
काठमाडौं । इंग्लिस प्रिमीयर लिग-इपीएलमा आइतबार ४ खेल हुँदै छन् ।
राति पौने ८ बजे लिगको तेस्रो स्थानमा रहेको एस्टन भिल्लाले घरेलु मैदान भिल्ला पार्कमा ब्रेन्टफोर्डलाई स्वागत गर्दैछ । घरेलु मैदानमा बलियो प्रदर्शन गर्दै आएको भिल्ला शीर्ष दुईसँगको दूरी घटाउने लक्ष्यमा हुनेछ भने ब्रेन्टफोर्ड लगातारको अस्थिर नतिजाबाट उकासिन चाहन्छ ।
२३ खेलमा ४६ अंक जोडेको एस्टन भिल्ला शीर्ष स्थानको आर्सनलभन्दा ७ अंकले पछि छ । दोस्रो स्थानको सिटी र एस्टन भिल्लाको समान अंक छ । यो खेल जितेमा र आजै राति हुने अर्को खेलमा म्यानचेस्टर सिटी टोटनहमसँग बराबरीमा रोकिए वा पराजित भए एस्टन भिल्ला लिगको दोस्रो स्थानमा पुग्ने छ । ब्रेन्टफोर्ड ३३ अंकसहित नवौं स्थानमा छ ।
यसैसमय ओल्ड ट्राफोर्डमा छैटौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले फुलहमको आतिथ्यता गर्नेछ । च्याम्पियन्स लिग स्थानको होडमा रहेको युनाइटेडका लागि यो खेल अत्यन्त महत्वपूर्ण हुनेछ । यता, सातौं स्थानमा रहेको फुलहमले जित निकाले शीर्ष चारको दौडलाई अझ रोचक बनाउनेछ ।
पौने ८ बजे नै नटिङ्घम फरेस्ट र क्रिस्टल प्यालेस आमनेसामने हुनेछन् । रेलिगेसन नजिक रहेका दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण हुने निश्चित छ । आजको सबैभन्दा प्रतिक्षित खेलमा राति सवा १० बजे टोटनहमले अकं-तालिकामा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी को सामना गर्नेछ । सिटी उपाधि दौडलाई निरन्तरता दिन चाहन्छ भने टोटनहम घरेलु मैदानमा सिटीविरूद्ध आफ्नो साख जोगाउने लक्ष्यमा हुनेछ ।