
काठमाडौं । आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भवनमै सञ्चालन हुने भएको छ ।
निर्वाचनपछिको संसद् सञ्चालन गर्न सरकारले निर्माणाधीन संसद् भवन उपलब्ध गराउने जानकारी गरिसकेको संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिनुभयो । आइतबार प्रवक्ता गिरीले निर्माणाधीन संसद् भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने जानकारी गराएको बताउनु भयो ।
उहाँकाअनुसार प्रतिनिधि सभा गठन भइसकेपछि राष्ट्रिय सभाको बैठक समेत सोही निर्माणाधीन संसद् भवनबाटै सञ्चालन हुनेछ । प्रवक्ता गिरीले निर्माणाधीन संसद् भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिसकेको भन्दै चैतसम्म बाँकी काम सम्पन्न गर्नेगरी सरकारसँग निरन्तर छलफल भइरहेको बताउनु भयो ।
उहाँले निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सञ्चालनको लागि सचिवालयले अन्य कुनै विकल्प नहेरेको समेत बताउनु भयो । उहाँले अत्याधुनिक प्रविधिसहित निर्वाचनपछिको संसद् सञ्चालन गर्न आवश्यक तयारी भइरहेको समेत जानकारी दिनुभयो ।
यसअघि संसद् बैठक बस्दै आएको काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन-जी आन्दोलनको क्रममा आन्दोलनकारीहरूले आगजनी गरेर ध्वस्त बनाएका थिए । उक्त भवनको पुनर्निर्माण कार्य अझै सुरू भएको छैन । हाल राष्ट्रिय सभाको १९औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन भइरहेको छ ।