आयोगले सोध्यो आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण

माघ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
आयोगले सोध्यो आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ ।

आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो । 

उहाँले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिनुभयो । बाँकीको जवाफ आउने क्रममा रहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार आयोगले आचारसंहिता उल्लङ्घनका घटनाको अध्ययन र विश्लेषण गर्न कार्यदल गठन गरेको छ । 

कार्यदलले सोधिएको स्पष्टीकरणमा जवाफ पठाएकाहरूलाई कारबाही गर्ने वा नगर्ने निर्णय गरेर केन्द्रीय आचारसंहिता अनुगमन समितिमा सिफारिस गर्ने उहाँले जानकारी दिनुभयो । नियतवश आचारसंहिता उल्लङ्घन भएको पुष्टि भए आयोगले कारबाही गर्ने उहाँले बताउनु भयो ।

उहाँले आचारसंहिता कार्यान्वयनका लागि जिल्लास्तरमा पनि अनुगमन व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार आर्थिक पक्षको अनुगमनका लागि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुखलाई र अन्य विषयको अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ ।

मिथ्या सूचना प्रसारण गर्नेलाई कारबाही गर्न सिफारिस

निर्वाचन आयोगले डिजिटल माध्यामबाट मिथ्या सुचना प्रसारण गर्नेलाई पहिचान गरी कारबाही गर्न सिफारिस गरेको छ । आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र (ईआईडीसी)अन्तर्गतका निकायहरूले मिथ्या सूचना प्रवाह गर्नेहरूको पहिचान गरेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । 

उहाँकाअनुसार हानिकारण सूचना फैलाउने १२० वटा सामग्री विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ । त्यस्तै, ६ वटा सामग्री दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणमा, १५ वटा प्रेस काउन्सिल ऐन, २०४८ अन्तर्गत प्रेस काउन्सिल नेपालमा र निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनसम्बन्धी ३४ वटा सामग्री केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले आयोगको कल सेन्टरमा हालसम्म १ हजार ६७७ वटा प्रश्न प्राप्त भएको पनि जानकारी दिनुभयो । तीमध्ये सबैभन्दा बढी मतदाता नामावलीसम्बन्धी ९०६ वटा प्रश्न रहेका छन् । आचारसंहितासम्बन्धी १३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य विषयका ५७५ वटा प्रश्न प्राप्त भएको उहाँले बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.