
काभ्रे । आकाश भैरव क्लब धुलिखेलको आयोजनामा र धुलिखेल नगरपालिकाको संरक्षकत्वमा 'धुलिखेल महोत्सव कृषि, सांस्कृतिक, पर्यटन तथा व्यापार प्रवर्द्धन-२०८२' यही कात्तिक २० गतेदेखि मंसिर २ गतेसम्म धुलिखेल रंगशालामा हुने भएको छ ।
महोत्सवले धुलिखेलको सांस्कृतिक, ऐतिहासिक र भौगोलिक पहिचानलाई देश-विदेशमा प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजक समितिले जनाएको छ । कार्यक्रममा कृषि, पर्यटन, संस्कृति र व्यापार प्रवर्द्धनका विभिन्न स्टलहरू राखिने छन् । करिब १०० वटा स्टलहरूमा स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, घरेलु प्रविधि, पर्यटन र संस्कृतिसम्बन्धी सामग्रीहरू प्रदर्शन गरिनेछन् ।
मेला अवधिभर धुलिखेलका जात्राका रथ, ऐतिहासिक फोटो प्रदर्शनी तथा धुलिखेलको ऐतिहासिक जात्रा र परम्परा झल्काउने विशेष स्टलहरू पनि रहनेछन् । आयोजकका अनुसार, शुक्रबार र शनिबार विद्यार्थीका लागि ५० रूपैयाँ प्रवेश शुल्क रहनेछ भने सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । बाँकी दिनमा सामान्य प्रवेश शुल्क तोकिएको छ ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम, बाल-बालिका र परिवारमैत्री गतिविधिहरू समेत हुनेछन् । धुलिखेललाई सांस्कृतिक, पर्यटकीय र व्यापारिक गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवले नगरको आर्थिक तथा सामाजिक विकासमा नयाँ ऊर्जा दिने आयोजक क्लबले विश्वास लिएको छ ।