प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

माघ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतदाता नामावली र मतपत्र छपाइको कामलाई तिव्रता दिएको छ ।

आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र र मतदाता नामावली छपाइको कामलाई तिव्रता दिएको जानकारी दिनुभयो । उहाँकाअनुसार समानुपातिक तर्फको मतपत्र छपाइको काम सकिएको छ भने प्रत्यक्षतर्फको मतपत्रको छपाइ सुरू भएको छ । 

हालसम्म प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाइको काम सकिएको उहाँले जानकारी दिनुभयो । प्रवक्ता भट्टराईले समानुपातिकतर्फ आवश्यक दुई करोड ८ लाख ३० हजार मतपत्रको छपाइ कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँकाअनुसार गएको हप्तादेखि प्रत्यक्ष तर्फका मतपत्र छपाइ सुरू गरिएको हो । 

प्रत्यक्षतर्फ अब करिब दुई करोड मतपत्रमध्ये १ करोड ७० लाख छपाइ गर्न बाँकी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार दैनिक १२ देखि १५ लाखको संख्यामा मतपत्र छपाइ भइरहेको छ । मतदाता नामावली छपाइको काम पनि आगामी हप्तामा सकिने उहाँको भनाइ छ ।

उहाँले निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले निर्धारित कार्ययोजनाअनुसार कामलाई तिव्र बनाउँदै लगेको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.