उदयपुरमा सहुलियतको मल कालाबजारी गर्ने पक्राउ

माघ १७, २०८२ |भोटराज राई
उदयपुरमा सहुलियतको मल कालाबजारी गर्ने पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा कृषकका लागि आएको सरकारी सहुलियतको मल कृषि सहकारीले नै कालाबजारी गरेको फेला परेको छ ।

कटारी ३ स्थित दुर्गा भवानी कृषि सहकारीले कृषकका लागि भनेर नगरपालिकाको सिफारिसमा ल्याएको मल सिन्धुली जिल्लामा बिक्री गरेको फेला परेको हो । सहकारीले एक ट्रिपर मल शुक्रबार सिन्धुलीको दुधौलीस्थित गोदामलाई बेचेको अवस्थामा किसान संघर्ष समितिको सक्रियतामा फेला पारेको थियो । गोदाममा ट्रिपर झारेर भण्डारण गर्दै गरेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेर सहकारी सञ्चालक, गोदाम सञ्चालक र ट्रिपरसहित प्रहरीले नियन्त्रणमा लिएको कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

कृषकको नाममा नगरपालिकाबाट सिफारिस लिएर सस्तोमा खरिद गर्ने र बजारका गोदामहररूसँग नाफा लिएर बेच्ने गरेको सहकारी सञ्चालकको कर्तुत खुलेको हो । कृषकलाई सहुलियतको मल अभाव देखाउने र बजारमा किन्न बाध्य पारेर कालाबजारी गर्ने गरिएको पाइएको हो ।

सहकारी र सहकारी सञ्चालकहरू पेशल भट्टराई, हीरा बास्तोला कारवाहीको दायरामा आएका छन् । नगरपालिकाले सो सहकारी खारेजी गर्ने निर्णय गरेको छ भने थप कारबाहीको लागि सम्बन्धित निकायमा नगरपालिका आफैले जाहेरी दिने तयारी थालेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

यसअघि पनि कृषकको सहुलियतको मल कालाबजारी गर्ने गोदाम सञ्चालक सन्तोष दाहाल कारवाहीमा परेका थिए । उक्त गोदाम पनि खारेजीमा परेको छ ।

कृषि सहकारीहरूले अहिले मल खरिद गरेर गोदाममा भण्डारण गरी कृषकलाई आवश्यक पर्दा सहुलियत मुल्यमा विक्री गर्नु पर्ने हुन्छ । सहकारी भने गोदामहरुसँग मिलेर मल कलाबजारीमा लागेपछि कृषकले मलको अभाव झेल्दै आएका थिए । बजारमा किन्दा चर्को मूल्य तिर्नुपर्ने बाध्यता थियो ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।