
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रूस र चीनको प्रभाव रोक्न अमेरिकाले ग्रिनल्यान्ड आफ्नो स्वामित्वमा लिनु आवश्यक रहेको प्रतिक्रिया दिनुभएको छ ।
शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै ट्रम्पले देशहरूले स्वामित्व राख्नुपर्छ र त्यसको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लिज सम्झौताले सुरक्षा दिन नसक्ने भन्दै अमेरिकाले ग्रिनल्यान्डको रक्षा गर्ने बाध्यता रहेको बताउनुभयो । यो अभिव्यक्ति ह्वाइट हाउसले डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रिनल्यान्ड किन्न सकिने सम्भावनाबारे विचार गरिरहेको तर बल प्रयोग गरेर अमेरिका अन्तर्गत गाभ्ने विकल्प पनि खुला राखेको भनाइपछि आएको हो ।
डेनमार्क र ग्रिनल्यान्ड दुबैले यो क्षेत्र बिक्रीका लागि नभएको स्पष्ट पारेका छन् । डेनमार्कले सैन्य कारबाही भए ट्रान्स-एट्लान्टिक रक्षा गठबन्धन (नाटो) नै संकटमा पर्ने चेतावनी दिएको छ । उत्तर अमेरिका र आर्कटिक क्षेत्रको बीचमा अवस्थित ग्रिनल्यान्ड क्षेप्यास्त्र आक्रमणको अवस्थामा प्रारम्भिक चेतावनी प्रणाली तथा क्षेत्रीय समुद्री गतिविधिको निगरानीका लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ ।