थाइल्यान्डको उत्तरपूर्वी क्षेत्रमा निर्माणस्थलको क्रेन यात्रुबाहक रेलमाथि खस्दा कम्तिमा २२ जनाको मृत्यु

५५ जना घाइते/ घटनास्थलमा उद्धार कार्य जारी
पुस ३०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
थाइल्यान्डको उत्तरपूर्वी क्षेत्रमा निर्माणस्थलको क्रेन यात्रुबाहक रेलमाथि खस्दा कम्तिमा २२ जनाको मृत्यु

काठमाडौं । थाइल्यान्डको उत्तरपूर्वी क्षेत्रमा हाई-स्पीड रेलमार्ग निर्माणमा प्रयोग गरिएको क्रेन यात्रुबाहक रेलमाथि खस्दा कम्तिमा २२ जनाको मृत्यु भएको छ ।

अलजजिराका अनुसार बुधबार बिहान भएको उक्त दुर्घटनामा अन्य ५५ जना घाइते भएका छन् । राजधानी बैंककबाट २३० किलोमिटर उत्तरपूर्वमा पर्ने नाखोन रत्-चासीमा प्रान्तको सिखियो जिल्लामा उक्त दुर्घटना भएको हो । 

उक्त रेल बैंककबाट उबोन रत्-चाथानीतर्फ गइरहेको थियो । रेल गुडिरहेको अवस्थामा माथिबाट क्रेन खसेपछि रेलले ठक्कर दिएको र त्यसलगत्तै आगलागी भएको थियो । सुरुमा ४ जनाको मृत्यु भएको भनिए पनि उद्धारका क्रममा मृतकको संख्या बढेर २२ पुगेको थाई प्रहरीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय प्रहरीका अनुसार क्रेन खसेपछि रेल ट्र्याकबाट बाहिरिएको थियो । घटनास्थलमा उद्धार कार्य भइरहेको छ भने भग्नावशेषमा मानिसहरू फसिरहेका हुनसक्ने भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।