
काठमाडौं । क्युबाको ऊर्जा मन्त्रालयले राष्ट्रिय विद्युत् प्रणाली पूर्णरूपमा विच्छेद भएको जनाएको छ ।
जसका कारण झन्डै १ करोड १० लाख जनसंख्यामध्ये १ करोडभन्दा बढी जनता अन्धकारमा छन् । ऊर्जा केन्द्रहरू सञ्चालनका लागि आवश्यक इन्धन कटौती भएपछि क्युबामा देशव्यापी अन्धकार निम्तिएको हो । ऊर्जा मन्त्रालयले राष्ट्रिय विद्युत् प्रणाली पूर्णरूपमा विच्छेद भएको र पुनर्स्थापना प्रक्रिया सुरू भइसकेको जनाएको छ ।
यसअघि गत सोमबार देशभर विद्युत् प्रसारण तथा वितरण प्रणाली प्रभावित भएको थियो । समस्या समाधान गर्न नपाउँदै शनिबार फेरि क्युबा अन्धकारमय बनेको हो । सोमबार विद्युत् कटौतीपछि क्युबा सरकारको विरोधमा मोरोन सहरमा प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरूले कम्युनिष्ट पार्टीको मुख्यालयमा पनि आगजनी गरेका थिए ।
अमेरिकाले भेनेजुएलामा राजनीतिक हस्तक्षेप गरेपछि भेनेजुएला हुँदै क्युबामा आउने कच्चा तेलको निर्यात बन्द छ । अमेरिकाको दबाबमा मेक्सिकोले पनि क्युबामा कच्चा तेलको निर्यात कटौती गरेको छ ।