
काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी छोरीलाई किमको सम्भावित उत्तराधिकारीको रूपमा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले चित्रण गरेका छन् ।
नयाँ वर्ष २०२६ का विभिन्न कार्यक्रमहरूमा किमले आफ्नो १३ वर्षकी छोरी किम जु एलाई सहभागी गराएसँगै उत्तर कोरियाको सत्ता राजनीतिमा नयाँ सङ्केत दिएको व्याख्या गरिएको हो । नयाँ वर्षको दिन विभिन्न कार्यमक्रममा किमसँग उहाँकी छोरी देखिनु भयो ।
उहाँको सम्भावित उत्तराधिकारीको रूपमा स्थान बलियो बनाउने कदमका रूपमा विश्लेषकहरूले हेरेका छन् । दक्षिण कोरियाली गुप्तचर एजेन्सीले पनि किम जु एलाई किम जोङ उनको सम्भावित उत्तराधिकारीका रूपमा मूल्याङ्कन गरिएको जनाएको छ । यद्यपि उहाँको कम उमेर र उत्तर कोरियाको शक्ति संरचना अत्यन्त पुरूष-प्रधान रहेको तथ्यलाई आधार बनाएर केही अन्तर्राष्ट्रिय विज्ञहरूले उक्त मूल्याङ्कनप्रति असहमति जनाउँदै आएका छन् ।
नोभेम्बर २०२२ मा पहिलो पटक राज्य सञ्चारमाध्यममा देखा परेपछि किम जु ए आफ्ना बुबासँग सैन्य परेड, अन्तर महादेशीय मिसाइल प्रक्षेपण लगायतका महत्त्वपूर्ण कार्यक्रममा निरन्तर सहभागी हुँदै आउनुभएको छ । सेप्टेम्बरमा उहाँ आफ्ना बुबासँगै बेइजिङ भ्रमणमा जानुभएको थियो ।
यसै साता नयाँ वर्षको उत्सवका क्रममा उहाँले आफ्ना बुबाको गालामा चुम्बन गर्दै निकट पारिवारिक सम्बन्धसमेत सार्वजनिक रूपमा देखाउनुभएको छ । ४१ वर्षीय किम जोङ उन सन् १९४८ मा उत्तर कोरियाको स्थापना भए यता शासन गर्दै आएको किम परिवारको तेस्रो पुस्ता हुनुहुन्छ ।