
काठमाडौं । ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा अमेरिकाले भीषण आक्रमण गरेको छ ।
अमेरिकाले राजधानी काराकाससहित सैन्य केन्द्रहरुलाई निशाना बनाउँदै आक्रमण गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक भएका भिडियोमा विमानस्थलमा ठूलो विस्फोट र आगोका दृश्य देखिएका छन् । काराकासका केही स्थानमा विद्युत अवरुद्ध भएको छ ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भेनेजुएलाविरुद्ध व्यापक आक्रमण गरेको जनाउँदै राष्ट्रपति निकोलस मडुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिइएको दाबी गरेको बीबीसीले जनाएको छ । ट्रम्पले उहाँहरुलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको बताउनुभएको छ । भेनेजुएला सरकारले यसको पुष्टि गरेको छैन् । अमेरिकाले मडुरोलाई पक्राउ गर्न सहयोग गर्नेलाई ५ करोड डलर दिने घोषणा गरेको थियो ।
आक्रमणलगत्तै भेनेजुएला सरकारले अमेरिकी सैन्य हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेको छ । यसअघि ट्रम्पले भेनेजुएलाले लागूऔषध तस्करीलाई सघाएको आरोप लगाउँदै आक्रमण गर्ने चेतावनी दिँदै आउनुभएको थियो । सोही आरोपमा अमेरिकाले क्यारेबियन तथा प्रशान्त क्षेत्रमा भेनेजुएलाका डुंगामाथि आक्रमण गर्दै आएको छ । सो क्रममा १ सय १० जना मारिइसकेका छन् ।