गगन सबैका चुनौती, रविको बोली फेरियो : कृष्ण खनाल (अन्तर्वार्ता)

मंसिर १५, २०७९
गगन सबैका चुनौती, रविको बोली फेरियो : कृष्ण खनाल (अन्तर्वार्ता)

काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा चर्चाका पात्र बनेका छन्– रवि लामिछाने, सिके राउत, रञ्जिता श्रेष्ठ चौधरी र राजेन्द्र लिङदेन । आम निर्वाचनको परिणामले यी नेताहरुलाई चर्चामा ल्याएको हो ।

चुनावी परिणाममा नेकपा एमाले, माओवादी लगायतका दलहरु खुम्चनु अनि कांग्रेसले अपेक्षाकृत सिट नजित्नुमा नयाँ उदय भएका दलको प्रत्यक्ष असर परेको बुझन् सकिन्छ ।

अहिलेको चुनावी नतिजाबाट मतदाताले दलहरुलाई कस्तो सन्देश दिन खोजेका हुन् ? आगामी दिनमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, जनमत र स्वतन्त्र पार्टी लगायतको भविश्यक कस्तो होला ? यिनै प्रश्नहरुमा कान्तिपुर टेलिभिजनका लागि सरोज सिंह थापाले राजनीतिशास्त्री कृष्ण खनाललँग कुराकानी गरेका छन् ।

राजतन्त्रको वकालत गर्ने राप्रपाको पक्षमा केही भोट आउँदैमा संविधान र गणतन्त्रमा असर नपर्ने खनालको विश्लेषण छ । साथै चुनावअघि संघीयताको विरोधमा बोले पनि चुनावपछि रवि लामिछानेको बोली फेरिएको भन्दै उनी संविधानअनुसार अगाडि बढ्ने खनालले विश्वास व्यक्त गरे ।

आगामी राजनीतिमा गगन थापा सबैका लागि चुनौती भएको खनाल बताउँछन् । उनी भन्छन्, ‘कांग्रेसभित्र मात्रै होइन, गगन थापा माओवादीका लागि पनि च्यालेञ्ज हो । प्रचण्डलाई पनि च्यालेञ्ज हो । माधव नेपाललाई पनि च्यालेञ्ज हो ।'

प्रस्तुत छ– चुनावी समीक्षा, राजनीतिक दलहरुको भविश्य र समसयामयिक राजनीतिबारे राजनीतिशास्त्रका प्राध्यापक खनालसँग गरिएको कुराकानीको संक्षिप्त अंश–

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई तपाईंले कसरी लिनुभएको छ ?

यो नेपाली जनता परिवर्तन चाहान्छन् भन्ने स्पष्ट र जबरजस्त संकेत हो । यद्यपि राजनीतिमा पुरानै खेलाडी हाबी छन् । उनीहरूको बर्चस्व हाबी छ । संकेत जनता नेतृत्वमा परिवर्तन चाहन्छन् भन्ने नै हो । हामीले जुन ‘परम्परागत भोट बैंक’ भन्दै आएका थियौं, यसपालि भत्किएको छ । बढी काठमाडौं र चितवनमा भत्किएको हो । तर, देशव्यापीरुपमै भत्किएको देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा उल्लेखनीय भोट ल्याउनु, प्रदेशसभाको चुनावमा सहभागी नहुनु र राजतन्त्रको विषयमा मौन बस्नुलाई कसरी लिने ?

रवि लामिछानेले पार्टी खोल्दैछन् भनेर तपाईंहरूकै माध्यमबाट मैले थाहा पाएको हो । उनीसँग मेरो व्यक्तिगत चिनजान छैन । गम्भीररूपमा मैले उनलाई चिन्न सकेको थिइनँ । चर्चामा आएपछि उनी को रहेछन् भनेर बुझ्दा चुनाव परिणाम आएपछि बोली फेरिएको छ । संविधानमै काम गर्ने बताएका छन् । रवि सरकारमा जानु भन्दा प्रतिपक्षमै बस्नु उचित हुने खनालको सुझाव छ ।

संविधानले त गणतन्त्र नै भन्छ । संविधानले संघीयता नै भन्छ । उनको पार्टीले निर्वाचनसम्म संघीयता खारेज भनिरहेको थियो । निर्वाचन परिणामपछि रवि लामिछानेकै मुखबाट के कता कमजोरी छ, समीक्षा गर्नुपर्छ भनेको सुनियो ।

अहिलेको अवस्था एजेण्डा कसरी निर्माण हुन्छ, त्यो मुख्य कुरा हो । सामाजवाद, साम्यवाद, केन्द्रवाद यी कुरा कुनै वाद होइनन् अब । त्यो पार्टीले सुशासनको चर्को नारा लगाएको छ । नारा मात्र लगाएर केही हुँदैन । त्यो पार्टीको सुशासन प्राप्तिका माध्ययमहरू के–के हुन सक्छन् ? यसका लागि संस्थालाई कसरी विकास गर्ने ? कानुनलाई कसरी प्रयोग गर्ने ? यी कुराले सुशासन निर्धारण गर्छ । सुशासन कायम गर्छु, भष्ट्राचार हुन्न दिन्नँ, यी सस्ता र सरल नारा हुन् । यी नाराको प्रयोग देशमा धेरै हुन्छ । गएको पाँच वर्ष पार्टीहरूले यही नारा लगाएर आएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भष्ट्राचारविरुद्ध चर्को नारा लगाएका छन् । उनीहरूको संस्थाको संरचना अनुसार त्यो सम्भव छ ?

राप्रपाको केही भोट आउनु म ठूलो कुरा देख्दिनँ । यो पार्टीलाई २०४८ सालदेखि नै १० प्रतिशतको हाराहारीमा ‘कन्जरभेटिभ’ भोट आएको अवस्था छ । परिवर्तनको बहाव आएका बेला यो पार्टी अस्तित्वमा रहँदैन । परिवर्तनपछि स्थिर अवस्थामा यो पार्टी पुनः आफ्नो आकारमा आउँछ । २०४८ दुई–तीन सिट जित्यो । २०५१ मा २० सिट जित्यो । २०५६ मा बाँडिन थाल्यो, केही भोट घट्यो । २०६४ मा राजनीतिको नयाँ उभार आयो, अस्तित्व समाप्त भयो । दोस्रो संविधानसभा चुनावमा कमल थापाको नेतृत्वका केही उद्धार भयो । २०७४ को चुनावमा राप्रपाको अस्तित्व थिएन । अहिले केही सिट आएको अवस्था छ । यो त सकिएको फोर्स हो । यो पार्टी विकल्प पनि हुन सक्दैन । यो कन्जरभेटिभ भोटलाई लिएर, आठ–१० सिट लिएर बस्ने पार्टी हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी भष्ट्राचार विरोधी अभियानमा कतिको प्रभावकारी बन्ला ?

राष्ट्रिय स्वतन्त्र पार्टीलाई मैले एउटा प्रतिकका रूपमा मात्र लिएको छु । मतदाता परिवर्तन चाहान्छन् । यो पार्टीले विस्थापन त गर्न सकेको छैन नि । अहिलेको संस्थापनको विरुद्धमा मतदाता छन् । तर, आकांक्षा पोख्ने ठाउँ नपाउँदा मतदाता यो पार्टीमा आएर ‘भेन्टिलेट’ भएका छन् । यो पार्टीले काठमाडौंमा धेरै सिट पनि जित्यो । समानुपातिकमा स्थापित पार्टीलाई पछाडि छाडेको अवस्था छ । काठमाडौंमा कांग्रेसले पाँच सिट जित्यो, एमालेले एक सिट जित्यो, स्वतन्त्र पार्टीले चार सिट जित्यो । यो पार्टीले केही ठाउँमा समानुपातिकतर्फ कांग्रेसलाई पनि उछिनेको छ । यसले मतदाताभित्र परिवर्तनको व्यापक चाहाना भएको संकेत गर्छ । जनता तेस्रो शक्तिको खोजीमा छन् । यो आफैँमा तेस्रो शक्ति बनेर वैकल्पिक रुपमा स्थापित हुन्छ हुँदैन, आफैँमा प्रश्न छ । पार्टी बन्ने प्रारम्भिक चरणमा छ ।

जसरी राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी रुपमा चर्चा पायो, सुदूरपश्चिम र मधेस प्रदेशमा पहिचान पक्षधर जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले जसरी जनमत हासिल गरेको छ, यसलाई चाहिँ कसरी बुझ्ने ?

जनमत पार्टीले ल्याएको भोटले क्षेत्रीय चाहना देखाएको छ । पहिला उनीहरूलाई जसपा र लोसपाले प्रतिनिधित्व गर्थे । उनीहरूको अवस्थासँग जनता सन्तुष्ट भएको अवस्था छैन । त्यसैले त्यहाँ पनि एउटा विकल्पको खोजी हो ।

जनमत पार्टी क्षेत्रीय शक्तिका रुपमा आएको छ । उसले एकसिट जितेको छ, तर पपुलर भोटलाई हेर्ने हो भने उसको जग चाहिँ बनिराखेको देखिन्छ । त्यो पार्टी लोसपा र जसपालाई विस्थापन गर्ने हैसियतमा अझै पनि पुगेको छैन ।

नागरिक उन्मुक्ति पार्टीलाई थरुहट आन्दोलनकै एउटा निरन्तरताका रुपमा लिन सकिन्छ । जुन फ्याक्टरले यो पार्टी जन्मियो, रेसम चौधरीमाथि अन्याय भयो भन्ने थारु मतलाई यसले प्रतिनिधित्व गर्दछ । तर, यसको आधारमा, रियाक्सनमा त पार्टी बन्दैन नि त । रियाक्सन प्रारम्भ हुन सक्छ तर त्यसलाई तर्कसंगत बनाउन सक्नुपर्छ ।

जस्तो– कांग्रेस एमालेको असन्तुष्टि केही राष्ट्रिय स्वतन्त्र पार्टीमा भेन्टिलेट भयो । तर, त्यतिले त पुग्दैन । त्यो पार्टीले आफ्नो जितलाई विवेकपूर्ण तरिकाले उपयोग गर्न जान्नुपर्दछ । त्यसैले, अहिले नागरिक उन्मुक्ति पार्टीका लागि चुनौती के छ भने यो त झन् पार्टी बनेकै छैन । टीकापुर घटनाको प्रतिक्रियाका रुपमा एउटा व्यक्तिमा केन्द्रित छ । तर, यो भित्रको एउटा सन्देश के हो भने थारु मतको प्रादेशिक चाहनालाई यसले अत्यन्त स्पष्टसँग देखाएको छ ।

यी तीन पार्टी जसरी उदाएका छन्, राष्ट्रिय राजनीतिमा आगामी पाँच वर्ष यी पार्टीहरुको भूमिका कस्तो रहला ?

यही सत्ता फेरबदलमा हिजोकै निरन्तरता एउटा हुन सक्छ होला । बन्दैन भनेर क्लिन चिट दिन सकिँदैन । जुन किसिमको नेपालको राजनीतिक संस्कार छ, त्यसबाट यी अपवाद हुन्छन् भनेर भन्न कठिन छ । अर्को कुरा हेर्नोस्, पावर हो पोलिटिक्सको । पावरमा आकर्षण हुन्छ । भोलि किन नजाने मन्त्री बन्न भन्ने कुरा आउन सक्छ । मन्त्री पदसँग धेरै कुरा जोडिएको छ । सत्तामा गइसकेपछि पार्टी संगठन गर्न जिलो हन्छ भन्ने हाम्रो मानसिकता पनि बनेको छ । त्यसैले म तात्विक अन्तर हुने देख्तिनँ ।

अलिकति असर पार्ने राष्ट्रिय स्वतन्त्र पार्टीले हुन सक्छ । किनभने, त्यहाँ रवि लामिछाने मात्रै होयन कि केही मानिसहरु उछिट्टिएर आएका छन् । उनीहरुका कुरा सुन्दाखेरि मलाई आशा जगाएको छ । जितेर आएका केही युवा सांसदसँग मैले आशा गर्ने प्रशस्त ठाउँ देखेको छु । तर, यसका अगाडि चुनौती छ ।

यहाँको विचारमा आगामी दिनमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालका चुनौतीहरु के–के हुन् ? के अब पुराना पार्टीहरु संकटमा परेका हुन् ?

यी नेताहरु त अब चुनौतीको घेरामा पर्दै आए र यो घेराबाट मुक्त हुन सकेनन् । एउटा जालोबाट निस्कन्छन्, अर्को जालोमा फस्छन् । अब उनीहरुले विदा हुने बाहेक अर्को विकल्प छ जस्तो लाग्दैन । उनीहरुको चुनौती अब कसरी सम्मानजनक विदा हुने भन्ने नै हो । साँच्चै भन्ने हो भने उनीहरुका लागि अहिले विदाईको राम्रो अवसर आएको छ ।

मैले ०४८ सालदेखि संसद देखिराखेको छु । केही अपवादबाहेक संसदीय प्रणाली निरन्तर छ । हामीले नाम लिन लायकका सांसद कतिजना छौं त ? कुन चाहिँ सांसदले यो संसदीय अभ्यासमा एउटा विषयमा दख्खल राख्यो ? कसैको शिक्षामा, कसैको कृषिमा, कसैको उद्योगमा, स्वास्थ्यमा, केहीमा हुन सक्थ्यो नि त । त्यो विषयमा यसले बोल्दाखेरि सरकारदेखि लिएर सबै सांसदले के बोल्छ भनेर ध्यान केन्द्रित गर्न सकुन् । त्यस्तो एउटा पनि भएन । एउटै मान्छे निस्कियो, प्रदीप गिरि । प्रदीप गिरि मुद्दामा प्रवेश गरेका मान्छे होइनन् । उनले केही आदर्श, सिद्धान्तका कुरा गर्दिन्थे । उनी कसैलाई चुनौती थिएनन् ।

अर्को, गगन थापाको प्रस्तुती सदनमा राम्रै देखिन्छ । तर, यो कुरालाई पार्टीभित्र कसैले कदर गर्न चाहँदैनन् । किनभने, उनी सबैका लागि च्यालेञ्ज हो । कांग्रेसभित्र मात्रै होइन, गगन थापा माओवादीका लागि पनि च्यालेञ्ज हो । प्रचण्डलाई पनि च्यालेञ्ज हो । माधव नेपाललाई पनि च्यालेञ्ज हो । 


Enter Kantipur TV HD
Advertisement