भेनेजुएलामा राजनीतिक कारबाही तिव्र

पुस २२, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भेनेजुएलामा राजनीतिक कारबाही तिव्र

काठमाडौं । अमेरिकाले राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेपछि पनि भेनेजुएलामा राजनीतिक दमन तीव्र पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीका अनुसार भेनेजुएलाको पत्रकार तथा मिडिया वर्कस युनियनले सोमबार कम्तिमा १४ पत्रकारलाई हिरासतमा लिइएको जनाएको छ, जसमा १३ जना अन्तर्राष्ट्रिय एजेन्सीका र एक जना राष्ट्रिय पत्रकार छन् । तीमध्ये एक जनालाई देश निकाला गरिएको छ । 

सडकमा सेना र प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ भने सरकारको आदेशमा सशस्त्र मिलिसियाहरूले अमेरिकी कारबाहीको समर्थन गर्नेहरूलाई खोजी खोजी कारबाही गरिरहेको जनाइएको छ । राजधानीका दर्जनौं ठाउँमा चेकप्वाइन्ट खडा गरिएका छन् भने सुरक्षाकर्मीहरुले मानिसहरुका फोनसमेत चेक गरिरहेका छन् । विदेशी पत्रकारलाई निषेध गरिएको छ ।

राजधानी काराकासका सडकमा सशस्त्र बलको रात्रि गस्ती सुरू गरिएको छ । गृहमन्त्री डिओस्डाडो काबेलोले सोमबार राति राजधानीका केही क्षेत्रमा तैनाथ सुरक्षा बलको भ्रमण गर्नुभएको थियो । यसैबीच, विपक्षी नेता मारिया कोरिना माचादोले सामाजिक सञ्जालमा पोस्ट गर्दै सबै राजनीतिक बन्दीको रिहाइको माग गर्नुभएको छ । 

सन् २०२४ मा भएको विवादास्पद राष्ट्रपति चुनावपछि हजारौं विपक्षी समर्थक र व्यक्तिलाई पक्राउ गरिएको थियो । यता अमेरिका पुर्‍याइएका मदुरोलाई सोमबार न्युयोर्कस्थित संघीय अदालतमा उपस्थिति गराइएको छ । न्यायाधीशसमक्ष उहाँले आफू अझै राष्ट्रपति रहेको र निर्दोष रहेको जिकिर गर्नुभएको थियो । 

उहाँलाई अवैध हतियार र लागूऔषधको मुद्दा लगाइएको छ । मदूरोको अर्को पेसी आगामी मार्च १७ का लागि तोकिएको छ ।