संसदीय समिति सभापतिहरूमा रास्वपाले थाल्यो मनोनयन दर्ता

वैशाख ३, २०८३ |कान्तिपुर टीभी संवाददाता
संसदीय समिति सभापतिहरूमा रास्वपाले थाल्यो मनोनयन दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिहरूका सभापतिहरूमा नाम टुंगो लगाएर मनोनयन दर्ता गरेको छ । आज बसेको संसदीय दलको बैठकले कानुन न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा अशोक चौधरी, पूर्वाधार विकासमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिलामा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासनमा हरि ढकालको नाम टुंगो लगाएको हो । 

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचनलाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यस्तै संयुक्त समितिका रूपमा रहेका संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्कीको नाम टुंगो लागेको छ ।

त्यस्तै अन्तराष्ट्रिय सम्बन्ध र पर्यटनमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितमा रहबर अन्सारीको नाम रास्वपाले टुंग्याएको छ । संघीय संसद्‍मा १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभाअन्तर्गत १० वटा र राष्ट्रिय सभाअन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा भने संयुक्त समिति रहेका छन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति र संसदीय सुनुवाइ समिति भने संयुक्त समिति हुन् ।

बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी र सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको छ । प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि रास्वपाले मनोनयन दर्ता पनि गराएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.