुन ७, २०७९
‘गुड मर्निङ’ मा प्राध्यापक कृष्ण खनाल : हामी बन्द समाजमा बस्न तयार छैनौं
प्राध्यापक कृष्ण खनाल नेपालका चिर परिचित राजनीतिशास्त्री हुन्। समसामयिक राजनीतिक विश्लेषणमा नियमित कलम चलाउँदै आाएका प्राध्यापक खनालसँग कान्तिपुर टेलिभिजनको बिहानी कार्यक्रम 'गुड मर्निङ' मा सबिना कार्कीले प्रजातन्त्र दिवसको सन्दर्भ पारेर कुराकानी गरेकी छन् ।

प्रजातन्त्रको महत्व  नेपाली समाजको चरित्र र राजनीतिमा देखा परिरहेको समस्याबारे खनालसँग गरिएकाे कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ- 

सामान्य भाषामा प्रजातन्त्र के हो ?

दिवस त हामीले सम्झनामा बनाउने कुरा भयो । दिवस किन भनियो भन्दा- प्रजातन्त्र आएको सन्दर्भमा एउटा खुसीयाली हरेक वर्ष मनाऔं भनेर फागुन ७ गते मनाउँदै आएका छौं । अहिलेको नयाँ पुस्तालाई फागुन ७ गते कहिलेको हो भन्ने कुरा पनि आउन सक्ला । हरेक वर्ष आइरहन्छ फागुन ७ गते । सामान्यतः हेर्दा २००७ सालको क्रान्तिपछि नेपाल पहिलोपटक हिजो-आज हामी लोकतन्त्र भन्छौं त्यसबेला प्रजातन्त्रको प्रयोग हुन्थ्यो । २००७ फागुन ७ गते पहिलोपटक हामी प्रजातन्त्रमा प्रवेश गरेको दिन हो ।

प्रजातन्त्रको अर्थ एकदमै व्यापक छ । किन मनाउने यो दिवस ? प्रजातन्त्र भनेको के हो ? तपाईं र हामी अहिले कुरा गरिरहेका छौं यो पनि यसको एउटा उदाहरण हो । प्रजातन्त्र नहुँदो हो त तपाईंले कति स्वतन्त्र रूपमा मसँग वार्ता गर्न सक्नुहुन्छ, मैले तपाईंसँग कति खुलेर गर्न सक्दछु यी कुराको एउटा सीमा हुन्छ । सायद प्रजातन्त्रको अभावमा यति खुलापन नहुन सक्छ । त्यसैले यस्को राजनीतिज्ञ, आर्थिक, सामाजिक महत्त्व छ । 

नेपाली समाजले यसलाई खुलापनमा लग्यो । हामी बन्द समाजमा थियौं । नेपाल सय वर्षभन्दा बढी राणा शासन आइसकेपछि बन्द समाजमा थियो । त्यसबेला एउटा परम्परागत समाज थियो । जातपातका कुरा थिए । त्यसलाई तोड्ने कुरा भयो फागुन ७ को प्रजातन्त्रबाट । प्रजातन्त्रले त्यो पर्दा खोलिदियो । अनि हामी खुला समाजमा प्रवेश गर्‍यौं ।

२०६२ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ मा एकैपटक बन्द समाजमा लगे । त्यो धेरै दिन टिकेन । इन्टरनेट बन्द भयो, टेलिफोन बन्द भयो त्यो धेरै दिन टिकेन । मलाई लाग्छ त्यसबेला आन्दोलन गरिरहेका पार्टीहरूको आह्वानभन्दा पनि त्यो युवापुस्तालाई इन्टरनेट पनि छैन टेलिफोन पनि छैन उनीहरूलाई एउटा छट्पटाहट आयो । त्यो भनेको मतलब अब हामी बन्द समाजमा बस्न तयार छैनौं । त्यो बन्द समाजमा नबस्ने खुलापन दिएको नै फागुन ७ गतेले हो ।

मलाई लाग्छ अब कोही पनि बन्द समाजलाई स्वीकार गर्ने पक्षमा छैनन् । लोकतन्त्र, प्रजातन्त्र भन्नै पर्दैन । तपाईं एकपटक बन्द समाजमा लैजान खोज्नुहोस्, मान्छेले विद्रोह गरिहाल्छ । २००७ सालदेखि यहाँ आउँदासम्म हाम्रा राजनीतिक यात्रा विभिन्न किसिमका भए । ३० वर्ष हामीले निर्दलीय व्यवस्था भन्यौं । त्यसले पनि हाम्रो समाजलाई बन्द राख्न सकेन । आज त बन्द गर्न सम्भव नै छैन । 

त्योबाहेक अहिले हामी स्वतन्त्रताको कुरा गर्दै छौं । स्वतन्त्र अभिव्यक्तिको कुरा छ । सञ्चार प्रविधि यसरी विकास भएर आएको छ । अहिले सेकेन्डभरमा आफ्ना कुरा संसारभर पुर्‍याउन सकिन्छ । आजभन्दा करिब २०-२५ वर्षअगाडि ग्लोबल भिलेजको कुरा आउन लागेको थियो । संसार साँघुरो भएर गएको छ । त्यसबेला नेपालको सन्दर्भमा हामीले केही पढ्यौं मात्र होला तर आज हामीले प्रत्यक्ष अनुभव गरिरहेका छौं  । सेकेन्डभरमा हामी संसारसँग जोडिन्छौं । 

संक्षेपमा भन्नु पर्दा- प्रजातन्त्र शब्द हामी त्यति प्रयोग गर्दैनौं हामी लोकतन्त्र नै भन्छौं । २००७ सालमै पनि लोकतन्त्र र प्रजातन्त्र कुन शब्द प्रयोग गर्ने भन्ने कुरा अन्योलमै थियो । फागुन ७ गते तत्कालीन राजा त्रिभुवनले घोषणा गरे । त्यसको पृष्ठभूमिमा सात सालको क्रान्ति छ, जुन कात्तिकबाट सुरु भयो । सशस्त्र आन्दोलन नै भएको थियो । त्यसबेला नेपाली कांग्रेसले मुक्ति सेना प्रयोग गरेर प्रजातन्त्रका लागि लडाइँ लडेको अवस्था थियो । सरकारी सेना र उसका सेनाबीच एक प्रकारको युद्ध नै भएको थियो । त्यहाँ विभिन्न कुरा भयो एउटा समझदारीमा पुगेपछि नेपालमा संविधानसभाको चुनाव गर्ने  र त्यो संविधानसभाले बनाएको संविधानअनुसार देशको शासन चल्ने भन्ने एउटा सहमति हो । 

राजा पनि दिल्लीमा शरण लिएर बसेका थिए । राणा शासनको बन्धनबाट मुक्तिका लागि त्रिभुवन स-परिवार भारत गएका थिए । भारतले केही मध्यस्तता पनि गरिदियो, यता राणा प्रधानमन्त्रीसँग कुरा गरेर । एउटा समझदारी भयो त्यो समझदारीअनुसार फागुन ७ गते राजा त्रिभुवनले एउटा घोषणा गरे । राजा त्रिभुवनको घोषणाले मात्र प्रजातन्त्र आएको होइन नेपालमा । त्यसको पृष्ठभूमि राजा आफैँ बन्दी थिए । उनलाई बन्धनबाट मुक्त गर्ने काम नै प्रजातन्त्रले गर्‍यो । भनेपछि हाम्रो पूर्वजले अथवा अघिल्ला पुस्ताका मान्छेले जुन संघर्ष गरे र हामीलाई त्यो सुविधा प्राप्त भयो ।२००७ सालपछि हामीले धेरै आन्दोलन पनि गर्‍यौं । 

२०४६ सालमा पनि आन्दोलन भयो । मैले आफैंले देखेको हुनाले हिजोको कुरा जस्तो मात्र लाग्छ । २००७ साल मलाई थाहा छैन । २००७ साल मैले पढेको मात्र हो । २०६३ साल पनि आन्दोलन भयो । यी सबैको ढोका खोलेको २००७ सालको क्रान्तिले हो । त्यसैले २००७ को क्रान्तिलाई म ‘माउ क्रान्ति’ भन्छु । यो यी सबैको माउ हो । यसैले चाहे कम्युनिस्ट हुन्, चाहे कांग्रेस हुन् । २००७ साल त कांग्रेसले नेतृत्वमा भएको भन्छन् । होला त्यो एउटा पार्टीले नेतृत्व गर्‍यो तर त्यो सबैको साझा थियो । जुन शासनविरुद्ध क्रान्ति भएको थियो त्यो शासनका मान्छे पनि उनीहरूलाई वञ्चित गरिएको थिएन ।

०६२/६३ मा ठूलो आन्दोलन भयो । गणतन्त्र आयो नेपालमा राजतन्त्र फ्यालियो । तर त्यसले विभेद गरेन । हिजो राजाकै शासनमा काम गरेका मान्छे पनि ०६२/६३ पछि फेरि मन्त्री हुन आए त । अहिले मन्त्री भइरहेका छन् हेर्नुस् । यो संविधान बनिसकेपछि २०७४ सालमा नयाँ सरकार बन्यो तत्कालीन केपी ओलीको नेतृत्वमा । कमल थापा पनि उपप्रधानमन्त्री भए । जबकि हामीले ०६२/६३ को आन्दोलन गर्दा गृहमन्त्री थिए । 

त्यसकारण यो लोकतन्त्रको, प्रजातन्त्रको सबैभन्दा राम्रो पक्ष भनेको यसले विभेद गर्दैन । परिवर्तनलाई स्वीकार गरेर आइसकेपछि ‘तिमी हिजो यो व्यवस्थामा थियौं तिम्लाई त यो ढोका बन्द छ आउन पाइँदैन’ भनेर भनिँदैन । जनताको मत लिएर आउन सकिन्छ । जस्तो अहिले राजेन्द्र लिङ्देन छन् । राजा चाहिन्छ भन्छन् । तर हामीले राजा नभएको संविधान बनाइसकेका छौं । गणतन्त्रको संविधान बनाएका छौं । यो खुलापन समाजमा, अर्थतन्त्रमा मात्र नभएर सबैतिर खुलापन नै प्रजातन्त्रको अर्थ हो ।

तपाईंको आफ्नो अनुभवमा देश कसरी अगाडि बढिरहेको छ ?

यो अलिकति कठिन प्रश्न छ । केही इन्डेक्सहरू हेर्नुभयो भने हाम्रो यात्रा त्यति पछाडि छैन । लोकतन्त्रको बाटो प्रजातन्त्रको बाटो अलिकति अप्ठ्यारो बाटो पनि हो । किनभने यसले विविध विचारलाई समेट्नुपर्छ । असहमतिलाई समेट्नुपर्छ । सरकारले गरेको कुरा चित्त बुझेन भने तत्कालै मान्छेले भएन यो हामी मान्दैनौं भनेर सडकमा पुग्छन् । आन्दोलन हुन्छ । भनेपछि यी सबै कुरालाई जोडेर काम गर्नुपर्ने भएका हुनाले प्रजातान्त्रिक प्रणालीमा काम गर्नचाहिँ अलि कठिन हुन्छ । चुनौतीपूर्ण हुन्छ । यसले समय पनि लिन सक्छ । यदि त्यो क्रमिक रूपले अगाडि बढिरहेको छ भने यस्ता कुराबाट चिन्ता गर्नु पर्दैन ।

२००७ सालको क्रान्तिमा लागेका मान्छे अहिले पाउन पनि कठिन छ । भनेपछि एउटा मान्छेको जीवन नै गइसकेको छ । अझै पनि हामीले अपेक्षा गरेको प्रगति भएको छैन भने प्रगति भयो भनेर भन्न मिल्दैन । मलाई लाग्छ केही कुरा हाम्रो शिक्षामा जुन किसिमको उन्नति भएको छ, अहिले नेपालमा थोरै होलान् तर गुणस्तरीय ज्ञानको कमी छैन ।

अर्को कुरा केही आर्थिक उन्नति पनि भएका होलान् । सञ्चारको क्षेत्रमा भएको छ, यातायातको क्षेत्रमा भएको छ यसको फाइदा मानिसहरूले क्रमिक रूपमा लिएका छन् । तर पनि के भनिन्छ भन्दा हामीले जुन अपेक्षा गरेको त्यो तहमा पुग्न सकेको छैन । अर्को कुरा के भने कम्तीमा गाँस, बास, कपास यी आधारभूत कुरा हुन् यसबाट कोही नेपाली वञ्चित भएको छैन । एकजना मात्र वञ्चित छ भने त्यो ठीक भएन । यो प्रतिशतमा मात्र हेरेर हुँदैन । कति प्रतिशतमा उन्नति भएको छ प्रतिशतमा मात्र हेरेर हुँदैन । एउटा अथवा दुईवटा मान्छे मात्र यसबाट वञ्चित छ भने हाम्रो यात्रा अपूर्ण नै छ । अधुरो छ हामीले काम गर्न बाँकी छ । यस अर्थमा हामीले काम गर्न धेरै बाँकी छ । तर यसको विकल्प पनि छैन ।

नयाँ पुस्तालाई के लाग्छ भने प्रजातन्त्र आएको यतिको वर्ष भयो, विभिन्न व्यवस्था फेरिए, राजनीतिक चेत पनि आयो । तर हाम्रो जीवनचाहिँ सधैंभर राजनीतिक भद्रगोल हेर्दा नै हाम्रो जीवन सकिन्छ कि के हो ? स्थायी सरकार पाउँदैनौं कि के हो ? भन्ने लाग्छ । तपाईंलाई के लाग्छ ?

के भइरहेको छ त देशमा भनेर हेर्दा तत्काल सन्तोष गर्ने, यो राम्रो भयो भनेर वाहवाह गर्ने ठाउँ हामीले पाउन सकिरहेका छैनौं । हाम्रो दुर्भाग्य नै भन्नुपर्छ हाम्रो राजनीतिक यात्रा निरन्तर रूपमा क्रमिक रूपले अगाडि बढ्न सकेन । २००७ सालमा क्रान्ति भयो, त्यसबेला त के थियो र ? निरक्षरता व्यापक रूपमा थियो । मैले देख्दा म आफैं पनि उदाहरण छु । जुत्ता हुँदैन थियो । बिनाजुत्ता स्कुल गएको छु । यस्ता मानिस जति पनि देखिन्थे । आज जुत्ता नलगाउने केटाकेटी पनि देखिँदैन । दुर्गम ठाउँमा जाँदा पनि केटाकेटी जुत्ता लगाएकै हुन्छन् । लुगा कपडा पनि लगाएकै हुन्छन् । पहिला हामीसँग हुँदैन थिए । म गाउँकै हो । कीर्तिपुर भनेको गाउँ नै हो । हामीले कपडा परिवर्तन गर्न दसैं पर्खनुपथ्र्यो । दसैंमा हालेको एक जोर लुगा अर्को दसैंसम्म पुग्थ्यो । केटाकेटी अवस्थामा दसैं आएपछि नयाँ लुगा लगाउन पाइन्छ भनेर एउटा रहर पनि हुन्थ्यो । मान्छेले अपेक्षा गरेअनुसार जीवनस्तर बढेको छैन ।

तर तुलनात्मक रूपमा हेर्ने हो भने जीवनस्तर बढेको छ । तर हाम्रो क्रम भंगता भइरह्यो । २०१७ सालले २००७ साले खोलेको बाटोलाई रोक्यो । ३० वर्ष अर्को अवस्थामा गयौं । फेरि आन्दोलन गर्नुपर्‍यो । यसरी एउटै देशमा पटकपटक ७० मा तीनवटा चारवटा ठूला-ठूला आन्दोलन भएको सायद अरू ठाउँमा पाइँदैन । यसले गर्दा हाम्रो संस्थागत विकास भएन । हाम्रो नीतिको निरन्तरतामा समस्या भयो ।

राजनीति स्थिरतको प्रश्न छ यदि प्रणालीलाई निरन्तरता दिन सकियो भने मान्छे त आउँछन् जान्छन् । योभन्दा बढी स्थिरता के खोज्नुभएको छ ? एउटै मान्छे पटक-पटक प्रधानमन्त्री भइरहेका छन् । राजनीतिमा हाम्रो सबैभन्दा कमजोर पक्ष के हो भने राजनीति चलायमान हुन सकेन । खोलाको पनि बगिरहन्छ नि यस्तै हुनुपथ्र्यो । नेतृत्वमा आउँछन् जान्छन् । पेन्सन पकाउने जागिर खाएको हो र जीवनभरि ? एउटै मान्छे मन्त्री भइरहने, एउटै मान्छे प्रधानमन्त्री भइरहने होइन नि ।

विकसित देशमा हेर्नुभयो भने मान्छे एकपटक आउँछ, अवसर लिन्छ त्यसपछि ऊ जान्छ, बिदा हुन्छ । अहिले हामी अमेरिका र बेलायतको कुरा नगरौं । बेलायतको कुरा गर्नुहुन्छ भने यही संसद् मात्र होला जहाँ दुईजना भूतपूर्व प्रधानमन्त्री होलान् बेलायतको ‘हाउस अफ कमन्समा’ । नत्र प्रधानमन्त्री भइसकेको मान्छे दोहार्‍याएर चुनाव लड्न जाँदैन ।

हामीसँग कति जना छन् अहिले भूतपूर्व प्रधानमन्त्रीहरू ? त्यसकारण हाम्रो समस्या के भएको छ भने हिजो भूतपूर्व आज फेरि वर्तमान, फेरि भूतपूर्व, फेरि वर्तमान । यही चार-पाँचजना मानिसको व्यवस्थापन हाम्रो राजनीति अल्मलिएको छ । सबभन्दा कमजोर पक्ष, सबैभन्दा अप्रिय पक्ष हो । मैले समाचार हेर्न छोडिसकें । तिनै अनुहारहरू छन् । दश दिन नहेरे पनि केही फरक पर्दैन जस्तो लाग्छ, २० दिन नहेरे पनि फरक पर्दैन ।

राजनीति गतिशील हुन सकेको छैन । गतिशील हुन नसकेको मूल कारण केही मानिसको मुठ्ठीभित्र सीमित भयो राजनीति । लोकतन्त्र भनेको त्यो होइन । नेतृत्व पनि लोकमतमा आधारित हुनुपर्छ । यी कुरामा हाम्रो कमजोरी छन् । योभन्दा राम्रो व्यवस्था दिन्छु तर प्रजातन्त्र हुँदैन, तपाईं स्वतन्त्रता हुँदैन भन्यो भने मलाई त्यो स्वीकार्य हुँदैन ।

अहिले हामीले गरिरहेको उत्कृष्ट अभ्यासचाहिँ के हो त ?

तपाईं हाम्रो व्यक्तिगत तहमा स्वतन्त्रता हो । अहिले दुई-तीनवटा कुरा महत्त्वपूर्ण देखिन्छ । अलि अगाडि सरकारी जागिर खानेको भिड हुन्थ्यो । म त राजनीतिमा छैन, त्यो भोग्नुपरेन । त्यही पनि चिनजानका दुई-चार अक्षर पढेलेखेको अलिकति सम्पर्कमा बसेको हुनाले मानिस भएको हुनाले कतिपयले मलाई पनि भन्थे- लौन यो मान्छेलाई जागिर खुवाउनुपर्‍यो भन्थे । सरकारी जागिर संगठित संस्था, अर्धसरकारी संस्था, बैंकहरू भन्छौं ।

अहिले मान्छेहरूलाई यो प्रेसर एकदमै कम भएर गएको होला । अलिकति तपाईं केही क्यापेबल हुनुभयो केही क्षमता छ भने अवसरको कमी छैन । सानो यो प्रविधिको विकासको फाइदा पनि होला । यो केबाट आयो त ? यही स्वतन्त्रताले । तपाईं राज्यसँग आश्रित हुनुहुन्न आज । राज्यले राजनीतिले तपाईंलाई बाटो नछेके हुन्थ्यो । मैले आज चाहिरहेको मेरो गतिलाई नछेकिदिए हुन्थ्यो । म त वृद्ध भइसके युवाहरूको गतिलाई राज्यले नछेकिदिए हुन्थ्यो । यसले राम्रो गर्न सकेन भन्ने चिन्ता नगरौं । राम्रो गर्न सकेन भने पनि यसले तपाईं हामीले गर्न खोजेको राम्रो कामको बाटो नछेकेको भए हुन्थ्योजस्तो लाग्यो मलाई ।

हाम्रो देशमा प्रजातन्त्र आएको ७३ वर्ष हुन लाग्यो । २००७ सालको आसपासमा दक्षिण कोरिया उपनिवेशबाट मुक्त भयो । सिंगापुर पनि मलेसियाबाट भयो । ती देशको समृद्धि हेर्ने हो भने हामीले देखिरहेकै छौं । त्यहाँ धेरै नेपाली कामका लागि पनि जानुहुन्छ । त्यहाँ एउटा नेताले नेतृत्व गरेर देशलाई आर्थिक समृद्धिको उच्चतम् विन्दुमा पुर्‍याएको उदाहरण छ । हामीले चाहिँ त्यस्तो खालको लिडर नपाएको हो नेपालमा ? सिस्टम नभएको हो कि लिडर नभएको ?

तपाईंले भनेको कुरा धेरै हदसम्म सत्य हुन् । हामीसँग हामीले अपेक्षा गरेको नेतृत्वको अभाव हो । परिवर्तनलाई संस्थागत रूप दिन एउटै नेतृत्व लामो समयसम्म अपेक्षा गरिएको हुन्छ । तपाईंले सिंगापुर, दक्षिण कोरिया, मलेसियाको उदाहरण दिनुभएको थियो । ती ठाउँमा एउटा नेतृत्वले लामो समय काम गरेको पाइन्छ । आज मानव विकास सूचकांकमा सिंगापुर ‘टप टेन’मा आउँछ । अहिले पनि छँदै छ सायद । यो भिजनको कुरा पनि हो ।

हामीले त्यो अवसर गुमायौं । मलाई लाग्छ २०१७ सालको घटना हाम्रो लागि निकै दुर्भाग्यपूर्ण छ । त्यो नभएको भए बेग्लै किसिमको गति लिन सकिन्थ्यो जस्तो लाग्छ । दोस्रो त्यसले संस्थाहरू भत्काइदियो । अहिलेसम्म पनि हाम्रो द्वन्द्व कहाँ देखिन्छ भन्दा अहिले अलि कम भएको होला, हामी एकदमै पार्टीभित्र मात्र केन्द्रित भयौं के, कांग्रेस-कम्युनिस्ट मात्र भन्यौं ।

मलाई लाग्छ, हाम्रो विचारमा प्रस्टताको अभाव भयो । त्यो नेतृत्वको अभाव भएको छ । राजनीति पनि एउटा व्यवसाय जस्तो भयो । नेतृत्व त आउने जाने आवधिक कुरा हो । हामी आवधिक चुनाव भन्छौं नि । यो भनेकाे नेतृत्व पनि आवधिक हो । अरू पेसामा हामी स्थायी खोज्छौं । राजनीतिमा स्थायी हुँदैन । एउटा अवधिको जिम्मेवारी हुन्छ । एउटा अवधिका लागि निर्वाचित हुनुहुन्छ । हाम्रोमा पालो नै पुगेको छैन भन्ने मान्छे धेरै भए ।

त्यसकारण हाम्रो राजनीतिको संरचना नै चलायमान हुनुपर्छ । कहीँ मान्छे आउँछ राम्रो काम गरेर क्लिक हुन्छ भने त दुई पूर्ण कार्यकाल नै प्रधानमन्त्री बनोस् न । केही आपत्ति छैन । मैले काम गर्नै पाएका छैन भनेर यो आफूले दाबी गर्ने कुरा होइन । तपाईं हामीले रोजेको मान्छे पाँच वर्ष नै प्रधानमन्त्री बन्न पाउनुपर्छ । उसले राम्रो काम गर्‍यो भने अर्को पाँच वर्ष पनि हामी दिन्छौं । तर अब दुई कार्यकालभन्दा बढी हुनु हुँदैन । कार्यकाल पूरा गर्ने हैसियत नभएको र बहुमत जोगाउन नसक्ने नेताहरू भए, हाम्रो पार्टी जोगाउन नसक्ने नेताहरू छन् । अनि मेरो पालो पुगेको छैन भनेर पालो कुरेर बस्ने मानिसहरू मात्रै हुँदैन ।

अहिले हाम्रो चुनावमा केही नयाँपन आएको छ । मान्छेले कुन खालको परिवर्तन खोजेका छन् ? राजनीति चटक होइन । भाषण सुनिन्छ २ सय वटा कुरा गरेको हुन्छ दिउँसो एउटा कुरा गरेको हुन्छ, बेलुका अर्को कुरा गरेको हुन्छ, एउटा मानिसले एक दिनमा दशौंपटक फरक कुरा गरेको भेटिन्छ । एक घण्टा अगाडिको कुरा एक घण्टापछि टिक्दैन । यो त तमासा भयो । लोकतन्त्रको तमासा पनि बनेको छ । त्यसैले कत्तिले यसलाई अलिकति तल झारेर यस्तै हो त लोकतन्त्र भन्छन् सजिलोसँग ।

गणतन्त्र यस्तै हो त भन्छन् । यसका पात्रहरू कमजोर भए । पात्रहरूले आफूलाई उदाहरणका रूपमा राख्ने हो भने तपाईं एउटा राम्रो, साँच्चै गणतन्त्र बुझेको, गणतान्त्रिक संस्कार बुझेको मान्छे यो देशको राष्ट्रपति हुने हो भने दुई दिनमा परिवर्तन हुन्छ । यो सवारीको तमासा एक मिनेटमा परिवर्तन हुन्छ । परिवर्तन हुन केही समय लाग्दैन । व्यक्तिको सोचाइको कुरा हो । राजा महाराजाको शैलीमा रमाउने मान्छेलाई राष्ट्रपपति बनाएपछि कहाँ हुन्छ ?

०६२/६३ को आन्दोलनपछि धेरैलाई देशमा राजनीतिक स्थायित्व आउँछ, आर्थिक समृद्धितर्फ अघि बढ्छौं भन्ने थियो । पछिल्लो समय मानिसमा यदि धेरै निराशा छ । मानिस आत्मदाह गर्ने अवस्थासम्म पुगे । किन यस्तो विचलन आयो ? हाम्रो भूराजनीतिको दोष हो कि ? प्रणालीको दोष हो कि ?

यसमा दुई-तीनवटा कुरा छन् । सबैभन्दा ठूलो हाम्रो आन्तरिक कमजोरी हो । जिम्मेवारी तपाईं, म समग्र समाज होला । नेतृत्व भनेको हाम्रो समाज जस्तो छ त्यसैको उत्पादन हो । समाजको स्तरअनुसारकै नेतृत्व आउँछ । एक-दुईवटा कुरामा चमत्कार गर्‍यो भने चमत्कार पनि गर्न सकिन्छ । त्यसको पछाडि लामो यात्रा, दीर्घकालीन सोच कति छ ती मान्छेमा त्यो परिचय नै नभइ पदको टुप्पोमा पुगेको उदाहरण पनि हामीसँग छ । हामीसँग धैर्यता छैन हेर्नुहोस् ।

तपाईंले भू-राजनीतिको कुरा उठाउनुभयो । यो त हाम्रो बाध्यता हो । दुई ठूला छिमेकी छन् । स्वार्थ बाझिएको छ । प्रतिस्पर्धामा छन् । बेलाबेला उनीहरूबीच द्वन्द्व हुन्छ । दुवै शक्तिशाली छन् । तिनको दाँजोमा हामी केही पनि होइन नि त । त्यसको प्रभाव त स्वभाविक रूपमा हुन्छ । त्यसैले हामीलाई चाहिने हाम्रो नेतृत्वको क्षमता हो । भारतलाई चीनलाई गाली गरेर हामी उम्कन पाउँदैनौं । यो हाम्रो कमजोरी लुकाउने बाटो हो ।

आज हामीलाई सबैभन्दा राम्रो ‘डिप्लोम्याट स्किल’ भएको नेता चाहिन्छ । कुनै गाह्रो छैन व्यवस्थापन गर्न । अहिलेका लिडरमा ‘डिप्लोम्याट स्किल’ छैन । चमत्कार गर्छु भन्ने स्किल छ । अहिलेको दुनियाँमा यसले के गर्न खोज्यो भनेर छिमेकीले बुझिहाल्छ नि । म भूराजनीतिको दोष दिन्नँ । यहाँ एकथरी के भन्छन् भने सबै भारतले गर्दा हुनै दिएन भन्छन् । हुनै नदिन दिएको भए त त्यहीबेला सामना गर्नुपथ्र्यो नि । हामीले पटक्कै ‘डिप्लोम्याट स्किल’ देखाउन सकेका छैनौं । आफू पदमा जान त्यही भारतको चाकडीका दौडन्छन् । एम्बेसीमा मान्छेको लाइन हुन्छ । कुन ठाउँमा प्रोट्रोकलको विश्वास गर्ने ध्यान छैन । बाहिर प्रोट्रोकलको अनेक नाटक गर्छन् । भित्रभित्र राजदूतसँग भेटेर कुरा गर्छन् । अनेक यहाँ उदाहरण छ । त्यसका रेकर्डहरू यहाँ छन् ।


Enter Kantipur TV HD
Advertisement