
काठमाडौं । बंगलादेशमा सम्पन्न आम निर्वाचनबाट विजयी उम्मेदवारहरूले आगामी मंगलबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।
मन्त्रिपरिषद्का सचिव शेख अब्दुर रसिदले पत्रकारहरूसँग कुरा गर्दै सपथ ग्रहण सम्पन्न भएपछि दलहरूको संसदीय दलको नेता चयन प्रक्रिया सुरू हुने बताउनुभयो । बहुमतप्राप्त दलको संसदीय दलका नेताले राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरेपछि राष्ट्रपतिले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने उहाँले बताउनुभयो ।
हालसम्म प्रधानमन्त्रीको सपथ ग्रहणको मिति तय भइसकेको छैन । यद्यपि सार्वजनिक मतपरिणामअनुसार बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का अध्यक्ष तारिक रहमानले नयाँ बन्ने सरकारको नेतृत्व गर्नुहुने भएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा बीएनपीले दुई-तिहाइभन्दा बढी मत प्राप्त गरेको थियो ।
२९९ संसदीय सिटमध्ये २९७ मा निर्वाचन सम्पन्न हुँदा बीएनपीसहितको गठबन्धनले २१२ सिटमा विजय हासिल गरेको छ । बीएनपी एक्लैले भने २०९ सिटमा विजय हासिल गरेको छ । यस्तै निर्वाचन परिणाम सार्वजनिक भएपछि राजधानी ढाकामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रहमानले नयाँ सरकारले यसअघिको तानाशाही शासन व्यवस्थाले छोडेर गएको शिथिल अर्थतन्त्र, रुग्ण सार्वजनिक संस्थान तथा कमजोर शान्ति सुरक्षाका बीच आफ्नो काम सुरु गर्ने बताउनुभएको छ ।
न्याय तथा विधिको शासन स्थापना गर्नु नयाँ सरकारको मुख्य काम हुने भन्दै उहाँले नागरिकको जीवनस्तर सुधार्ने संकल्पसमेत गर्नुभयो । विधिको शासन स्थापना नभए आफूहरूको सम्पूर्ण मेहनत व्यर्थ हुने उहाँको भनाइ थियो । रहमानले सम्पूर्ण राजनीतिक दललाई राष्ट्रिय हितमा एकताबद्ध हुन आह्वान गर्दै प्रजातन्त्रलाई कमजोर बनाउनसक्ने प्रत्येक विभाजनकारी गतिविधिसँग सचेत हुन आग्रहसमेत गर्नुभयो ।