
धनुषा । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । आज पहिलो दिन ‘नहाय-खाय’ मनाइँदैछ ।
चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ । दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन् । यस विधिलाई ‘खरना’ भनिन्छ ।
त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ । यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गरिनेछ ।
छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ ।
त्यस्तै, छठ पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरूको बजारमा भीड लागेको छ । बजारहरूमा बाँसबाट र माटोबाट बनेको सामग्रीहरू जताततै बिक्री भइरहेको छ । छठपर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ ।