नेतृत्वमा महिलालाई चुनौती छ : समीक्षा बास्कोटा

फाल्गुन १, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेतृत्वमा महिलालाई चुनौती छ : समीक्षा बास्कोटा

काठमाडौं । राजनीतिक दलको प्रमुख नेतृत्वमा महिलाको उपस्थिति क्रमशः बढ्न थालेको छ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षता रञ्जिता चौधरीले गरेजस्तै विवेकशील साझा पार्टीको अध्यक्षमा पनि महिला नेतृत्व स्थापित भएको छ । धेरै मानिसहरुमा चासो छ, विवेकशील साझाको अध्यक्ष बनेकी समीक्षा बास्कोटा को हुन् ?

विवेकशील साझा पार्टीको केन्द्रीय अध्यक्षमा सर्वसम्म निर्वाचित बास्कोटा अमेरिकाको सेन्ट जोन्स युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गरेर स्वदेश फर्केकी हुन् । कानूनमा स्नातकोत्तर गरेकी उनले कानून व्यवसायका साथै ‘बास्कोटा ग्रुप’ को सीईओका रुपमा उद्योग व्यवसायको समेत नेतृत्व सँगालेकी छिन् ।

पारिवारिक पृष्ठभूमिका कारण नेपाली कांग्रेसको सानिध्यमा हुर्केकी बास्कोटा दोस्रो पुस्ताकी राजनीतिज्ञ हुन् । पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाकी छोरीसमेत रहेकी उनले आफ्नो राजनीतिक यात्रा भने कांग्रेसबाट नगरेर रवीन्द्र मिश्र नेतृत्वको वैकल्पिक धारबाट थालनी गरिन् । र, मिश्र राप्रपामा प्रवेश गरे पनि उनले विवेकशील साझा पार्टीलाई नै निरन्तरता दिइन् ।

शालीन स्वाभावकी समीक्षा २०७४ सालदेखि साझा पार्टीमा सक्रिय बनेकी हुन् । उनलाई क्षमतावान् नेताका रुपमा मिश्रले उच्च मूल्यांकन गर्ने गरेका थिए । आफू राप्रपामा जाने बेलामा मिश्रले साझा पार्टीको नेतृत्व समीक्षालाई नै सुम्पेका थिए, अहिले प्रथम महाधिवेशनबाट पनि उनी सर्वसम्मत रुपमा अध्यक्ष चुनिएकी छन् ।

काठमाडौं क्षेत्र नम्बर १ बाट २०७४ सालमा रवीन्द्र मिश्रले प्रतिनिधिसधा सदस्यका लागि उम्मेदवारी दिँँदा समीक्षा बागमती प्रदेशसभाको सदस्यमा चुनाव लडेकी थिइन् । तर, विजयी हुन सकिनन् । गत बैशाखमा सम्पन्न स्थानीय चुनावमा उनी काठमाडौं महानगरपालिकाको मेयरमा उठेकी थिइन् । तर, चुनावी मोर्चामा उनले सफलता पाइनन् ।

२०७४ सालमा विवेकशील साझा पार्टीको पक्षमा केही माहौल देखिए पनि सो पार्टीले थ्रेसहोल्ड कटाउन सकेन र प्रत्यक्षतर्फ संघमा जित हात पार्न सकेन । स्थानीय चुनावसम्म आउँदा बालेन्द्र शाहको पक्षमा स्वतन्त्रको माहौल आएपछि विवेकशील साझा थप खुम्चियो । मंसिरको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको माहौलका कारण यो पार्टी झनै संकटमा पर्यो । पार्टीका अध्यक्ष नै वैकल्पिक राजनीति छाडेर राप्रपामा लागे । पटक–पटकको धक्कापछि अहिले अध्यक्ष समीक्षा र महासचिव रञ्जु दर्शनाले विवेकशील साझा पार्टीको नेतृत्व सम्हालेका छन् ।

महिलालाई नेतृत्व दिनेबेलामा अझै पनि हिच्किचाउने गरिएको र ‘उप’ को जिम्मेवारीमा खुम्च्याएने गरेको समीक्षा बताउँछिन् । तर, नेतालाई महिला र पुरुष नभनी नेता भन्नुपर्ने उनको तर्क छ । कार्यक्षमताको हिसाबले भने महिलाहरु सक्षम रहेको उनको बुझाइ छ ।

प्रस्तुत छ, कान्तिपुर टेलिभिजनकर्मी विकास आचार्यले अध्यक्ष बास्कोटासँग गरेको कुराकानीको सम्पादित अंश–

टुटफुट र विभाजनबाट जोगाउँदै विवेशकशील साझा पार्टीको प्रथम महाधिवेशन सकिएको छ । अब यो नयाँ जीवन कसरी दिनुहुन्छ ?

महाधिवेशन आफैँमा पार्टीको नयाँ जीवन हो । विवेकशील साझाको कुरा गर्ने हो भने २०७४ सालदेखि यहाँ आउँदासम्म हामीले तीन–चारपटक मिति तोकेर महाधिवेशन गर्न नसकेको अवस्था थियो । अहिले पछिल्लो समय एक महिनाभित्र महाधिवेशन घोषणा गरेर सफल पार्यौं । यसले पार्टीमा वर्षौंदेखि लागेका साथीहरू सबैजनालाई उत्साह दिएको छ, हौसला दिएको छ ।

आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने राम्रो ‘फोरम’ पनि महाधिवेशन हो । कमी कमजोरीको समीक्षा गर्ने पनि महाधिवेशन हो । हाम्रो भावी कार्ययोजना निर्माण गर्ने पनि महाधिवेशन हो । यसले हाम्रो समग्र राजनीतिक चरित्र या त राजनीतिक यात्रालाई अझ परिस्कृत गरेर अगाडि बढाएको छ । हामी सबैजना यसमा उत्साहित भएका छौं ।

हिजो रवीन्द्र मिश्रसँग असन्तुष्ट पक्षहरू जो पार्टीबाट अलग भयो र अहिले फेरि तपाईंहरूसँग एक भएको छ । हिजोको कुरा गर्ने हो भने तपाईं आफू पनि रवीन्द्र मिश्रसँग निकट हुनुहुन्थ्यो, केही कुरामा असन्तुष्ट वा केही फरक मत राखे पनि । अब विवेकशील र साझाका ती साथीहरूलाई र त्यहाँभित्र रहेका अन्तरविरोधलाई घटाउँदै कसरी एक बनाएर अगाडि बढाउनुहुन्छ ?

हिजो रवीन्द्र मिश्र पार्टीमा हुँदा या त रवीन्द्र मिश्र यो पार्टीमा नहुँदा बाहिर गएका साथीहरू वा अन्य साथीहरूका हकमा हाम्रो व्यक्तिगत तहमा (प्रसनल लेभल) मा केही थिएन । पार्टीका विभिन्न चरणमा सबैको विचारमा एकरूपता आउँछ भन्ने छैन । कहिलेकाहीँ विचारको विमति होला, कहिलेकाहीँ कार्यशैलीको विमति होला, कहिले अनेक कुरामा विमति राख्न सकिन्छ । त्यो विमतिभन्दा माथि उठेर हेर्यो भने हामीले निर्माण गर्न खोजेको र बोकेको लक्ष्य पार्टी निर्माण हो, वैकल्पिक राजनीतिको यात्रा हो ।

वैकल्पिक राजनीतिको यात्राचाहिँ हाम्रो लक्ष्य हो भने हामीले आफ्नाभित्रका विमति ठूलो बनाएर अगाडि बढाउन जरुरी नै छैन । र यो टुटफुटदेखि लिएर पाँच वर्षको सिकाइले हामीलाई के बनायो भने– राजनीति छोटो यात्रा होइन लामो यात्रा हो, धैर्य हुनुपर्छ ।

राजनीतिमा उतार–चढाव आउँछ, उतार–चढावलाई हामीले सही ढंगले सम्बोधन गरेर बढ्न सक्नुपर्छ । हामीले भनिएका कुराबाट दलहरूले सिक्ने कुरा के भन्दा– हिजो टाउकाको मोल तोक्नेहरू त एकठाउँमा आउन सके, काम गर्न सक्छन् भने भलै त्यो राज्य दोहनका लागि हो, उहाँहरू राष्ट्र हितका लागि भन्नुहुन्छ । हामी त निःस्वार्थ एउटा वैकल्पिक राजनीति स्थापना गर्नुपर्छ, सुसंस्कृत राजनीति गर्नुपर्छ, भ्रष्टाचारको विरोध गर्नुपर्छ, सुशासन कायम गर्नुपर्छ, अब ‘सोलुसन बेस पोलिटिक्स’ गर्नुपर्छ भनेका व्यक्तिहरूलाई त्यो ठूलो ‘इगो’ किन ? किनभने लक्ष्य यही भएपछि हाम्रो काम गर्न ‘फोरम’ यही हो । त्यही हिसाबले हामी एक ठाउँमा आयौं । यसलाई हामी त्यसरी नै अगाडि बढाउँछौं ।

अध्यक्ष र महासचिव दुवै महिला हुनुहुन्छ । यो अवसर र चुनौतीलाई कसरी अगाडि बढाउनुहुन्छ ?

अध्यक्ष र महासचिव दुवै महिला भएको ठूलो अवसर हो । राजनीतिक दल र नेपालको हकमा यो पहिलोपटक होला । दुवै कार्यकारी पदमा महिला छौं । अवसर धेरै नै छ । किनभने हामीले ३३ प्रतिशतका कुरा गर्छौं, महिला सहभागिताका कुरा गर्छौं तर जब महिलालाई पद दिनुपर्छ, हाम्रो मानसिकता महिला भनेको उप हो भन्ने हुन्छ । तर, यहाँ त पार्टी हाँक्ने नै महिला हुनुहुन्छ । यो एउटा अवसर हो र अन्यलाई सन्देश पनि हो । अन्य दलमा लाग्नुभएका महिलाहरूलाई के सन्देश हो भने, यहाँ हामीले पनि आवाज सशक्त उठाउनुपर्यो । यो आवाज यस्तो बुलन्द हुनुपर्यो कि नेताका रूपमा महिलालाई स्थापित गर्न सक्नुपर्यो । हामीलाई महिला नेतृ भन्न जरुरी छैन नि, नेतै हो । ‘लिडर’ नै हो महिला होस् कि पुरुष । यो ‘माइन्डसेट’लाई हामीले ‘चेन्ज’ गर्नुपर्छ ।

यो अवसर हो । चुनौतीचाहिँ महिला हुनु साथै मैले मेरो ‘प्रोफेसन’ मै भोगेको कुरा म सुनाउन चाहन्छु । म सन् २०१० मा ‘लिगल ब्याकग्राउन्ड’मा काम गर्दै गर्दा वकिल साप हुनुहुन्न भनेर वकिल सापको खोजीचाहिँ पुरुष वकिल सापको भइरहेको थियो । जब म नै त्यो ‘ल फर्म’ चलाउथेँ । भनेपछि हाम्रो चुनौती त्यो नै छ । पार्टीको ‘लिडरसिप’मा महिला आए पनि अझै हाम्रो ‘माइन्ड सेट’ र पम्परागत मान्यताका कारणले एक कदम अगाडि जान नसकेको स्थितिमा चुनौतीहरू हुन्छन् । स्वीकार्यताको चुनौती हुन्छ । महिलालाई नेता मान्नुपर्ने चुनौती हुन सक्छ । कामको हिसाबमा त सबैजना मिलेर काम गर्ने हो । कामको हिसाबमा चाहिँ कुनै पनि चुनौती देख्दिनँ ।

वैकल्पिक शक्ति भनेर २०६९ सालदेखि तपाईंहरू यो अभियानमा जोडिनुभएको छ । तथापि तपाईंहरूबाट आशाअनुसारको परिणाम हुन सकेन अथवा दिन सक्नु भएन । बरु वैकल्पिक शक्ति भनेर खोलिएका अन्य दलले छोटो समयमै एकप्रकारको सफलता हासिल गरेको देखिन्छ । के रहेछ यो वैकल्पिक शक्ति भनेको खासमा ?

यो एउटा आन्दोलन हो । यो एउटा आशा जगाउने राजनीति हो । होला विवेकशील साझा अहिले सत्तामा छैन, अहिले हामी संसदमा छैनौं । तर विवेकशील साझाले स्थापना गरेका केही प्रमुख मुद्दा छन् । त्यो भनेको नेपाल खुला छ भन्ने मुद्दा कसले स्थापन गर्यो ? आन्दोलनको प्रक्रिया कसले परिवर्तन गर्यो । अहिले हाम्रो सम्माननीय प्रधानमन्त्री कुनै समय माइतीघरमा आएर सेतो टोपी लगाएर आन्दोलन गर्नुभयो यो कुरा गर्न सकिन्छ भन्ने कुरा कसले परिवर्तन गर्यो ? सडकमै बसेर नोट चल्ने भोट नचल्ने भन्ने अभियान र त्यसलाई नीतिगत तहमै स्पष्टता ल्याउने कुरा कसले आन्दोलन गर्यो ? भनेपछि विवेकशील साझाले यी मान्यताहरू स्थापित गरेको छ । नयाँ उदाएकाका ‘लिगेसी फाउन्डेसन’ तपाईं खोज्दै जानुहुन्छ भने विवेकशील साझा हो । हामी २०६९ सालदेखि आजसम्म आइपुग्दाको ‘फाउन्डेसन’को जगमा उहाँहरूले मत प्राप्त गर्नुभएको हो । उहाँहरूले विवेकशील साझालाई इन्कार गरेर जानुभयो भने त्यो वैकल्पिक राजनीतिप्रति र हामीप्रति पनि न्याय हुँदैन । किनभने, नागरिकले मत क्रान्ति २०७४ को स्थानीय तहको चुनावमा पनि गर्न खोजेको हो । त्यसपछि संघीय चुनावमा पनि गर्न खोजेको हो । केही हदसम्म गरेको पनि हो । दुई लाख १२ हजार मत विवेकशील साझाले ल्याएकै हो । तर, त्यसबेला राष्ट्रिय पार्टी बन्न सकेन ।

नागरिकलाई एउटा भरपर्दो नयाँ दल वैकल्पिक शक्ति चाहिन्छ भन्ने थियो र निर्माण गरेको हो । वैकल्पिक भनेको चाहिँ व्यवहारमा हो । साधारण कुराभन्दा नागरिकले बुझ्ने भाषामा भन्दा बोली र व्यवहार एउटै हुने वैकल्पिक हो । ठूला–ठूला भाषण जसले पनि दिन्छ । तर नागरिकको घरमा दैनिक हुने कुराहरूलाई कसैले छुन्छ कि छुँदैन ? यदि छुन्थ्यो भने प्रेमप्रसाद आचार्यहरूले आत्मदाह गर्नुपर्दैनथ्यो । हो, वैकल्पिक राजनीति भनेको नागरिकका मुद्दा, नागरिकका आवाज, नागरिकका भावना, नागरिकका भरोसा र निश्चय नै नागरिकको अभिभावक बन्ने योजना हो ।

विवेकशील साझा पार्टीलाई जसरी तपाईंहरूले पुनःजागृत गर्नुभएको छ, यसलाई कसरी बुझ्ने ? तपाईंहरूको लक्ष्य उद्देश्य के हो ?

विवेकशील साझा पुनःजागरणका लागि हामी लडेका थियौं । हामी टुटेका थियौं, हामी फुटेका थियौं अब हामी एकजुट भएर फेरि आयौं भनेर बुझ्ने हो । हिजो हाम्रो उद्घाटन सत्रमा आएका केही नेताहरूले के भन्नुभयो भने हिजोको दिनमा विवेकशील साझालाई हेरेर हामीलाई डर लाग्थ्यो, सबै युवा यिनीहरूले सोहोर्ने भए भनेर डर लाग्थ्यो । हो, डर देखाउने हिसाबले पनि उहाँहरूले हामीलाई बुझ्नुपर्यो । त्यो डरले गर्दा उहाँहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढीकरण गर्नुहुन्छ ।

विवेकशील साझा कहीँ न कहीँ नेताहरू उत्पादन गर्ने फ्याक्ट्री या हावर्ड युनिभर्सिटी वा एमआईटी जस्तो पनि हो । यहाँ उत्पादन भएका नेताहरू विभिन्न दलमा हुनुहुन्छ । विवेकशील साझा आफैँमा एउटा दर्शन हो । जसले गर्दा यहाँका कर्मयोगीहरू अन्य दलमा गएर पनि हाम्रो मान्यता, हाम्रो मूल्यमान्यता स्थापित गर्नुहुन्छ । भनेपछि समग्रतामा राजनीतिक सुदृढीकरणको मुख्य अभियन्ता विवेकशील साझा हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.