
उदयपुर । सहलेश युवा क्लब सिराहा नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
उदयपुरको बसाहामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा सहलेश युवा क्लबले दमक फुटबल एकेडेमी झापालाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । बिकी चाम्लिङ राईले खेलको पहिलो मिनेटमै गोल गर्दै सहलेसलाई सुरुवाती अग्रता दिलाएका थिए ।
१८औं मिनेटमा विदेशी खेलाडी पेपेले गोल गरेपछि सहलेसले २ गोलको अग्रता बनायो । त्यसको ५ मिनेट पछि दमकका लागि किस्मत लिम्बुले गोल फर्काउँदै अन्तर कम गर्ने प्रयास गरे । तर ५० मिनेटमा सुनिल खड्का र ५७औं मिनेटमा राजेश दाहालले गोल गरेपछि सहलेसले ४-१ को फराकिलो जित सुरक्षित गर्यो ।
प्रतियोगिता अन्तर्गत शनिबार न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरी र नेपाल खेलकुद क्लब रौतहट प्रतिस्पर्धा गर्ने छन् ।