.png&w=1000&height=550)
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका महिलाहरू समूह बनाएर पानी शुद्धीकरण, खेती चक्र र बाढीपहिरोबाट जोगिन पूर्वसूचना प्रणालीमा काम गर्न थालेका छन् ।
महाकाली नदी किनारका तीनवटा वडाका महिलाहरू समूहगतरूपमा छलफल गर्दै आयआर्जनतर्फ लाग्न लागेको हुन् । यी महिलाहरूले भारततर्फ महाकाली पारीका बस्तीहरूमा बसोबास गर्ने स्थानीयहरूसाग डडेल्धुरामा भेला भएर महाकाली संवाद गरेका छन् ।
परशुराम नगरपालिका वडा नम्बर ५ परिगाउँकी सुन्दरी भट्ट अहिले आफैंले दिनहुँ पानी शुद्धीकरण गरेर पिउने गर्नुहुन्छ। उहाँ गाउँका अन्य परिवारलाई पनि पानी शुद्धीकरणको तरिका सिकाउने गर्नुहुन्छ। गाउँमा महिलाहरूले समूह नै बनाएर पानी शुद्धीकरणदेखि खेतीमा नयाँ नयाँ काम गर्न थालेका छन् ।
परिगाउँमा मात्रै होइन परशुरामका करिब दर्जन बस्तीमा महिलाहरू समूह बनाएर काम गर्न थालेका छन् । चुलोचौकीमा मात्रै व्यस्त हुने महिलाले अहिले समूहमा आबद्ध भएर खेतीबाली, नदीको जलस्तर मापन र गाउँमा पानी शुद्धीकरणका तरिका सिकाउने गरेका छन् । गाउँमा महिलाहरूले गाउँमा सामूहिक समस्याबारे छलफलसमेत गर्ने गरेका छन् ।
अब यो छलफल स्थानीयस्तरमा सीमित नरहेर सीमा पार पुगेको छ । नेपाल र भारतका महाकाली नदी किनारका बस्तीहरूमा स्थानीयहरू डडेल्धुरामा जम्मा भएर नदी कटान, पानी शुद्धीकरण र पूर्वसूचना प्रणालीमा व्यापक छलफल गरेका छन् । नेपाल र भारतका नदी किनारका बस्तीहरूमा उस्तै समस्या भएको भन्दै त्यससँग जुध्ने उपायबारे बृहत् छलफल गरेका छन्।
नेपाल भारतको सीमा महाकाली नदीबाट हुन सक्ने क्षतिलाई रोक्ने उपायबारे छलफल र अनुभव आदानप्रदान भएको हो । परशुराम नगरपालिका क्षेत्र डडेल्धुराको सबैभन्दा बढी बाढीपहिरोबाट प्रभावित क्षेत्र हो। महाकालीबाट हुने क्षति काम गर्न नदी किनार बस्तीका नेपाल र भारतका समुदायबीच संवाद गरिएको हो ।
डडेल्धुरामा भेला भएका दुई देशका सीमा क्षेत्रका नागरिकबीचको संवादले साझा समस्या पहिचान र समाधान गर्न सहज हुने देखिएको छ । नदी कटान, पूर्वसूचना प्रणालीमा दुवै देशका नागरिक मिलेर काम गर्न सञ्जाल तयार गर्दैछन् ।